कोरोना भाइरस: विश्वव्यापी कार्बन उत्सर्जन ह्वात्तै घट्ने

शेयर गर्नुहोस्

कोरोनाभाइरस सङ्क्रमणको महामारीसँग जुझ्न विभिन्न देशमा लागु गरिएका लकडाउनका कारण विश्वव्यापी कार्बन उत्सर्जन कीर्तिमानी स्तरको ८ प्रतिशतले घट्ने अन्तर्राष्ट्रिय ऊर्जा निकाय आइइएले जनाएको छ।

उक्त निकायका अनुसार योभन्दा पहिले सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीका बेला पनि ठूलो परिमाणमा उत्सर्जन घटेको थियो।

तर अहिलेको घट्ने परिमाण त्योबेलाको भन्दा ६ गुना धेरै हुने उसले जनाएको छ।

प्रदूषण कम

आइइएका अनुसार यसपाली एकदशक यताकै सबभन्दा कम परिमाणमा कार्बन उत्सर्जन हुनेछ।

यात्रा तथा व्यापारमा लागेका बन्देजका कारण प्रदूषण घटेको छ।

तर उक्त निकायले यसमा राम्रो मान्नुपर्ने अवस्था भने नरहेको बताएको छ।

वैज्ञानिकहरूले कार्बन डाइअक्साइडको उत्सर्जनमा तत्काल कटौतीको वकालत गर्दै आएका थिए।

तर त्यसको लागि अर्थतन्त्रनै ठप्प पार्नुपर्ने विषयमा उनीहरूले वकालत गरेका थिएनन्।

यसपाली विश्वव्यापी बिजुलीको माग पनि पाँच प्रतिशतले घट्नेछ – जुन सन् १९३० को विशाल मन्दीको बेला यताको धेरै गिरावट हो।

अचेल साताका अन्य दिनमा भइरहेको बिजुलीको खपत विगतमा सामान्यतया सप्ताहान्तको दिनमा हुने जत्तिकै पुगेको बताइएको छ।

ऊर्जा कम्पनीहरूले धेरै क्षति बेहोरिरहेका छन् तर तीमध्ये नवीकरणीय ऊर्जा कम्पनीहरूले भने केही राम्रो प्रदर्शन गरिरहेका छन्।

कम कार्बन उत्सर्जन गर्ने त्यस्ता ऊर्जाका स्रोतहरूबाट सन् २०२० मा विश्व बिजुली बजारको ४० प्रतिशतसम्म माग पूर्ति हुने देखिएको आइइएले बताएको छ।

बीबीसीका वातावरण विश्लेषक रोजर ह्याराबीन भन्छन् यो समयमा विश्व नेताहरूका निम्ति आर्थिक राहतका प्याकेजहरूलाई हरित वा स्वच्छ उद्योग प्रवर्धन गर्ने माध्यमको रूपमा प्रयोग गर्नु महत्त्वपूर्ण हुनेछ।

स्रोत :-बिबिसी नेपाली सेवा

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *