कोरोनाप्रवास

नेपालमा अब लकडाउन खुकुलो पार्दै लैजानु पर्छ :- डा. कुर्मी

शेयर गर्नुहोस्

लन्डन, मे २२ (जीएनएन) एकजना महामारी रोग विशेषज्ञले नेपालमा झन्डै २ महिनादेखि जारी लकडाउनलाई खुकुलो पार्दै लैजानु पर्ने सुझाव दिएका छन्। ह्यामिल्टन, क्यानाडास्थित म्याकमास्टर विश्वविद्यालयमा रेस्पिरेटरी एपिडेमिओलजीका सहायक प्राध्यापक डा. ओम कुर्मीले आर्थिक गतिविधि ठप्प पार्दा जनजीवनलाई ठूलो कस्ट पुग्ने र अर्थतन्त्रमा क्षति पुग्ने भएकाले सरकारले कृषि लगायतका क्षेत्र खुला गर्दै लैजानु पर्ने बताए ।

ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै डा. कुर्मीले भने, “भारत तथा नेपालका झन्डै दुइतिहाई जनसंख्या खेतिपातीमा निर्भर छन्। अहिले धान खेतीको तयारी गर्ने र खेतीपातीमा लाग्ने समय हो।

त्यसैले भौतिक दूरी कायम गरेर, भीडभाड नगर्ने गरी व्यक्तिगत सरसफाइमा ध्यान दिंदै खेतीपाती लगायत निश्चित आर्थिक गतिविधिलाई खुल्ला गर्दै जानु पर्छ। एक प्रश्नको जवाफमा डा. कुर्मीले भारतले लकडाउनको समयमा प्रति दिन ४५०,००० पीपीइ सुट उत्पादन गर्ने गरी ६०० ओटा अनुमतिप्राप्त प्रयोगशाला हरु स्थापना गरेको तर नेपालमा अझै पर्याप्त पीपीइ पुग्न नसकेको र पर्याप्त परिक्षण हुन नसकेको जनाए ।

नेपालमा प्रान्तीय तथा स्थानीय सरकार मानव स्वास्थ्यमा कोभिड १९ को असरका बारेमा चिन्तित रहेको आफुले पाएको तर श्रोतको अभाव बेहोरिरहेको बताए। “नेपालमा दक्ष जनशक्तिको कमी छैन तर वास्तविक डेटा शेयरिंग गर्ने एउटा एकीकृत प्रणालीको अभाव देखिन्छ । यी चुनौतीहरुलाई सम्बोधन गर्दै अघि बढ्न सके भने प्रान्तीय तथा स्थानीय सरकारले यो र भविष्यमा आउने अरु महामारीहरुसंग पनि जुध्न सक्ने क्षमता विकास गर्न सक्छन्,” उनले भने।

अक्सफोर्ड विश्वविद्यालयमा वरिष्ठ वैज्ञानिकको रुपमा पनि काम गरिसकेका डा कुर्मीले कुनै मानिसमा कोरोनाको संक्रमण भएमा सामान्यतया १४ दिन भित्र त्यसको लक्षणहरु देखिइ सक्ने भएकाले क्वारेन्टाइनमा राख्न आवश्यक भएको बताए। तर त्यसरी राखिंदा व्यक्तिगत सरसफाइ, शौचालय, अरु मानिसहरुसंग कम्तीमा २ मिटर भौतिक दूरी कायम गर्नु पर्ने तथा मास्क लगाउने जस्ता नियमहरु पालना गर्नु पर्ने उनले बताए ।

त्यस्तै क्वारेन्टाइनमा राखिएका मानिसहरुलाइ नियमित र स्वस्थकर खानाको प्रबन्ध मिलाउन पनि उनले आग्रह गरे । “कोभिड १९ को लक्षण देखिएका वा परिक्षण पछि संक्रमित भएको पुष्टि भएमा एकान्तवासमा बस्नु पर्ने हुन्छ । तर यस्तो बेला पनि स्वास्थ्यकर्मीको निगरानी आवश्यक हुन्छ,” उनले भने ।

बाहिर जांदा अनुहार छोप्ने मास्क लगाउंदा कोरोना संक्रमण रोक्न मदत पुग्ने भएकाले यो राम्रो बानी भएको डा कुर्मीको ठहर छ। तर मास्क लगाउने र निकाल्ने बेला ख्याल गर्नु पर्ने र स्वास्थ्यकर्मीहरुलाइ चाहिने मेडिकल मास्क सकभर प्रयोग नगर्न पनि उनले सुझाव दिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *