देश विदेश

नेपाल अपडेट : प्रमुख पाँच खबर यस्ता

शेयर गर्नुहोस्

काठमाडौं । कोरोना संक्रमण थपिदै गरेको नेपालमा उद्धार उडानले निरन्तरता पाउँदै आएको छ । माक्सको प्रयोग र कोरोना रोकथामको यथार्थ, बैकको एटीएम शुल्क बारेको नयाँ नियम लगायतका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना अपडेट
एकैदिन उच्च रेकर्ड बनाउँदै १ हजार २ सय २१ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका हुन् । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ पुग्दा संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ र होम आइसोलेसनमा ६ हजार ९ सय जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा २ सय ६७ निको भएसँगै कोरोना जित्नेहरुको संख्या २० हजार ८ सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ४ महिला र १० पुरुषसहित थप १४ जनाको मृत्यु भएको छ । महोत्तरीका ३ जना, सुनसरी र रुपन्देहीका २–२, बारा, काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, रौतहट, र नवलपरासीका १–१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ जना पुगेको छ ।

मास्कले कसरी छेक्छ कोरोना ?
विगतमा धुलो धुँवाबाट बच्न लगाइने मास्क अहिले हरेकका लागि अनिवार्य जस्तै बनेको छ । पछिल्लो समय कोरोना भाइरस बिरूद्धको लडाईमा अनुहारको प्रतीक बनेको छ, मास्क । विश्व स्वास्थ्य संगठनसँगै हरेक देशका सरकारले कोरोनाबाट बँच्न मास्कको प्रयोग गर्न सुझाब दिइरहेका छन् । कोरोना भाइरसबाट जोगिन एन नाइन्टि फाइभ र मेडिकल मास्कहरूसँगै कपडाका माक्सहरु समेत प्रयोग भइरहेका छन् । जनस्वास्थ्य बैज्ञानिक डा. समिरमणि दीक्षित नाइन्टि फाइभ सबै भन्दा पहिचान योग्य र प्रभावकारी मास्क रहेको बताउँछन् । कम्तिमा ९५ प्रतिशत साना कणहरू रोक्ने भएकाले नै यसका नाम एन नाईन्टि फाइब राखिएको हो । मास्कहरुले ६० देखि ८० माइक्रोनसम्मका साना कणहरूलाई फिल्टर गर्ने भएकाले राम्रोसँग लगाउँदा कोरोना भाइरसको फैलावट रोक्ने जनस्वास्थ्य वैज्ञानिकहरु बताउँछन् । माक्सले कसैले खोक्दा र हाछ्ँयु गर्दा समेत जीवाणुहरु रोक्ने विश्वास गरिएको छ । तर जनस्वास्थ्यविद्हरु नाक पुरै छोप्नेगरि मिलाएर लगाइएको माक्सले मात्रै जोखिमबाट बचाउने बताउँछन् ।

थप तीन देशसँग हवाई सम्झौता हुने
नेपालले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने गरी प्रक्रिय अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई गति दिने निर्णय गरेको हो । यी मुलुकहरु नै नेपालसँग सम्झौताका लागि इच्छुक देखिएका थिए । सरकारले नेपालीहरुको स्वदेश फिर्ती अभियानमा सहजीकरण गर्न एक समिति समेत गठन गरेको छ । अहिले विदेशबाट र्फकने यात्रुले नियमित उडानका लागि टिकट नपाउने र पाए पनि महंगो टिकट काट्नुपरेको गुनासो बढेसँगै गुनासो व्यवस्थापनका लागि समिति गठन गरेको हो ।

थप ४८० स्वदेश फर्किए
पाँचौ चरणको उद्धार उडानका क्रममा आइतबार काठमाडौंमा कुल ८ उडान र अवतरण भएका छन् । यी उडानबाट ४८० जना यात्रु नेपाल आउँदा ४२ जना यात्रु नेपालबाट विदेशिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले मलेसियाबाट १५१ जना यात्रुलाई काठमाडौं ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५६ जना र मलेसियाबाटै मालिन्दो एयरले १७३ जनालाई काठमाडौं ल्याएका छन् । हिमालय एयरलाइन्सको जहाजले एक वटा शवसमेत ल्याएको छ । श्री एयरलाइन्सले आज ३२ जना यात्रुलाई थाइल्याण्ड उडाएको छ । यो जहाजले नेपाल आउँदा एउटा शव ल्याएर आएको थियो । भूटानको डु्रक एयरले १ बच्चासहित १० यात्रुलाई काठमाडौंबाट भुटान लगेको छ । आइतबार नै हिमालयको जहाजले कुनमिङबाट कार्गो उडान भर्दा हिमालय र नेपाल एयरलाइन्सको जहाज अबुधावी र दुबईका लागि उडेका छन् । यी जहाज सोमबार र्फकने छन् ।

एउटा बैंकको एटीएम अरुमा प्रयोग गर्दा थप शुल्क नलाग्ने
जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै अतिरिक्त शुल्क नलिन आग्रह गरेको थियो । अहिले राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सँधैका लागि शुल्क नलिन निर्देशन दिएको हो । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने घोषणा सहित सेवा दिएका थिए । लकडाउन खुलेपछि पुनः शुल्क लिन थालिएपनि राष्ट्र बैंकले कोरोना महामारीको बेलासम्म भन्दै निःशुल्क गर्न मौद्रिक नीतिमै व्यवस्था गरेको थियो । ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै यस्तो निर्देशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।



Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *