देश विदेश

तस्करद्वारा एक सिंगे गैंडा मारियो

शेयर गर्नुहोस्

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षपछि तस्करले दुर्लभ एक सिंगे गैंडा मारेको आशङ्का गरिएको छ । निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा दुई दिनअघि शङ्कास्पद अवस्थामा मृत गैंडा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५ देखि ३० वर्षको गैंडाको टाउकामा दुई प्वाल र पछाडिको भागमा धारिलो हतियारले काटेको थियो । बरालले भने, “खाग र खुर भने सुरक्षित भेटियो ।” उनले थपे, “शङ्कास्पद भयो, तस्करले होइन भन्न सक्ने अवस्था रहेन ।”

तस्करले आक्रमण गरेको अनुमानमा निकुञ्जमा सुरक्षा सतर्कता बढाइएको छ । विसं २०७३ चैतमा जगतपुरको एक सामुदायिक वनमा तस्करले गैंडा मारेयता हालसम्म चोरीका कारण गैंडा मारेको तथ्याङ्क निकुञ्जमा छैन । निकुञ्जका पशु चिकित्सक डा भीषण गजमेरका अनुसार भदौ २१ गते घोलमा गढेर उभिएको तर गलेको अवस्थामा गैंडा भेटिएको थियो ।

मृत भाले गैंडाको टाउकामा दुई प्वाल थिए । तीनदेखि चार इन्चका ती प्वाल के कति कारणले भएको यकिन नभएको उनले जानकारी दिए। करिब एक साताअघि गैंडा मरेको अनुमान गरिएको छ । तस्करले गैंडालाई आक्रमण गरेको हुन सक्ने भन्दै निकुञ्जले अनुसन्धान थालेको छ । तस्करले खाग र खुरका लागि गैंडा मार्ने गर्दछन् ।

खाग र खुर सुरक्षित भएकाले घटना रहस्यमय बनेको छ । निकुञ्जमा साउनयता प्राकृतिक कारणले तीन गैंडा मरेका छन् । सशस्त्र द्वन्द्व तस्करले एकै वर्षमा ३६ वटासम्म गैंडा मारेका थिए । पछिल्ला वर्षमा निकुञ्जले नयाँ नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्था मजबुत बनाएपछि तस्करले गैंडा मार्न नसकेका हुन् । गत आर्थिक वर्षमा गैंडाको गणना गर्ने भनिएको भए पनि कोरोना सङ्क्रमणका कारण स्थगन भएको थियो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा छन् । रासस


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *