देश विदेश

कोरिएन एयरले विमानस्थलमै छाड्यो ३७ नेपालीलाई, साउदीमा १२६ जनालाई बहिर्गमन भिसा

शेयर गर्नुहोस्

काठमाडौं । कोरियन एयरलाइन्सको जहाजले नल्याएपछि ३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र परेका छन् । सम्पूर्ण प्रक्रिया पुर्याएर शुक्रबार बिहान नेपाल आउने तयारीमा रहेका ३७ जनालाई कोरियन एरलाइन्सले विमानस्थलमै छोडेर उडेपछि अलपत्र परेका हुन् ।

दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार स्थानीय समयअनुसार बिहान ५ बजे कोरियन एयरलाइन्सको जहाजमा उड्न टिकट काटेका २ सय ३८ नेपाली मध्ये ३४ जनाको कोरोना परीक्षण रिपोर्टमा भएको त्रुटि, २ जनाको अध्यागमनसम्बन्धी समस्या र १ जनाको उच्च तापक्रमको कारणले स्वदेश फर्किनबाट वञ्चित भएको बताइएको छ । करिब २० घण्टापछि विमानस्थलबाट सुरक्षित स्थानमा सारिएका उनीहरुलाई अर्को उडानमा उद्धार गरिने सोलस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

यता, साउदीमा १२६ जना अवैधानिक नेपालीले बहिर्गमन भिसा पाएका छन् । बहिर्गमन भिसाको लागि विभिन्न समयमा निवेदन दिएकामध्ये थप १२६ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको हो । साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगर्दा अवैधानिक हैसियतमा पुगेको नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक पर्ने बहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गर्दैआएको थियो ।

यसघि दूतावासले ७३८ बहिर्गमन भीसा पाएका नेपालीहरुको नामावली सार्वजनिक गरिसकेको छ । यो प्रक्रियाको थालनी भएदेखि साउदी सरकारले हालसम्म ८६४ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । बहिर्गमन भीसा जारी भएकाहरुलाई नेपाल तथा हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट हुने उडानहरुबाट नेपाल फर्किने तयारी गर्न दूतावासले सबैलाई अनुरोध गरेको छ ।

 


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *