साइप्रस न्युज

लाखौं खर्च गरी साइप्रस पुगेका नेपाली विद्यार्थीहरु समस्यामा

शेयर गर्नुहोस्

वसन्त रानाभाट

बार्सिलोना । धेरै कमाउने लक्ष्य बोकेर, विद्यार्थी भिसामा युरोपियन मुलुक साइप्रस आउने नेपाली विद्यार्थी अहिले समस्यामा परेका छन् । अध्ययनका लागि ८ देखि १० लाखसम्म खर्च गरी साइप्रस आएका विद्यार्थी समस्यामा परेका हुन् ।

एकातर्फ काम पाउन कठिन हुँदै जानु, अर्कोतर्फ कलेज फी बुझाउन र भिसा नवीकरण प्रक्रियामा घरबाट नै रकम मगाउनुपर्ने बाध्यताका कारण विद्यार्थीका समस्या बढ्दै गएका छन् ।

कन्सल्टेन्सीको आश्वासन र साइप्रस मोह

साइप्रस आएका विद्यार्थीको भनाइअनुसार अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकमा अध्ययनका लागि थुप्रैपटक कोसिस गर्ने तर विफल भएपछि यता आउने गरेको बुझिएको छ ।

सीधै साइप्रसलाई अध्ययनको गन्तव्य बनाएर आउने भन्दा अन्य देशमा पुग्ने लामो कसरत विफल भएपछि मात्र साइप्रसलाई रोजेको धेरैको अनुभव छ । देशमा बेरोजगार भएर बस्नुपर्दा एकपटक विदेश त पुगी हेरौँ भन्दै साइप्रस छिरेकाको पनि कमी छैन ।

साइप्रसप्रति मोह जाग्नुमा नेपालका कन्सल्टेन्सीको झुटो आश्वासन पनि रहेको छ । प्रत्येक महिना ८ देखि ९ सय युरोसम्म, कमाउन सकिने भन्दै झुटो प्रचारमा परेपछि अलिअलि भए पनि कमाई गरौँ भन्दै विद्यार्थी साइप्रसतिर आकषिर्त भएको पाइन्छ ।

कतिपय कन्सल्टेन्सीले त अब साइप्रस छिटै सेन्जेन देशमा पर्ने र युरोपका सबै ढोका खुल्ने भन्दै लालच देखाउने गरेको समेत पीडित विद्यार्थी बताउँछन् । अन्ततः मध्यम वर्गीय विद्यार्थी ८ देखि १० लाखको जोखिम मोल्दै, पढ्ने र कमाउने सपना बुन्दै ऋण नै काढेर साइप्रस छिरेको पाइन्छ ।

कामको सम्भावना ज्यादै न्यून

साइप्रसमा नेपाली विद्यार्थीलाई कामको अवसर कम हुँदै गएको छ । विद्यार्थीको हकमा प्रत्येक हप्ता २० घन्टा काम गर्न पाइने नियम भए पनि युरोपियन मुलुकका नागरिक साइप्रसमा पुगेर काम गर्न थाले पछि विद्यार्थीलाई अवसर कम भएको हो ।

सन् २००८ देखि साइप्रसमा बसी अध्ययन गर्दै आएका म्याग्दीका विरेन पुनले कामको अवसर ज्यादै न्यून हुँदै गएको बताउँछन् । भन्छन्, ‘आजभोलि रोमानियन बुलगेरियन, पोलिसहरू साइप्रसमा आएर काम गर्न थालेका छन्, उनीहरूलाई नै काममा प्राथमिकता छ, हामीसँग सीप पनि हुँदैन, त्यसमाथि यहाँ गि्रक भाषाको प्रयोग हुन्छ त्यसैले अवसर कम छन् ।’

पहिलेदेखि नै साइप्रस आएका केही नेपाली विद्यार्थीले भने होटल, रेस्टुरेन्ट तथा कृषिमा अवसर पाएका छन् ।

अध्ययनका लागि साइप्रस आएका विद्यार्थीले ६ महिनापछि मात्र काम गर्ने अधिकार पाउने गरेका छन् । पढाइलाई माध्यम बनाएर कमाउन भनी आएका विद्यार्थी ६ महिनासम्म कामको अनुमति समेत नपाउँदा झनै चिन्तित बनेको पाइन्छ ।

मुस्किलले काम नै पाएको खण्डमा पनि कमाइ भने ज्यादै न्यून रहेको छ । करिब पाँच सय युरोसम्म कमाई हुने साइप्रसस्थित विद्यार्थी बताउँछन् ।

नेपालबाट कलेज वा युनिभर्सिटीमा एक वा बढीमा दुई सेमेस्टरसम्म फी तिरेर आउने गरेका विद्यार्थी बाँकी अध्ययन पूरा गर्न पनि रकमको आवश्यक भएको हुँदा समस्यामा परेका हुन् । अन्ततः घरबाट नै रकम मगाएर पढ्नुपर्ने बाध्यता रहेको पीडित बताउँछन् ।

cyprus flag

भिसा नवीकरण गर्दा रकम मगाउनुपर्ने

अध्ययनका लागि साइप्रस आएका विद्यार्थीले हरेक वर्ष भिसा नवीकरण गर्न साइप्रसभन्दा बाहिरबाट रकम मगाउनुपर्ने बाध्यता रहेको छ ।

विगत ८ वर्षदेखि नै अध्ययन गर्दै आएका म्याग्दीका पुन भन्छन्, ‘आफ्नै पैसा बैंकमा भए पनि चल्दैन, एप्लाई गर्दा आठ सय युरोभन्दा माथिको रकम साइप्रसभन्दा बाहिरबाट विद्यार्थीको एकाउन्टमा हालेको देखाउनुपर्छ ।’ करिब २ वर्षदेखि लागू भएको यो नियमले परिवारलाई समेत चिन्तित बनाएको पुन बताउँछन् । ‘छोराछोरीले कमाएर पठाउलान् भन्दा उल्टै बाबुआमासँग पैसा माग्नुपरेको छ,’ उनले भने ।

प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने भिसा आवेदन दिनुअघि कलेज वा युनिभर्सिटीमा लाग्ने आफ्नो बाँकी रकम सबै बुझाउनुपर्ने हुँदा विद्यार्थीले नवीकरणका बेला मोटो रकम खर्च गर्दै आएका छन् ।

विद्यार्थी आउन थालेको कहिलेबाट ?

मुख्यतः सन् २००४ देखि ठूलो संख्यामा नेपाली विद्यार्थी साइप्रस आउन थालेको यहाँका नेपाली बताउँछन् । पहिले पनि आठ लाख रुपैयाँसम्म खर्च गर्दै अध्ययनका लागि विद्यार्थी साइप्रस आएका थिए । तर कलेज वा युनिभर्सिटीअनुसार फरक-फरक रकम लागेको उनीहरूको भनाइ छ ।

सन् २००४ मा युरोपियन युनियनमा साइप्रस छिरेदेखि नै नेपालका कन्सल्टेन्सीले अब सेन्जेन बन्छ भन्दै पहिलेदेखि नै प्रचार सुरु गरेको पुराना विद्यार्थी बताउँछन् । साइप्रसमा हाल नेपाली विद्यार्थीको संख्या सयौँमा सीमित रहेपछि पहिले भने २-३ हजारको हाराहारीमा रहेको पुराना विद्यार्थीको अनुमान छ ।

तर, त्यो संख्या सन् २०१२ मा ह्वातै घटेर सयौँमा झरेको बताइन्छ । कामको समस्या त कतिपयले आफ्नो अध्ययन पूरा गरेर नेपाल फर्केपछि साइप्रसमा नेपाली विद्यार्थी संख्या कम भएको थियो ।

८० प्रतिशत नेपाली विद्यार्थी राजधानी निकोसियाका कलेज तथा युनिभर्सिटीमा आएर अध्ययन गरेका थिए । निकासियामा रहेका साइप्रस कलेज, अमेरिकन कलेज, ग्लोबल कलेज, कासा कलेज, युनिभर्सिटी अफ निकोसिया, युरोपियन युनिभर्सिटी अफ साइप्रस र अन्य ठाउँ पनि केही नेपालीले अध्ययन गरे ।

फेरि अहिले आएर झुटो प्रलोभनमा परी लाखौँ रुपैयाँ खर्च गर्दै साइप्रस आउने, नयाँ विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

स्विडेन र पोल्यान्ड छिर्ने

साइप्रसमा अध्ययनका लागि आएका कतिपय विद्यार्थी पोल्यान्ड र स्विडेनमा भिजिट भिसा लगाई युरोपका अन्य देश पनि भित्रिएका छन् । आफूले अध्ययन गरेको कलेज वा युनिभर्सिटीमा भ्याकेसन हुँदा कलेजबाट लेटर झिकाएर केही दिनका लागि भिजिट भिसा लगाई पोल्यान्ड र स्विडेन हुँदै विद्यार्थी बाहिरिएको बताइन्छ । सबै आवेदकले भिसा नपाउने हुँदा, थोरैको संख्यामा मात्र नेपालीले यसरी साइप्रस छोडेका थिए ।

साइप्रसबाट बेलायतको पनि भिसा बढी लाग्ने गरेको पाइन्छ । तर, बेलायतमा अवैधानिक रुपमा बस्ने कुनै आधार नभेटेपछि पुनः साइप्रसमा नै र्फकने गरेको विद्यार्थी बताउँछन् । बेलायततिर आफन्त हुनेहरू मात्र प्रायः साइप्रसबाट घुम्न जाने गरेको भेटिन्छ ।

अवैधानिक काम गर्दा जरिवानादेखि डिपोर्टसम्म

साइप्रसमा अवैधानिक रूपमा काम गर्दा जरिवानादेखि डिपोर्टसम्मको सजाय रहेको छ । हप्तामा २० घन्टा मात्र कामको अनुमति पाएका विद्यार्थीले अवैधानिक रुपमा काम गर्ने गरेको नेपाली बताउँछन् । वैधानिक रुपमा कन्ट्रयाक गरेर काम दिँदा कर र इन्सुरेन्समा बढी खर्च देखिने हुँदा केही रोजगारदाताले जोखिम नै मोलेर अवैधानिक काम दिने गरेका छन् ।

अवैधानिक रुपमा काम गरेको अवस्थामा फेला परेमा पहिलोपटक ३४१ युरो, दोस्रोपटक ८५४ युरो वा डिपोर्टसम्म र तेस्रोपटक भने डिपोर्ट नै निश्चित भएका विद्यार्थी बताउँछन् । कामदारका लागि जरिवाना रकम थोरै भए पनि काम दिने रोजगारदाताले भने ५ देखि ८ हजार युरोसम्म जरिवाना तिर्नुपर्ने नियम छ ।

त्यसैले यसरी काम पाउन पनि ज्यादै मुस्किल देखिन्छ भने अर्कोतर्फ अवैधानिक रुपमा काम गर्दा गर्दै समातिएको खण्डमा भिसा नवीकरणमा समेत विद्यार्थीलाई अप्ठेरो हुने बताइन्छ ।

कमाउने सोचमा साइप्रस नआउनुहोस्

साइप्रसमा लामो समयदेखि बस्दै आएका विद्यार्थीले कमाउने सोच राख्दै अध्ययनका लागि साइप्रस नआउन अनुरोध गरेका छन् । अध्ययनको पछाडि काम पनि जोडिने हुँदा, दिन प्रतिदिन कठिनाई हुँदै गएपछि यस्तो अनुरोध गरेका हुन् ।

राजधानी निकोसियामा होटल म्यानेजमेन्टमा अध्ययन गरिरहेका एक विद्यार्थीले भने, ‘आठ-दश लाख खर्च गरेर विदेश आएपछि घरका लागि केही गर्छु भन्ने सबैलाई हुन्छ, फेरि त्यो अवस्था नै नभएपछि, नआउन नै अनुरोध गर्छु ।’

साइप्रस अध्ययनका लागि नराम्रो होइन । तर, हामीजस्ता किसानका छोराछोरीलाई ऋण गरेर पढ्न मुस्किल छ । ऋण गरेर यता आएर मात्र भएन, फेरि घरबाट नै पैसा मगाउनुपर्ने भएपछि किन आउने ?’ उनले थपे ।

Read also this : साइप्रस मा पीडा झेल्दैछन् नेपाली विद्यार्थी

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *