देश विदेश

छोरा जोगिए, घरसँगै पुरिए आमाबाबु

शेयर गर्नुहोस्

दार्चुला — दुहुँ गाउँपालिका–३ सल्लेखेतीका २२ वर्षीय सुनील जोशी काठमाडौंमा बसेर जापान जाने तयारी कक्षा लिइरहेका थिए। लकडाउनले कक्षा रोकिएपछि उनीसँगै बसेर पढिरहेकी बहिनीसहित घर फर्किए। मंगलबार बिहान घरमाथिको दार्चुला–टिंकर सडक किनारबाट खसेको पहिरोले घर पुरिँदा जापान जाने योजनासँगै सुनीलले आमाबुबालाई नै गुमाए। भागेर जोगिएका उनी अहिलेसम्म एकोहोरिइरहेका छन्।
मंगलबार बिहान पौने ५ बजेतिर पहिरोमा पुरिएर ५० वर्षीय रामदत्त भनिने रतनराज जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। ‘घरमाथि पहिरो आएको थाहा पाएर बुबाले मलाई भाग्नु भनेको सम्म याद छ । हतपतमा भाग्दा मैले मोबाइलसम्म समात्न पाएको थिएँ,’ सुनीलले भने, ‘बाहिर निस्केर पछाडि हेर्दा घर पुरिएको देखें। आमाबुबा पछाडि आएको नदेखेपछि फर्केर हेर्दा केही देखिएन।’ पहिरो घरमाथि खसेपछि गोठमा छिरेर बाहिर भागेको उनको भनाइ छ।
‘आमाबुबालाई भाग्नुसम्म भन्न पाइएन। कोठाबाट बाहिर आउने ढोका बन्द थियो। ढोकातिरको भाग पहिले नै पुरिएको जस्तो लागेको छ,’ सुनीलले भने। उनको पिठ्युँ र खुट्टामा चोट लागेको छ। बहिनी भने राति ठूलोबुबाको घरमा सुत्न गएकाले सकुशल छिन्। दुहुँ–३ का वडाध्यक्ष लालबहादुर बमका अनुसार घरभित्रै वा भाग्ने बेलामा चोट लाग्यो भनेर सुनीलले स्मरण गर्न सकिरहेका छैनन्। बुबा रतनराजले छोरालाई जापान उडाउन गाउँमा ऋणपैंचो गरेर रकम जम्मा पारेका थिए। त्यही पैसा झिक्न खोज्दा ढिलो भएर पुरिएको स्थानीयले अनुमान गरिरहेका छन्।

सोमबार दिउँसोदेखिको वर्षाको भेलले दार्चुला–टिंकर सडकको ग्याबिन जाली भरेको सडक किनारको भाग बगाएपछि झरेको पहिरोले घर पुरिएको स्थानीय वीरेन्द्र जोशीले बताए। सडकको घुम्तीको पूरै भाग बगेको छ । जस्तापाताले छाएको घरमा जोशी दम्पती पुरिएपछि स्थानीयवासी, सेना, सशस्त्र र प्रहरीले खोजी गरे । मंगलबार दिउँसो साढे २ बजे उनीहरूको शव भेटियो । ‘पूरै घर पुरिएका कारण शव निकाल्न समय लाग्यो,’ उद्धारमा खटिएका प्रहरी निरीक्षक भाष्कर चन्दले भने।
रामदत्तको शव भैंसीसँगै र भैंसीले च्यापिएको अवस्थामा इन्द्राको शव फेला परेको थियो। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ। पहिरोमा एउटा भैंसी र ४ बाख्रासहित घरगोठका सबै सामान पुरिएका छन्।

जिल्लामा असार १५ यता बाढीपहिरोमा परी ९ जनाको मृत्यु भएको छ। दुहुँ गाउँपालिकामा २, मालिकार्जुन गाउँपालिकामा २ र नौगाड गाउँपालिकामा ५ जनाले ज्यान गुमाएका हुन्। नौगाड, अपी हिमाल, मालिकार्जुन, लेकम, व्यास गाउँपालिका तथा महाकाली नगरपालिकामा ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको छ। जिल्लाभर एक दर्जनभन्दा बढी ग्रामीण सडक बन्द छन्।

read also : शरणार्थी बारे साइप्रसको नयाँ नीति प्रस्ताव

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *