देश विदेश

ह्वात्त बढ्यो प्याजको भाउ, सुन सस्तो कि प्याज ?

शेयर गर्नुहोस्

काठमाण्डौ – ललितपुरकी ज्ञानु थापा चटपटे तथा पानीपुरी बेच्नुहुन्छ । चटपटे र पानीपुरीको लागि उहाँलाई दैनिक कम्तीमा एक किलो प्याज आवश्यक पर्छ । तर गएको एक हप्तामा प्याजको भाउ महँगो भएपछि उहाँले प्याजको प्रयोग केही कम गर्न थाल्नुभएको छ । ‘अघिल्लो शुक्रबार सुकेको प्याज किलोको ७० रुपैयाँमा किनेकी थिएँ । हिजो बिहीबार त किलोको एक सय ४० रुपैयाँ तिरेँ’, उहाँले भन्नुभयो, ‘यसले त व्यापारमा असर गर्ने भयो । पानीपुरी र चटपट दुवैमा धेरै प्याज हाल्नुस् न भन्छन् । खान आउनेको चित्त बुझाउनै पर्‍याे ।’  

ललितपुरकै सङ्गीता रानाले भने अब भाउ नघटेसम्म प्याज नकिन्ने निर्णय गर्नुभएको छ । ‘मासु पकाउँदा चाहिने हो । प्याज नभए पनि काम चल्छ । मैलै त भाउ नघटेसम्म प्याज नकिन्ने निर्णय गरेँ’, उहाँले भन्नुभयो । गएको शुक्रबार काठमाण्डौको मुख्य तरकारी तथा फलफुलको थोक बजार कालीमाटीमा प्याज किलोको ५० देखि ५५ रुपैयाँ थोक मूल्यमा कारोबार भएको थियो । त्यसपछि बिस्तारै उकालो लागेको प्याजको भाउ आज कालीमाटीमा किलोको एक सय १० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ । एक हप्तामा प्याजको भाउ किलोमा एक सय तीन दशमलव ७७ प्रतिशतले बढेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

गएको वर्ष पनि महँगो भएको थियाे प्याज 

गएको वर्ष पनि भदौ १५ पछि सुकेको प्याजको मूल्य बढ्दै गएको थियो । भदौ १५ पछि बढेको प्याजको भाउले असोज १५ सम्म निरन्तरता पायो । यो बेला गएको वर्ष कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिमा प्याज किलोको ९० रुपैयाँ थोक मूल्यसम्म पुगेको थियो । असोज दोस्रो हप्तासम्म किलोको एक सय १० रुपैयाँ थोक मूल्य पुगेको प्याज खुद्रा बजारमा भने किलोको एक सय ३५ रुपैयाँसम्म पुगेको थियो । 

त्यसपछि उकालो लागेको प्याजको मूल्य मङ्सिर १२ गते किलोको दुई सय २५ रुपैयाँ खुद्रा  पुग्यो । तर कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले तोकेको भन्दा पनि बढी मूल्य तिर्न सर्वसाधारण बाध्य भए । मङ्सिरदेखि पुसको मध्यसम्म आइपुग्दा किलोको दुईसय रुपैयाँ रहेको प्याजको खुद्रा मूल्य त्यसपछि भने बिस्तारै घटेर चैतमा किलोको ३० रुपैयाँसम्म झरेको थियो । तर अहिले फेरि भारतले प्रतिबन्ध लगाएपछि प्याजको भाउ गएको वर्षकै अवस्थामा पुग्ने अनुमान गर्न थालिएको छ । 

भाउ बढेपछि अनुगमन 

प्याजको भाउ महँगो भएको गुनासोपछि वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बुधबार बिहान अनुगमनमा निस्कनुभयो । अनुगमनका लागि उहाँ बल्खु तरकारी बजार पुग्नुभयो । व्यापारीले किलोको ४८ रुपैयाँमा किनेको प्याज मन्त्री भट्टले एक सय २० रुपैयाँ किलोमा किन्नुभयो । सुरक्षाकर्मी विना बल्खु पुग्नुभएकाले उहाँले त्यसपछि ती व्यापारीलाई कारबाहीको दायरामा ल्याउनुभयो । 

६ जना आलु तथा प्याज व्यवसायीलाई मात्रै नौ लाख ६५ हजार जरिबाना 

थोक बजारमै मन्त्री ठगिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत अनुगमन सुरु गरेको छ । विभागले बिहीबार एकैदिन आठ जना व्यवसायीलाई कारबाही गरेको छ । उनीहरुबाट १४ लाख ७० हजार रुपैयाँ जरिबाना तिराएको विभागले जनाएको छ । विभागले बिहीबार ६ जना आलु तथा प्याज व्यवसायीलाई मात्रै नौ लाख ६५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।अनुगमनकै क्रममा काठमाण्डौको तीनकुनेबाट साढे ४२ बोरा प्याज र ४० बोरा आलु बरामद भएको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि एक्कासी व्यापारीले मूल्य बढाएको भन्दै उपभोक्ताको गुनासो बढेपछि महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले समेत अनुगमन सुरु गरेको छ । प्याज महँगोमा बेच्ने र अनावश्यक भण्डारण गर्नेमाथि उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही हुनेछ । 

किन ह्वात्तै बढ्यो प्याजको मूल्य ?

नेपाली बजार भारतको प्याजमा निर्भर छ । भारतले निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको भाउ महँगो भएको हो । भारतको आन्ध्र प्रदेश, कर्नाटक, दक्षिण भारतलगायतका ठाउँमा ठूलो पानी परेपछि उत्पादन घटेको र उत्पादित प्याज पनि गलेर नष्ट भएको छ । धेरै प्याज नोक्सान हुँदा भारतमै यसको मूल्य बढेको छ । प्याजको मूल्य एकाएक बढ्न थालेपछि भारतले आफ्नो बजारलाई नियन्त्रणमा राख्न निर्यातमा रोक लगाएको हो ।भारतले निर्यात रोक्ने बित्तिकै नेपालमा मौज्दात रहेको प्याजको मूल्य व्यवसायीले बढाउँदा भाउ महँगो भएको हो । नेपालमा प्याजको कुल मागमध्ये झण्डै ९८ प्रतिशत भारतबाटै आयात हुने कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो । नेपालमा पाँच लाख मेट्रिक टन प्याजको माग भए पनि स्वदेशमा एक लाख ४८ हजार मेट्रिक टन मात्रै उत्पादन हुन्छ । प्याजको बाँकी माग आयातले धानेको उहाँको भनाइ छ ।

कलैया बजारमा प्याजको कालोबजारी, एकैदिनमा दोब्बर

भारतकै प्याजमा भर पर्दा नेपालमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने बित्तिकै भाउ बढ्ने गरेको छ । कालीमाटी फलफुल तथा तरकारी बजारका व्यावसायी भगवानचन्द्र उप्रेतीका अनुसार कालीमाटी बजारमा नेपालको प्याज चैत र वैशाख महिनामा मात्रै आइपुग्छ । भारतको प्याजसँगै नेपालको प्याज पनि बजारमा आइपुगेको बेला भाउ केही सस्तो हुने तर भारतले निर्यातमा रोक लगाउने बित्तिकै कम आपूर्ति हुँदा भाउ महँगाे हुने गरेको उहाँले बताउनुभयो ।अर्का व्यवसायी विमल बस्नेतका अनुसार अहिले भारतबाट प्याज ल्याउन नसक्दा भाउ बढेको हो । नेपालमा प्याजको उत्पादन बढाउन सके मात्रै यो समस्या हट्ने उहाँको भनाइ छ ।    

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *