प्रवास

पोर्चुगलमा १० हजार बढी परिवारलाई निःशुल्क खाना खुवाए ‘नेपाली सेफ’ ले

शेयर गर्नुहोस्

लिस्बन ( जीएनएन) कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण अधिकांश मानिसहरु घर भित्रै लकडाउनमा बसी रहेका बेला पोर्चुगलका एक नेपाली व्यवसायी टंक सापकोटाले भने राजधानी लिस्बनका करिब १० हजार ५०० जना न्यून आय भएका परिवारका सदस्यहरुलाई निःशुल्क खाना खुवाएका छन् ।

वडा कार्यालयसँगको समन्वयमा हरेक दिन लिस्बनका भिन्न भिन्न वडामा पुगेर खाना तयार पार्ने र पिज्जा बनाउन प्रयोग गरिने सामग्री तथा अँगेनो (फोर्ने) लाई हरेक दिन गाडीमा राखेर वडाले तोकिदिएको स्थानमा लगेर राख्ने गरिएको अभियानका संचालक टंक सापकोटाले बताए। यो अभियानकै लागि भनेर सापकोटाले करिब ३५ लाख नेपाली रुपैयाँ बराबरको पिज्जा बनाउने घुम्ती अँगेनो (फोर्नो) किनेर प्रयोगमा ल्याएका छन् ।

‘नेपाली सेफ’ भनेर चिनिने सापकोटाले सञ्चालन गरेको ‘फोर्ने दिओरो’ रेस्टुरेन्टले बनाउने पिज्जा विश्वकै उत्कृष्ट पिज्जाको सूचीमा सूचीकृत समेत भै सकेको छ । यो अभियानलाई सफल पार्न सापकोटाकी श्रीमती सिता सापकोटासँगै परिवारका अन्य सदस्य तथा पोर्चुगलकै अर्का नेपाली व्यवसायी लक्ष्मीप्रसाद सापकोटा लगायत १५ जनाको टोली अहोरात्र खटेको थियो ।

पछिल्लो समयमा पोर्चुगलमा देखिएका संक्रमितमध्ये अधिकांश राजधानी लिस्बनकै भएपनि यस्तो जोखिमपूर्ण अवस्थामा अभियान चलाएर समाजका लागि केही योगदान गर्नसकिन्छ भन्ने उदाहरण पनि उनले देखाएका छन् । लिस्बन नगरपालिका भित्रका विभिन्न वडामा ‘घुम्ती पिज्जा रेस्टुरेन्ट’ सञ्चालन गरेका सापकोटाको सो अभियानले पोर्चुगलका सञ्चारमाध्यमको समेत ध्यान खिचको छ ।

सापकोटाले भने, “कोरोना संक्रमणका बेलासम्बन्धित वडाले तयार पारेका न्यून आय भएका मजदुरहरुको सूचीलाई नै आधार बनाएर हामीले उनीहरुलाई बेलुकाको खाना अर्थात् पिज्जा र जुस वितरण गर्यौं । लिस्बनमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिइरहेका बेला आवश्यक सबै सुरक्षा सावधानी अपनाएर हामीले अभियान सञ्चालन गरेका हौँ ।“ अभियानको प्रशंसा अभियानको संयोजन गरिरहेको लिस्बन नगरपालिकाले सापकोटाको यो अभियानको प्रशंसा गरेको छ ।

नगरपालिका अन्तर्गतको सामाजिक उत्तरदायित्व विभाग हेर्ने लिस्बनका उपमेयर कार्लोस कास्ट्रोलगायतको टोलीपनि हरेक दिन पिज्जा बनाइएको स्थानमा पुगेर सापकोटा नेतृत्वको टोलीले गरिरहेको कामलाई अनुगमन गरेका थिए।

ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै उपमेयर कार्लोसले भने, ‘बहुसांस्कृतिक र बहुभाषिक मानिसहरुको बसोबास रहेका लिस्बनभित्र यो कठिन अवस्थामा एकजना नेपाली व्यवसायीले शुरु गरेको सामाजिक अभियानबाट सिँगो नगरपालिका हर्षित छ । हामीले नगरपालिकाकोतर्फबाट नागरिकहरूका लागि आवश्यक प्रबन्ध त मिलाएकै छौं तर, एउटा व्यक्तिले मात्रै चाह्यो भने पनिसमाजका लागि धेरै गर्न सक्दछ भन्ने यो एउटा अद्भूत उदाहरण हो ।

’ उपमेयर कार्लोसले नेपाली समुदाय पोर्चुगलमा घुलमिल गरेर बसेको र उनीहरुलाई आफुहरुले कहिल्यै पनि विदेशीको रुपमा नहेरेको बताए। “नेपालीहरु आफ्नो भाषा, संस्कृतिमा गर्व गर्छन्, तर पोर्चुगिजहरुसंग पनि घुलमिल गर्छन्, सकेको मदत गर्छन्। हामी यसको मुक्तकण्ठले प्रशंसा गर्छौं,” उनले भने। समाजसेवाको अभियान साढे २ दशकदेखि राजधानी लिस्बनलाई कर्मथलो बनाएर रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका सापकोटाले ‘हामी एक्लैले संसारै बदल्न त सक्दैनौं, तर संसार बदल्न सहयोग गर्न सक्छौं’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नका लागि समाजसेवाको यो अभियान अघि बढाएको बताए ।

१० हजार भन्दा बढी नागरिकलाई रेस्टुरेन्टमै पाइने गुणस्तर र स्वादको पिज्जा खुवाउँदा कति खर्च भयो भन्ने जिज्ञासामा सापकोटाले भने, –‘खर्चको हिसावले यो निक्कै खर्चिलो र अहिलेको अवस्थामा जोखिमपूर्ण कामहो, तर यहाँ खर्चभन्दा पनि समाजप्रतिको उत्तरदायित्व महत्वपूर्ण विषय हो । त्यहि काम मैले गरेको हुँ ।’ गत जुन १६ तारिखबाट शुरुभएको यो अभियान जुलाई १६ तारिखका सम्पन्न भएको छ ।

पोर्चुगलमा ४ वटा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका (फोर्नो दोरो, कोमे प्रिमा, काजा नेपालेसा, इल मेर्कातो) व्यवसायी सापकोटाले विगतमा पनि आफ्ना रेस्टुरेन्टहरुका माध्यमबाट नेपाललगायतविभिन्न देशहरुका नागरिकहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आइसकेका छन् । बाग्लुङ्ग जिल्ला अन्तर्गत साबिकको दमेक गाउँविकास समितिमा जन्मिएका व्यवसायी सापकोटाले नेपालका पनि एकदर्जन बढी स्थानमा आफू र आफ्ना वयोवृद्ध पिताको माध्यमबाट समाजसेवामा वर्षेनी लाखौं रकम खर्च गर्दै आइरहेका छन्

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *