देश विदेश

सबैका प्रिय गायक राजु परियार !

शेयर गर्नुहोस्

लमजुङ – मौलिक लोक गीतसङ्गीत क्षेत्रका चर्चित गायक हुनुहुन्छ, राजु परियार । लमजुङको चिसापानीमा जन्मनुभएका परियार यहाँकै गाउँघर, वनपाखामा खेल्दै हुर्कनुभयो । उहाँमा सानैदेखि गीतसङ्गीतमा रुचि थियो।

गाउँघरमा हुने पूजाआजाका साथै जिल्लामा हुने विभिन्न दोहोरी प्रतियोगितामा सहभागी हुँदै विभिन्न खुड्किला पार गरेर निरन्तरको साधना र सङ्घर्षले आज उहाँ यो ठाउँसम्म आइपुग्नुभएको हो । हजारौँ गीतमा आफ्नो सुमधुर स्वर भर्नुभएका गायक परियार जन-जनको हृदय छुने गीत गाउन रुचाउनुहुन्छ । मेलापात, उकाली-ओराली, भञ्ज्याङ, चौतारी, माया, प्रेम, मिलन-बिछोडका भावका साथै जातीय विभेदविरुद्धका थुप्रै मौलिक गीतमा पनि उहाँले आफ्नो ‘जादुमयी’ स्वर भर्नुभएको छ ।    

गीतका शब्दलाई मनन गरी हृदयले गाउने गायक परियारका थुप्रै गीत अझै जनजिब्रोमा झुण्डिन सफल छन् । लोक गीतसङ्गीत मन पराउने सबै पुस्ताका दर्शक/श्रोता माझ उहाँ प्रिय हुनुहुन्छ । ‘राजु परियारको लोक गीतसङ्गीत क्षेत्रप्रतिको लगाव र मिठो गायकीले यस क्षेत्रमा उहाँलाई सफल हुन सहज भयो भन्ने लाग्छ,’ ठाडोभाका तथा लोककला प्रतिष्ठान, नेपालका अध्यक्ष नवराज पहाडीले भन्नुभयो, ‘निरन्तरको साधन र संघर्षले नै यहाँ यो अवस्थासम्म आइपुग्नुभएको हो ।’

मौलिक कला, साहित्य, गीतसङ्गीतको उर्वरभूमि मानिन्छ, लमजुङ । यहाँको माटोले राजुसँगै राष्ट्रिय रुपमै ख्यातिप्राप्त थुप्रै सर्जक स्रष्टा जन्माएको छ । उनीहरुले आफ्ना सिर्जनामा लमजुङको माटोलाई समेटे । राजुले पनि आफ्ना कयौँ गीतमा लमजुङको पहिचान र मायालाई समेट्नुभएको छ ।

राजु सुमधर आवाजका धनी त हुनुहुन्छ नै, उस्तै सरल पनि हुनुहुन्छ । हँसिला, रसिला र मिजासिला स्वभावका राजु अनुजलाई माया, साथ-सहयोगका साथै अग्रजलाई सदा सम्मान र श्रद्धा गर्नुहुन्छ । ‘अग्रजहरुले पानको पात, रेलिमाई, राइजुमा, हाक्पारे नगाइदिएको भए लोकलयका क्षेत्रमा कसरी आउन सकिन्थ्यो र !,’ उहाँ भन्नुहुन्छ, ‘त्यस कारण मलाई लाग्छ, यो अग्रजहरुको देन  हो । उहाँहरुले हिजो लगानी गरेको चीजको आज हामीले ब्याज खाइरहेका छौँ ।’

लोक गीतसङ्गीत क्षेत्रमा राजु परियार सुरुवातका दिनदेखि अहिलेसम्म पनि उत्तिक्कै क्रियाशिल हुनुहुन्छ । उहाँको सिको गर्दै मौलिक लोक गीतसङ्गीत क्षेत्रमा अघि बढ्न चाहनेको जमात पनि उत्तिक्कै छ । क्षमता र प्रतिभा भएका नवश्रष्टालाई उहाँको सुझाव छ, ‘मौलिक लोक गीत-सङ्गीत गाउँ समाजमा छ । राम्रो सिर्जना गर्न सकेमा यस क्षेत्रलाई बचाइराख्न सकिन्छ ।’ ‘अहिले प्रविधिको पनि विकास भएकाले यस क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई केही सहज हुन सक्छ,’ उहाँ भन्नुहुन्छ । 

प्रतिभा भएकाहरुलाई यस क्षेत्रमा अघि बढ्नका लागि हर तरहले राजु परियाले सघाउँदै आउनुभएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ शाखाका अध्यक्ष अनुज अधिकारी बताउनुहुन्छ । ‘राजु दाईको सिको गर्दै लोकगीत सङ्गीत क्षेत्रमा पाइला चाल्नेहरु धेरै छन्,’ उहाँ भन्नुहुन्छ, ‘उहाँले नवप्रतिभालाई माया, साथ-सहयोग गर्नुहुन्छ । अग्रजलाई सदा श्रद्धा गर्नुहुन्छ ।
 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *