देश विदेश

नेपाल अपडेट : यस्ता छन्, प्रमुख पाँच खबर

शेयर गर्नुहोस्

काठमाडौं । कोरोना संक्रमणले शहर केन्द्रित जोखिम बढाएको नेपालका पछिल्ला पाँच खबर यस्ता छन् ।
काठमाडौं प्रवेशमा कडाई
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढेपछि बाहिरबाट हुने आवतजावतमा विशेष कडाइ गरिएको छ । उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगाको भीडभाड आइतबारबाट एकाएक घटेको छ । विदेश जान आउने, सरकारी कर्मचारी तथा विभिन्न सरकारी कार्यालयका ‘ड्युटीवाला’गाडीहरु समेत लाइनमा बसेर आवश्यक जाँच सकेर काठमाडौं भित्रिएका थिए । महानगरीय प्रहरी वृत थानकोटका इन्स्पेक्टर गायत्रीराज शर्माले विरामी लिएर आउने, विदेश जान आउने र अत्यावश्यक काम भएकालाई मात्र प्रवेश अनुमति दिएर अरुलाई फर्काउने गरेको बताए । दक्षिणकाली, चोभार, लगायतका नाका र भक्तपुर क्षेत्रको जगाती नाकामा समेत आवतजावतमा कडाई गरिएको छ ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । आइतबार साँझसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घन्टामा १३४ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १७ हजार ३२५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुमा ३८ र भक्तपुरमा ८ जना गरी काठमाडौं उपत्यकामा मात्रै १७२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मोरङमा १०० जना,बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११/११ जना, बाँकेका १० जना, नवलपरासी र महोत्तरीका ८/८ जना, कञ्चनपुर र तनहुँका ५/५ जना, दाङका ४,कैलाली बर्दिया र सिराहाका ३/३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २/२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका एकएक जना संक्रमित भएका छन् ।

तीन सैनिक अधिकारी कारवाहीमा
सैनिक अदालतबाट दोषी ठहरिएका नेपाली सेनाका तीन जना अधिकारीलाई सैनिक सेवाबाट बर्खास्त गरिएको छ । सम्पत्ति, अनुशासन र आचरणसम्बन्धी कसुरमा नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई समरी जनरल सैनिक अदालतले बर्खास्तको फैसला सुनाए अनुसार नै बर्खास्त गरिएको हो । उनीहरुमाथी पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोग लागेको छ । सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएपछि उनीहरुलाई कारबाहीसहित सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । समरी जनरल सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी, लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाइ दिने फैसला गरेको थियो ।

लगानी बोर्डका नवनियुक्त सीईओलाई अदालतको साथ

उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्न सुशील भट्टलाई बाटो खोलिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश इश्वरराज आचार्य र ठाकुर प्रसाद शर्मा पौडेलको संयुक्त इजलाशले भट्टविरुद्ध अन्तरिम आदेश जारी नहुने आदेश गरेसँगै काम गर्ने बाटो खुलेको हो । यसअघि साउन २७ गते नहकुल सुवेदीको इजलाशले साउन ३२ गतेसम्म कार्यकारीका रुपमा काम नगर्न भन्दै छलफलमा झिकाएको थियो । साउन १९ गते भट्ट लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएका थिए । भट्टको योग्यता नपुग्ने र व्यक्तिगत स्वार्थ भएकोले बोर्डको सञ्चालक समितिको बैठकमा उनको उपस्थितले स्वार्थ बाझिने भन्दै नियुक्तिलाई तत्काल बदर गर्न माग गर्दै साउन २५ गते अधिवक्ता जयबहादूर भुजेलले रिट दायर गरेका थिए ।

बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो । अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाइएको बताइएको छ । नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ । निगमले मूल्य वृद्धि स्वचालित मूल्य समायोजन कार्याविधि अनुसार भएको जनाएको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *