देश विदेश

नेपाल अपडेट : पढ्नैपर्ने प्रमुख पाँच खबर

शेयर गर्नुहोस्

काठमाडौं । कोरोना कहरकाबीच भारत द्धीपक्षीय मुद्दाका विषयमा सम्वाद गर्न तयार देखिएको छ । कोरोना उपचारका लागि अपूग हुने पूर्वाधार व्यवस्थापनका लागि नीजी मेडिकल कलेजमा उपचार गराउने तयारी सहित सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर सुरक्षित रहन भनेको छ । अनियतितताको छानविनले समेत कोरोना महामारीकै समयमा निरन्तरता पाउँदै आएका छ । यस्ता छन् नेपालका पछिल्ला प्रमुख पाँच खबर ।

ओली मोदी वार्ता
लामो तिक्तता र संवादहिनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको हो । सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन भने परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकको प्रस्ताव समेत भारतले अस्विकार गर्दै आएको थियो । फोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता दिवसको अवसरमा बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना दिएको बताइएको छ । २०२० अप्रिल १० मा भएको सम्वादको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले मोदीको छिमेक प्राथमिकता नीतिको प्रशंसासहित सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले समेत प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको शुभकामना दिनुका साथै सुरक्षा परिषदको अस्थायी सदस्यमा निर्वाचित भएकोमा भरतलाई बधाइ दिएको जनाएको छ । ओली र मोदीबीच कोभिड–१९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको बताइएको छ । दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको समेत परराष्ट्र मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले समेत प्रेस विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको शुभकामना दिनुका साथै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको अस्थायी सदस्यमा निर्वाचित भएकोमा भरतलाई बधाइ दिएको, कोरोना रोकथामका विषयमा भएको सम्वादमा भारतले नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएको बताइएको छ ।

मेडिकल कलेजलाई कोरोना उपचार थाल्न निर्देशन
सरकारले देशभरका मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड–१९ का विरामीहरुको उपचार थाल्न निर्देशन दिएको छ । केरोना संक्रमण बढेर संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष तत्काल छुट्याएर कोरोनाको उपचार सेवा सुरु गर्न निर्देशन दिएको हो । यसअघि समेत मन्त्रालयले देशभरका निजी तथा सामुदायिक अस्पतालहरुलाई २० प्रतिशत वेड कोरोना संक्रमितको लागि छुट्याउन निर्देशन दिएको थियो । संक्रमितलाई मन्त्रालयको निर्देशन विना हब अस्पतालमा रिफर नगर्न समेत भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितसँगको सम्पर्कमा आएका, जोखिम क्षेत्रमा पुगेर फर्किएकाहरुलाई पाँच दिन क्वारेन्टिनमा बसेर मात्रै पीसीआर टेस्ट गर्न अनुरोध गरेको छ ।

अनियमितताको अनुसन्धान
प्रदेश ५ को सार्वजनिक लेखा समितिले प्रदेशसभाको गाडी मर्मत र कृषि अनुदानमा अनियमितता भएको आशंका सहित छानबिन समिति गठन गरेको छ । गाडी मर्मतबारे छानबिन गर्न वैजनाथ जैसवाल कलवारको संयोजकत्वमा र कृषि अनुदानको खर्च छानबिन गर्न बसिउद्धिन खाँको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएका हुन् । प्रदेशसभाका ३२ वटा सवारीसाधन मर्मतमा २३ महिनामा ६३ लाख रुपैयाँ खर्च भएपछि अनियमितताको आशंका गरिएको थियो । एउटा चारपाङ्ग्रे गाडी मर्मतमा करिब साढे सात लाख रुपैयाँ खर्च देखाईएको छ । लेखा समिति सभापति डिल्ली चौधरी अनियमितता आशंकामा छानबिन थालिएको बताउनुभयो ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान अन्तर्गत कोल्ड स्टोर खरिदमा दिएको अनुदानमा अनियमितता भएको आशंका गरिएको छ । एक लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने मर्मत गर्दा कम्तीमा तीन वटा कम्पनीबाट कोटेशन आह्वान गरेर कम्पनी छनोट गर्नुपर्ने कानुनी व्यवस्था भएपनि दुई वर्ष पनि नपुगेका नयाँ गाडी मर्मतमा अत्यधिक खर्च र कृषि अनुदान कार्यक्रमका लागि छुट्टाइएको ४० करोड रुपैयाँभन्दा बढी रकम र कोरोना कोषबाट भएको खर्च विवरणमा समेत अनियमितताको आशंका सहित छानविन थालिएको छ । प्रदेशसभा सचिवालयले आर्थिक वर्ष २०७५र७६ मा ८ करोड ६१ लाख रुपैयाँमा १३ वटा गाडी, चारवटा मोटरसाइकल र तीनवटा स्कुटर किन्दा बजार मूल्यभन्दा बढीमा खरिद गरेको ठहरसहित बढी तिरिएको ३७ लाख रुपैयाँ मूल्य फिर्ता गराउन लेखा समितिले निर्देशन दिएको थियो । लुम्बिनी भ्रमण वर्षको खर्च, गत वर्षको प्रदेश एक्स्पोको नाममा थुप्रै फर्जी बिल पेश गरेर लाखौं रुपैयाँ अनियमितता गरेको भन्ने उजुरीमाथी समेत छानविन थालिएको छ ।

पेशाकर्मीमा कोरोना
नेपालमा कोरोना संक्रमण र मृत्युदर पछिल्लो समय ह्वातै बढेको छ । यतिखेर नेपालमा उच्चपदस्थ कर्मचारीदेखि तल्लो तहका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबै क्षेत्रका व्यक्तिमा कोरोना पुष्टि भएको छ । सडकमा वा समाजको सुरक्षामा दिनरात नभनी खटिएका सुरक्षाकर्मीको स्वास्थ्यमा सरकारले ध्यान दिएको पाइँदैन । सडकमा वा सवारी भ्यानमा सवार कुनै पनि सुरक्षाकर्मीले स्वास्थ्य मापदण्डको पालना गरेको देखिदैन । सुरक्षाकर्मी आफैं संक्रमित भएर आफ्नो दैनिक ड्युटी गर्न बाध्य रहँदा स्वास्थ्यकर्मीमा समेत जोखिम बढेको छ । यो समाचार तयार पार्दासम्म नेपाल प्रहरीमा ५ सय ५१, नेपाली सेनामा २ सय ३३ र सशस्त्र प्रहरीमा २ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । ड्युटीमा रहँदामात्रै नभएर हिडडुलमा समेत सामाजिक दूरी सहितको स्वास्थ्य मापदण्ड कार्यान्वयन नहुँदा जोखिम बढेको छ । देशभर विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि हुने क्रम जारी रहँदा संक्रमित स्वास्थ्यकर्मीको संख्या २ सय ३८ पुगेको छ । अझ स्थानीयमा समेत कोरोनाको संक्रमण विस्तार हुँदा जोखिम दिनप्रतिदिन बढिरहेको छ । अख्तियार, मालपोत, यातायात, स्वास्थ्य लगायतका विभिन्न कार्यालय तथा बैंकका कर्मचारीमा समेत कोरोनाको संक्रमण पहिचान हुँदा कोरोनाको जोखिमले थप विस्तार पाएको आँकलन गरिदैछ ।

कोरोना उपचार
संक्रमितको संख्या २६ हजार १९ पुगेको नेपालमा ८ हजार १ सय ९३ देशका विभिन्न कोभिड अस्पतालमा उपचाररत छन् । देशभरका विभिन्न अस्पतालका आइसीयूमा ९८ जना र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत छन्, अर्थात लक्ष्यण सहितका गम्भिर विरामीको संख्या १०२ रहेको छ । देशभर कोरोना उपचारका लागि आइसीयू बेड संख्या ९ सय ४२ र भेन्टिलेटर ४ सय ९६ रहेको छ । पछिल्लो २४ घण्टामा १ सय २४ डिस्चार्ज भएसँगै १७ हजार २ सय १ ले कोरोना जितेका छन् । कोरोना संक्रमणबाट १ सय २ जनाले ज्यान गुमाएका छन् ।

Source link

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *