देश विदेश

नेपाल अपडेट : पढ्नैपर्ने प्रमुख पाँच खबर

शेयर गर्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चर्चासँगै प्राथमिकता पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

बाढीपहिरोबाट २६२ जनाको मृत्यु
यसवर्षको चार महिना (जेठदेखि भदौ १७ गतेसम्म) को मनसुनी वर्षाका क्रममा आएको बाढी पहिरोबाट २६२ जनाले ज्यान गुमाउनु परेको छ । बढीपहिरोले सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा हुँदा आर्थिक क्षति मोरङमा भएको छ । गृहमन्त्रालयको तथ्याङ्क अनुसार पहिरोमा परेर २४६ जनाले ज्यान गुमाएका छन् । १९० जना घाइते भएका छन् भने २० जना हराइरहेका छन् । कुल ३७५ परिवार पहिरोबाट प्रभावित भएको सरकारी रेकर्ड छ । बाढीका कारण १६ जनाले ज्यान गुमाउँदा ५ जना घाइते छन् । २० जना हराइरहेका छन् ।

कुल ६२४ परिवार बढिबाट प्रभावित भएको गृहको आँकडा छ । गत वर्षको यही अवधिमा पहिरोबाट ७९ जनाले ज्यान गुमाएका थिए भने ७७ जना घाइते भएका थिए । यसैगरि, दुई हजार नौ सय ९३ परिवार प्रभावित भएका थिए । बाढीबाट ७२ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । तीन हजार ५२ परिवार प्रभावित भएका थिए । यो वर्षको मनसुनमा पहिरोले झण्डै ४ करोडको भौतिक क्षति भएको सरकारी तथ्याङ्क छ । गृहमन्त्रालयका अनुसार पहिरोका कारण ३ करोड ६४ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको भौतिक क्षेति भएको हो ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो । कुल संक्रमित मध्ये २५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ९१७ जना डिस्चार्ज भएसँगै २४ हजार २०७ जनाले कोरोना जितेका छन् । काठमाडौं उपत्यकामा मात्र ४४५ जनामा संक्रमण पुष्टि भएको छ ।

भत्ता नपाएका सुरक्षाकर्मीले तलब समेत पाएनन्
नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारद्वारा घोषित भत्ता नपाएको चर्चा चलिरहँदा एक महिनादेखि तलब समेत रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री भइनसकेको कारण देखाउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको हो । सुरक्षाकर्मीले भदौ महिना सकिन लाग्दा अहिलेसम्म साउनको तलब नै पाएका छैनन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल र सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले तलब आउन ढिलाइ भएको स्वीकार गरे । नेपाल प्रहरीका एक उच्च अधिकृतले तलब आउने बेलामा मात्रै डाटा इन्ट्री गरेर तलब दिन गरिएको ढिलाइले सुरक्षाकर्मीको मनोबल गिराएको बताए । महालेखा नियन्त्रकको कार्यालयका अनुसार तलब वितरणलाई व्यस्थित गर्न एलएमबीआईएस (लाइन मिनिस्ट्री इन्फर्मेसन बजेट सिस्टम) कडाइका साथ लागू गरिएको छ । अर्कोतपर्ल सुरक्षाकर्मीको तलब काट्न हतार गरेको सरकारले आफैबाट घोषित प्रोत्साहन भत्ता दिन समेत आनाकानी गरिरहेको छ । चार महिनासम्म पनि भत्ता नआएको गुनासो सुरक्षाकर्मीको छ ।

मापदण्ड बनाएर खोलिएको टेक अवे सेवा
काठमाडौं उपत्यकामा होटल तथा रेष्टुरेन्टले खानेकुरा उत्पादन गरी टेक अवे तथा होम डेलिभरीमार्फत ग्राहकसमक्ष पु¥याउन पाउने भएका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञको समयमा अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्नेसम्बन्धी मादपण्ड निर्माण गरेर होम डेलिभरी र टेक अवे सेवा सञ्चालन गर्न अनुमति दिएका हुन् । अब रेष्टुरेन्टहरुले ग्राहकको अर्डर अनुसार घरमै खानेकुरा पु¥याइदिने गरी आफ्नो सेवा सञ्चालन गर्न पाउनेछन् । दिउँसो १ बजेदेखि बेलुकाको ७ बजेसम्म मात्रै होम डेलिभरी र टेक अवे सेवा सञ्चालन गर्न पाउने भनिएको छ ।

सेवा दिन चाहने व्यवसायीले टेक अवेको साधन तथा होम डेलिभरीकर्ताको नाम, सम्पर्क नम्बर र प्रयोग गर्ने सवारी साधनको नम्बर प्रशासन कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र ट्राफिक प्रहरी महाशाखामा पठाउनुपर्नेछ । होम डेलिभरी गर्ने वा टेक अवे सेवा दिने व्यक्तिको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ हुनुपर्नेछ भने ग्राहकलाई सामान दिँदा २ मिटरको दूरी कायम गर्नुपर्नेछ । खानेकुरा, बालबालिकाको अत्यावश्यक सामान, छाला तथा कपाल सुरक्षासम्बन्धी सामान, व्यक्तिगत सरसफाइका सामान, घरपालुवा जनावरका लागि चाहिने सामान, स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामाग्री, औषधि र कृषिका मल विउ लगायतका सामानहरु डेलिभरिमा छुट मिल्नेछ । निषेधाज्ञाको समयमा होम डेलिभरी सेवा समेत रोक्न्  भन्दै अघिल्लो हप्ता मात्र काठमाडौंमा अत्यावश्यक सामग्रीको होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । स्थानीय प्रशासनले होम डेलिभरी सेवा दिन नपाउने भनी उनीहरुलाई प्रतिबन्ध लगाएको थियो ।

डा. केसीको सत्याग्रह स्थगित
बिहीबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका डा. गोविन्द केसीले अन्ततः सत्याग्रह स्थगित गरेका छन् । डा. केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केही समयका लागि सत्याग्रह स्थगन गरिएको जानकारी दिएका हुन् । कोरोनाको महामारी फैलिँदै जाँदा जुम्लावासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ सुरु हुनु पर्नेलगायतका विभिन्न माग राखेर डा. केसीले बिहीबारदेखि अनशन बस्ने घोषणा गरेका थिए ।


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *