देश विदेश

विदेशबाट कुन प्रदेशमा कति फर्किए नेपाली ?

शेयर गर्नुहोस्

कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सबैभन्दा बढी वाग्मती प्रदेशका नागरिक स्वदेश फर्केका छन् । यही साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१ हजार ४४१ मध्ये १४ हजार २५७ वाग्मती प्रदेशका रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ ।
त्यसैगरी प्रदेश नं १ का १० हजार ८८३, प्रदेश नं ५ का आठ हजार ५९८, प्रदेश नं २ का आठ हजार ५०६, गण्डकी प्रदेशका छ हजार ७०१, सुदूरपश्चिम प्रदेशका एक हजार ३१९ र कर्णाली प्रदेशका एक हजार १७७ जना स्वदेश फर्केका हुन् । सो अवधिमा विभिन्न ३० मुलुकबाट नेपाली स्वदेश फर्किएको तथ्याङ्क छ । संयुक्त अरब इमिरेट्स (युएई)बाट हालसम्म सबैभन्दा बढी १४ हजार ३१४ नागरिक स्वदेश फिरेका छन् । त्यस्तै साउदी अरेबियाबाट सात हजार ८१७, मलेशियाबाट सात हजार ६४२, कुवेतबाट छ हजार ३२९, कतारबाट छ हजार १९१, बहराइनबाट ९८०, दक्षिण कोरियाबाट ९६७, अष्ट्रेलियाबाट ९४३, ओमानबाट ८११ र माल्दिभ्सबाट ७०९ जना स्वदेश फर्केका सिसिएमसीले जनाएको छ । यो तथ्यांक कोभिड–१९ महामारीपछि भारतबाहेक तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएकाको हो । कोरोना भाइरसका कारण भारतबाट फर्कनेको तथ्यांक यकिन छैन . सरकारले गत जेठ २३ गतेदेखि चार्टर्ड उडानमार्फत विदेशमा अलपत्र परेका नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी स्वदेश फर्कन दिने निर्णय गरेको थियो । साउनमा तीन हजारले लिए श्रम स्वीकृति साउन महिनायता झण्डै तीन हजारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् । यही साउन १ गतेदेखि बिहीबारसम्म १५३ महिला र दुई हजार ७५८ पुरुषसहित दुई हजार ९११ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचालले जनाएको छ ।
सो अवधिमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) का लागि एक हजार ३१६ जनाले पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ । यस्तै कतार ७०२, मलेशिया ३०९, साउदी अरेबिया २४८, कुवेत ९९, जापान ५३ र बहराइनका लागि ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिएसँगै सरकारले गत चैतदेखि श्रम स्वीकृति दिन बन्द गरेको थियो । सरकारले गत असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो । रासस

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *