देश विदेश

नेपाल अपडेट : पढ्नैपर्ने पाँच खबर

शेयर गर्नुहोस्

काठमाडौं । कोभिडको खर्च विवरण सार्वजनिक गर्नेबारे अदालतले गरेको फैशला, नियमित बन्दै गरेको आन्तरिक उडान, बालबालिका देखाएर डलरको खेती मौलाएको भन्दै बढ्न थालेको गुनासो, सौराहाको पर्यटनमा देखापरेको आशा लगायतका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना सम्बन्दी सूचना उपलब्ध गाराउन सर्बोच्चको आदेश
सर्वोच्च अदालतले कोरोना सम्बन्धी कुनै पनि सूचना जो कोहीले मागेपनि उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना माग्न पाउने अधिकार नेपालको संविधान र सूचनाको हक सम्बन्धी ऐन २०६४ ले व्यवस्था गरेकाले उक्त अधिकारको सहज रुपमा प्रचलन गराउन सरकारका नाममा परमआदेश जारी गरेको हो । अधिवक्ताहरु कीर्तिनाथ शर्मा, मनिषकुमार श्रेष्ठलगायतले दायर गरेको रिट उपर न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले फैशला गर्दै सर्वोच्चले कुनै पनि बहाना बाजी नगरी कोरोना सम्बन्धी सूचनालाई एकीकृत गरी माग्न आउने नेपाली नागरिकलाई उपलब्ध गाराउन भनेको छ । तीन तहका सरकारले कोरोनाबारे गरेको गतिविधि र खर्च विवरणलाईं एकीकृत गरी उपलब्ध गराउन परमआदेशमा भनिएको छ । निवेदकहरुले प्रधानन्त्री तथा मन्त्री परिषद्को कार्यालय, तत्कालीन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिसँग कोरोनाका नाउँमा भएको खर्च विवरण माग्न गए पनि आफूहरुलाई सम्बन्धित कार्यालयमा प्रवेश नै गर्न नदिइ सूचना नदिएको बताउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।

बालबालिकाको शिक्षामा डलर खेती मौलायो : सांसदहरु
सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेती गर्नेहरुको धन्दा चल्दैआएको बताएका छन् । प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको बैठकमा बालबालिकाका अवस्था र व्यवस्था सम्बन्धमा छलफल गर्दै सांसदहरुले गाउँबाट बालबालिका ल्याएर कतिपय संघसंस्थाले काठमाडौंमा डलर कमाउने काम गरिरहेको बताएका हुन् । सांसद दुर्गाबहादुर रावतले बालबालिका सम्बन्धी काम गर्ने केही संघसंस्थाले बाहिरी जिल्लाबाट १० वर्ष सम्म पढाउने भन्दै २० हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म अभिभावकसँग लिएर काठमाडौंमा ल्याई बालगृहमा राखेर विदेशबाट डलर झार्ने काम गरिरहेको बताए । टुहुरा बालबालिका, अपाङ्ग बालिबालिका देखाएर व्यवसाय गर्ने संघसंस्थाहरु काठमाडौंमा धेरै भएपनि ऐन कानून, नीति नियम बन्ने चरणको फाइदा उठाउनेमाथी नियमन र कारबाही हुन नसक्दा बिक्रिति मौलाएको सांसदहरुले नै बताए । सांसद थममाया थापा लगायतले गाउँघरबाट समस्यामा परेका बालबालिकालाई सहर बजारमा ल्याई काम गराउने प्रवृतिले गर्दा बालबालिका जोखिममा परेको दाबी गरेका थिए । बालबालिकाको क्षेत्रमा राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन गर्नुपर्ने तर गलत काम गरी कमाउने ध्याउन्नमा लाग्ने संस्थालाई कारबाही गरी बन्द गराउनुपर्ने सांसदहरुको दाबी थियो ।

सौराहाका पर्यटन व्यवसायीमा आशाको सञ्चार
आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित देखिएका छन् । झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आन्तरिक उडान र निकुञ्जका गतिविधि सुचारु भएपछि सौराहाका पर्यटन व्यवसायी आफ्नो व्यापार बढ्ने आशा सहित उत्साहित बनेका हुन् । होटल रेस्टुरेन्टमा पर्यटकहरुको चहलपहल नगन्य देखिएपनि टेलिफोनबाट सेवा र सुविधाका बारेमा जानकारी लिनेक्रम निकै बढेको व्यवसायीहरु बताउँछन् । कोभिड–१९ को महामारीका कारण विगत ६ महिनादेखि बन्द अवस्थामा रहेका होटल रेस्टुरेन्ट समेत असोज १ गतेदेखि खुल्न शुरु भएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेसँगै व्यवसायीमा पर्यटकको चहलपहलसँगै व्यापार बढ्ने आश जगाएको जानकारी दिनुभयो । असोज ७ गतेपछि क्रमशः पर्यटक आउन शुरु गरेर दशैँ अगाडिसम्म आन्तरिक र बाह्य पर्यटकहरुको समेत राम्रो चहलपहल हुनेमा व्यवसायी आशावादी देखिएका छन् । सौराहामा ११० होटल र साना ठूला १०० हाराहारीमा रहेका रेस्टुराँ मा प्रत्यक्ष रुपमा पाँच हजार ५०० भन्दाबढी कामदारले रोजगारी पाएका छन् ।

आन्तरिक उडान नियमित बन्दै
आन्तरिक उडान सेवा सुरु भएसँगै लुक्ला, पोखरा, वीराटनगर, भरतपुर लगायतका आन्तरिक विमानस्थलमा नियमित रुपमा उडान सुरु भएको छ । गएको चैत ११ गतेदेखि उद्धार बाहेक बन्द भएको उडान शुरु भएसँगै हवाई उड्डयन र पयटन व्यवसायीमा आशावादी देखिएका छन् । यती एयरलाइन्स र बुद्ध एयरले भरतपुर र वीराटनगरमा दुई–दुई उडान भर्न थालेका छन भने पोखरा र लुक्लामा समेत नियमित जस्तै उडान सुरु भएको छ । देशका अन्य विमानस्थलमा पनि उडान नियमित हुन थालेको छ । ६ महिनापछिको पहिलो उडानमा एयरलाइन्सले चालक दलमा दुई जना क्याप्टेन राखेर जहाज उडाएका थिए । सुरक्षा कार्यविधि पूर्णरुपमा अपनाएर उडान शुरु गरिएको विमानस्थल प्रशासनको दाबी छ ।

यति एयरको सहुलियत भ्रमण प्याकेज
यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ । एयरलाइन्सले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारा सहित सहुलियत दरमा विभिन्न प्याकेज सार्वजनिक गरेको हो । एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले कोभिड १९ का कारण ठप्प भएको पर्यटन उद्योगलाई चलायमान बनाउन सहुलियत दरको भ्रमण प्याकेज ल्याइएको बताउनुभयो । प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौँ आउनेका लागी पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकटसहित बस्ने होटलको व्यवस्था मिलाइएको छ । ‘यती एअरलाइन्स मोबाइल एप्स’ समेत सञ्चालनमा ल्याइएको छ । मोबाइल एप्सको माध्यमबाट टिकट बुकिङ गरेमा विशेष छुट दिने व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत रिमालले जानकारी दिनुभयो । यती एयरलाइन्सले स्वास्थ्य सावधानीको पूर्ण पालना सहित उच्च सतर्कता अपनाएर सोमबार देखि हवाई उडान सूचारु गरेको समेत जानकारी गराएको छ ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *