प्रवास

विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापनपक्षद्वारा सहमतिको उल्लङ्घन

शेयर गर्नुहोस्

लन्डन (जीएनएन)  गैर आवासीय नेपाली संघद्वारा आयोजित दुइ दिने विशेष केन्द्रिय महाधिवेशनको समापन समारोह घोषणापत्र सम्बन्धि विवादका कारण अवरुद्ध भएको छ। सहमतिको अधिवेशन भनेर शुरु देखि नै भनिए पनि एकलौटी ढंगले घोषणापत्र वाचन गरिए पछि विवाद चर्किएको हो ।

प्रवक्ता डिबी क्षेत्रीले ९ बुंदे घोषणापत्र पढी सक्नासाथ सल्लाहकार कुल आचार्यले सहमति नभएको बुंदाहरु घोषणापत्रमा राखिएको भन्दै आपत्ति जनाएका थिए। उनले एमआइएस र अनलाइन भोटिंगबारे कुनै सहमति न भएकाले त्यो हटाउन अनुरोध गरे। तर महासचिव हेमराज शर्माले यसमा आपत्ति जनाउनु पर्ने कुरा केहि न भएको जिकिर गरे। सहमतिको विधान संशोधन प्रस्ताव तयार गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका संघका उपाध्यक्ष मन केसीले आफुसंग घोषणापत्र बारे कुनै सल्लाह नगरिएको र आफुले घोषणापत्र पढे पछि मात्रै सुनेको बताए। घोषणापत्रबारे फेसबुक लाइभमा विवाद भए पछि युके समय अनुसार १५१० बजे फेसबुक लाइभ बन्द गरियो।

एनआरएनएको केन्द्रिय कार्यालयले उक्त भिडियो हटाएको छ। जीएनएनसंग कुरा गर्दै आइसीसी सदस्य चिन्तामणि सापकोटाले आफुहरु हदै सम्म लचक भएर विशेष महाधिवेशनमा भाग लिंदा पनि सरसल्लाह नगरी एकपक्षीय रुपमा घोषणापत्र जारी गर्न खोज्नु आपत्तीजनक रहेको बताए। हाल काठमाडौँमा रहेका सापकोटाले सहमतिको आधारमा संशोधित विधान पारित गरी सकेपछि चुनावलाई प्रभावित गर्ने उद्देश्यले छलफल नै नभएका विषयहरु घोषणापत्रमा राख्नु सहमतिको स्पिरिट विपरित रहेको बताए।

एनआरएनएकी महिला संयोजक भोमा लिम्बूले घोषणापत्रमा महिला र युवाको सम्बन्धमा एक शब्द पनि उल्लेख नगरिएको भन्दै आपत्ति जनाइन् । उनले यस्तै व्यवहार गरिए सबै महिलाहरुले आगामी कार्यक्रमहरु बहिष्कार गर्ने चेतवानी दिइन् । अर्की उपाध्यक्ष रबिना थापाले समझदारीमा अधिवेशन आयोजना गरिएकाले झुक्याएर कुनै पनि घोषणा गर्न नहुने बताइन् । विवाद चर्किए पछि कार्यक्रमको अध्यक्षता गरिरहेका केन्द्रिय अध्यक्ष कुमार पन्तले सहमतिको आधारमा मात्रै घोषणापत्र जारी गर्न निर्देशन दिएका थिए ।

आर्थिक प्रतिवेदन पारित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक प्रतिवेदन सर्वसम्मतले अनुमोदन भएको छ । संघको विशेष महाधिवेशनको दोस्रो दिन आइतवार कोषाध्यक्ष महेशकुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४–०७५, २०७५-०७६ को आर्थिक प्रतिवेदन व्यापक छलफल पछि सर्वसम्मतिले पारित गरेको थियो । सन् २०१९ अक्टोवरमा काठमाडौँमा आर्थिक प्रतिवेदन पारित नगरिकनै एनआरएनएको ९ औं महाधिवेशन सकिए पछि विशेष महाधिवेशनमा प्रस्तुत गरिएको थियो। अध्यक्ष पन्तले कुनै पनि संस्थाको आर्थिक पक्ष पारदर्शी भएन भने संस्थाको छवि नै खलबलिने बताए। उनले एनआरएनए परोपकारी कामबाट भाग्नु हुंदैन भन्दै विगतका विभिन्न परियोजना कार्यान्वयन गर्दा भएका कमीकमजोरीबाट पाठ सिक्नु पर्ने बताए।

उनले तीन सदस्यीय समितिको घोषणा गर्दै उक्त समितिले विगतमा के के कमजोरी भए र भविष्यमा के सुधार गर्नु पर्छ भन्ने बारे सुझाव दिने बताए। “त्यो सुझाव आइसीसीले पारित गर्छ र हामीले त्यो कार्यान्वयन गर्ने छौं,” उनले भने। समितिको संयोजकमा एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष गोबा कटुवाल र सदस्यहरुमा अस्ट्रेलिया डिला खरेलतथा साइप्रस निवासी रंजित महतो रहेका छन्। कटुवाल चार्टर्ड एकाउन्टेन्ट हुन् भने खरेल कर तथा लेखा विज्ञ हुन्।

त्यस्तै महतो वित्तिय मामिला विज्ञ हुन्। जीएनएनसंग कुरा गर्दै डिला खरेलले संस्थाको अडिट रिपोर्ट, विभिन्न परियोजनामा भएका खर्चहरु तथा अन्तर्राष्ट्रिय अभ्यासहरुलाई पनि हेरेर आफुहरुले सुझाव सहितको प्रतिवेदन आगामी दशौँ महाधिवेशनमा पेश गर्ने जनाए। विशेष महाधिवेशनको दोश्रो दिन संघका विभिन्न समितिका संयोजकहरुले आआफ्नो समितिको प्रगति विवरण प्रश्तुत गरेका थिए।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *