देश विदेश

नक्कली ‘माता’ को लाखौँ ठगी धन्दा

शेयर गर्नुहोस्

घोराही नवरलपुरकी पुष्पा पाण्डेका तीन सन्तान बेलाबेला बिरामी परिरहन्थे। घोराही बजारमा ‘नामी माता’ रहेको हल्ला सुनेकी थिईन् पुष्पाले। लागुकै कारण छोराहरुमा विभिन्न समस्या आएको हुन सक्ने आशंका चिनेजानेकाहरुले गरे अनी उनै माता कहाँ जान सुझाव दिए। सोही सल्लाह बमोजिम पुष्पा घोराही काठेकोहल नजिकै डेरा लिएर बस्ने माता भनिएकी राधा खत्री क्षेत्री कहाँ पुगिन्। माता भनिएकी महिलाले पहिलो भेटमै भनिदिईन् ‘सबै समस्या म समाधान गरिदिन्छु।’ तर आँफूले भनेका सबै सर्तहरु पालना गर्नुपर्ने माताको भनाई थियो।

नामी माताको उपमाले चिनिएकी ति महिलाप्रति पुष्पा ढुक्क भईन्। पुष्पाका दुई छोरा जागिरे अर्का विदेशमा। उनै छोराहरुको फोटो राखेर माता कहलिएकी महिलाले उनिहरुको समस्या मन्त्र बिधीबाट पत्ता लगाउन थालिन्। पितृ लागेको भनेर समस्या देखाएकी माताले अनेकन सर्त राखिन्। यो सर्त मोटो रकमको थियो। पुष्पा भन्छिन् ‘पटक पटक गरि तीन लाख पाँच हजार रुपैयाँ मातालाई दिएँ।’ माताले उनलाई समस्या समाधान हुनेमा ढुक्क बनाएकी थिईनन्। उनले अझै समस्या समाधान नभएको भन्दै थप रकम झारिन्। ‘मोबाईल किनिदेउ भनिन् अनि २५ हजार रुपैयाँ मोबाईल किन्न भनेर दिएँ,’ उनले भनिन् ‘एउटा बाख्राको कालो पाठी चाहिन्छ भनिन् १३ हजारमा कालो पाठी किनेर पनि बुझाएँ।’

रोग निको होला भनेर माता कहाँ पुगेकी पुष्पाको माताको सर्त बमोजिम खर्च बढ्दै थियो। अन्ततः माताले भनिन् ‘लागुको अझै ठूलो समस्या छ, तेरो घरबाट ५ वटा लास निस्कन सक्छन्।’ वर्ष दिनसम्म माताको शरणमा रहेकी पुष्पालाई माताको यो धम्कीले झनै त्रास थप्यो। माताकै सल्लाह अनुसार उनका छोरालाई हाँजिर गराउन भनियो। भर्खरै विदेशबाट आएर क्वारेन्टिनमा बसेका कान्छा छोरालाई त्यहाँबाट निकालेर माता कहाँ हाजिर गराईयो। ति माताले छोरालाई उनकै आमा बोक्सी लागेको भनिदिईन्। ‘क्वारेन्टिनबाट सिधै माता कहाँ पुगेँ, उसले सुरुमै त्रिशुलले ढाडमा हानी,’ पुष्पाका छोराले भने ‘पछि बोक्सी लागेको भनी अनि बोक्सी को हो ? भन्दा तेरो आमा भनी।’ छोराहरुको स्वास्थ्य समस्या समाधानका लागि तीन लाख बढि उनै मातालाई चढाईसकेकी पुष्पालाई उल्टै छोरा माथि बोक्सी लागेको भनेपछि सैह्य भएन। ‘मैले मलाई किन बोक्सी भनेको भनेर प्रहरीमा उजुरी गरेँ,’ पुष्पाले भनिन् ‘उसले प्रहरीमा माफी माग्दै अहिलेसम्म लिएको सबै रकम फिर्ता गर्ने मौखिक सहमती गरि।’ तर प्रहरीबाट उन्मुक्ती पाएपछि ति महिला फरार भईन्।

नामी माता कहलिएकी राधा खत्री क्षेत्रीको एकिन पहिचान कसैलाई थाहा छैन। पर्सा जिल्लाको नागरिकता धारी उनी झण्डै तीन वर्ष यता घोराहीमा डेरा लिएर बस्थिन्। उनी नामी माता रहेको भन्दै उनको डेरामा झारफुक गर्न आउनेहरुको भिड लाग्थ्यो। तर उन प्रतिको यहि अन्धविश्वासमा परेर थुप्रै नागरिकले लाखौँ रकम गुमाउनु परेको छ।

घोराही १५ का पूर्णवहादुर चौधरीले पनि बेला बेलामा ‘काँप्ने’ समस्या समाधान गर्ने आशमा साढे तीन लाख गुमाए। जबकी समस्या अहिलेपनि उस्तै छ। उनले पनि नामी माता कहलिएकी राधाका बारेमा सुन्दै आएका थिए। उनी पनि उनै माताको सम्पर्कमा पुगे। दुई वर्षसम्म उनी बिरामी मात्रै हैन, माताको कारिन्दा झैँ बनेर बस्नु पर्यो। ‘उसको डेरामा पूजाआजा गर्ने फूल खोजेर लगिदिने जिम्मा सबै मेरो थियो,’उनले भने ‘टाढा टाढाबाट फूल खोजेर रातबिरातमा पनि उसको घरमा फूल टक्र्याईदिनु पर्थ्यो।’ ति माताले उनको समस्या पनि निको पारिदिने दरिलो विश्वास दिलाएकी थिईन्। उनी पनि यहि अन्धविश्वासमा ति माताको दुई वर्षसम्म अन्धभक्त बने। ‘उसले जे माग्थी मैले टक्र्याउनु पथ्र्यो, नत्र थारु भनेर गाली गर्थी,’ उनले भने ‘मत उसको जालमा परिसकेको थिएँ।’ पूर्णवहादुरलाई भएको समस्या समाधानका लागि दुई वर्षको अवधिमा अर्घाखाँचीको सुपादेउराली, दाङका मठ मन्दिर, रुकुम, सल्यान लगायतका टाढा टाढाका मन्दिरसम्म पुर्याउँथिन्। यसरी जाँदा लागेको खर्च उनै पूर्णले बुझाउनु पथ्र्यो। ‘उसले मलाई मन्दिरमा जानु पर्यो, तेरो समस्या अली ठूलो छ भन्थी,’ उनले भने ‘थुप्रै जिल्लाका मन्दिरमा जानका लागि गाडी रिजर्भ गरेर उसलाई पुर्याए, त्यहाँ जाँदा लाग्ने खर्च सबै मेरो हुन्थ्यो।’

तर आफ्नो स्वास्थ्य समस्या नभएपछि उनी माताको सम्पर्कबाट टाढिए। तर माता उनी प्रति रिसाईन्। ‘म रिसाएर नगएपछि त उसको आम्दानीको बाटो रोकिने भयो नि,’ उनले भने ‘अनी म संग रिसाईरहेको थियो।’ उनी जिल्ला हुलाक कार्यालयका कर्मचारी पनि हुन्। एक दिन हुलाकमा आएको चिठी छोड्न माताको डेरा नजिकैको बाटोमा हिँड्दै थिए। अनी माताको कोठामा पुगे। तर रिसले चुर माताले उनलाई कुटिन्। ‘तँ मेरो घरमा बाँण हान्न आएको होस् ? भनेर कानमा जोड्ले हानी,’ उनले भने ‘म केहि नबोली त्यहाँबाट निस्केँ।’

नक्कली माता बनेर सबै स्वास्थ्य समस्या समाधान गर्ने झुठो पासा फ्याँकेकी उनै माताको ठगिमा घोराही १५ कै मोतीलाल डाँगी पनि नराम्ररी परे। एक/एक तोला सुनका औँठी बुझाएका मोतीलालले माताको नभई आफ्नो दोष बढि भएको स्वीकार्छन्। ‘माताको झारफुकमै सबथोक निको हुन्छ भनेर अन्धविश्वासमा पर्नु हाम्रो पहिलो गल्ति हो,’उनले भने ‘गलत नियत राख्नेहरुलाई हामीहरुले चिनेर व्यवहार गर्नु पर्ने हो।’ उनकी श्रीमतीको टाउको अनी पेट दुख्ने समस्या लामो समयदेखि थियो। बजारमा चलेको माताको चर्चा सुनेरै उनी पनि रोग निको पार्न माताको शरणमा पुगे। ‘छनक्कै निको हुन्छ भनेर आश्वासन दिएपछि बढि विश्वास गरियो,’ डाँगीले भने। दुई वर्षसम्म उनी पनि माताप्रति लिप्त भए। माताले भने बमोजिम दुईवटा सुनको औंठी नै दान गरिदिए। ‘श्रीमतीको समस्या समाधान होला भनेर एक/एक तोलाका दुईवटा सुनको औँठी दिएँ,’ उनले भने ‘अरु सरसामानको हिसाव किताबै गरेको छैन, गरेर पनि अब के अर्थ छ र?’ उनले प्रति महिना २५ किलोको एक बोरा चामल उपलब्ध गराईदिन्थे। अनी पिउने जारको पानीको जोहो समेत उनैले गरिदिए। यो बाहेक अन्य सरसामानको एकिनै छैन उनलाई। ‘उनको दैनिक खर्चको व्यवस्थापन पनि मैले नै गरिदिएको थिएँ भनेपछि तपाई आँफै बुझ्नुन मैले कतिसम्म खर्च गरे हुँला ?’ उनले भने ‘तर अहिले पश्चाताप लागिरहेको छ।’ उनी दुई वर्षसम्म माताप्रति लिप्त हुनुको कारण क्षणिक निको हुनु पनि थियो। ‘माताले झारफुक गरेपछि निको भए जस्तो हुने, केहि दिन पछि फेरी उस्तै समस्या भैहाल्ने,’ उनले भने ‘अनि समाधान भै पो हाल्छकि भनेर पनि उसको बढि विश्वास गर्न पुगेँ।’ तर अवस्था उस्तै भएपछि उनले पनि मातासँगको संगत छोडेका थिए। ‘पहिला विश्वासमा परियो, पछि उसको सबै नियत बुझ्दै गएपछि नजिक हुनुको अर्थै भएन,’ उनले भने ‘त्यो व्यक्ति प्रति विश्वास गर्नु हाम्रै ठूलो कमजोरी हो।’

विभिन्न व्यक्तिलाई जालझेलमा पारेर लाखौँ रकम असुलेकी माता भनिएकी राधा अहिले घोराहीबाट फरार भैसकेकी छिन्। उनिसँग रहँदै आएको मोबाईल समेत अफ छ। दाङमा उनिबाट ठगिएकाहरुले ठगी गरेर फरार रहेकी ति महिलालाई नियन्त्रणमा लिएर कारवाही गर्न आग्रह गरेका छन्। ‘हामी त जान अन्जानमा ठगियौँ, फेरी अर्को ठाउँमा पुगेर उसले यसैगरि अरुलाई पनि ठग्न सक्छ,’ पीडित महिला पुष्पा पाण्डेले भनिन् ‘उसलाई पत्ता लगाएर कारबाही गरेपछि अरु कोहि ठगिन त पाउने थिएनन्।’

श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *