देश विदेश

अस्ट्रेलियन सिलभर हेरिटेजको लगानी रहेको पाँच तारे होटलबाट निकालिए ४ सय नेपाली कर्मचारी

शेयर गर्नुहोस्

काठमाडौं,बुटवल । कोरोना महामारीका कारण आर्थिक संकट उत्पन्न भएको कारण देखाउँदै रुपन्देहीको तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टले झण्डै ४०० कर्मचारी निकालेको छ । अस्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित होटेलले दुई वर्षे करार सम्झौता सकिएका कर्मचारीहरुलाई इमेलबाट पत्र पठाएर अब करार सम्झौता नवीकरण नहुने जानकारी गराएको हो ।

यसरी निकालिनेमा रिसोर्टको माथिल्लो पद जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ३९३ जना नेपाली कमदार रहेका छन् । रिसोर्टमा क्यासिनो समेत सञ्चालित थियो । कोरोना महामारीले निम्ताएको अकल्पनीय परिस्थितिमा होटेल बन्द भई आम्दानी शून्य हुँदा पनि कम्पनीले सबै कर्मचारीलाई ५० प्रतिशत तलब दिएको इमेल मार्फत स्मरण गराउँदै आफ्नो व्यवस्थापन आफैं गर्न र भविष्यमा होटेल खुलेपछि कर्मचारी माग हुँदा उपयुक्त पदमा आवेदन दिन भनिएको छ । होटलका एचआर म्यानेजर इन्द्र भट्टराईले इमेलमार्फत कामबाट निकालिएको पत्र आएको भन्दै अष्ट्रेलिया र हङकङमा रहेका ‘कम्पनीको सिनियर टिमसँगको सम्पर्क प्रयासमा रहेको बताए ।

कतिपय कर्मचारीहरुले भने करार अवधि सकिएको एक वर्ष पुगिसकेको भन्दै नेपाली कामदारलाई कामबाट निकाल्दा विदेशी कामदारलाई भने ननिकालिएको गुनासो गरेका छन् । । कम्पनीले कर्मचारीसँग छलफल र सल्लाह नै नगरी एक्कासी इमेलबाट पत्र पठाएर जागिरबाट हटाइएको जानकारी दिनु व्यवस्थापनको हेपाहा प्रबृत्ति भएको कतिपय कर्मचारी बताउँछन् । होटमा कार्यरत गोविन्द गौतम र विशाल कार्कीले मासिक पाँच लाखभन्दा धेरै तलब सुविधा लिने भिसाको म्याद समेत सकिएका विदेशी कामदारहरुलाई कामबाट ननिकालिएको आफूहरुमाथी विभेद गरिएको बताए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विदेशी लगानी र व्यवस्थापनमा सञ्चालित पाँचतारे होटेल भएकाले विदेशी लगानी फिर्ता हुने र लगानीकर्तालाई नकारात्मक असर नपार्ने गरी समस्याका समाधान खोज्नुपर्ने बताएका छन् । निकालिएका कर्मचारीको हकहितका लागि नगरपालिकाले सहजकर्ताको भूमिका निभाउने उनले दाबी गरेका छन् ।

चार वर्षअघि ६ अर्बभन्दा बढी लगानीमा तिलोत्तमा नगरपालिका–१३ कोटीहवामा १४ विगाह क्षेत्रफलमा प्रदेश ५ कै पहिलो पाँचतारे होटेलका रुपमा टाइगर वान प्रा.लि.अन्तर्गत टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको थियो ।

Pic : The Kathmandu post


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *