देश विदेश

भागरथी हत्या प्रकरण : प्रदेश प्रहरी घटनास्थलमा

शेयर गर्नुहोस्

माघ २५, बैतडी (रासस) । बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याको घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेको छ । 

घटनालाई गम्भीरतापूर्वक लिइएकाले थप अनुसन्धानका लागि  सुवेदी नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेर अध्ययन गरिररहेको  छ । यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

भागरथीको शव परीक्षणअघि नै भेजाइनल स्वाब सङ्कलन गरी प्रहरीलाई बुझाएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताउनुभयो । यसैगरी अन्य आवश्यक प्रमाण पनि सङ्कलन भएका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीको भनाइ रहेको छ । घटनामा संलग्नलाई पत्ता लगाउन प्रहरी लागि परेको छ उहाँले भन्नुभयो, “घटनामा संलग्न आरोपी अहिलेसम्म पक्राउ परेका छैनन्, अनुसन्धानकै क्रममा छौँ ।” 

किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ ।  मृतक किशोरी सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन् । हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ ।  विद्यालयबाट घर फर्किरहेको बेला बाटोमा विभत्स रुपमा हत्या  भएको विरोधमा तीन दिन शैक्षिक हड्ताल गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिनुभयो । 

विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भए पनि शान्तिपूर्ण रुपमा पठनपाठनको वातावरण बन्न नसकेको शिक्षकहरु बताउँछन् । यही माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीबार घर नजिकै रहेको लवलेक जङ्गलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो । मृतक किशोरीको शनिबार माघ २४ गते शव परीक्षण सम्पन्न भए पनि रिपोर्ट आउन बाँकी  छ । मृतकका आफन्तले जिल्ला अस्पतालमा रहेको किशोरीको शव बुझ्न मानेका छैनन् । घटनाको सत्यतथ्य छानविन गरी वास्तविक दोषीलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गर्न माग गर्दै शव नबुझेको भागरथीका काका शिवराज भट्टले बताउनुभयो । 

जिल्लाका राजनीतिक दलले हत्यारालाई पत्ता लगाइ कानूनी दायरामा ल्याउन माग गरेका छन् ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानविन गर्न माग गरेको छ । जिल्ला अध्यक्ष सुरेन्द्र पालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ । नेकपाकै प्रचण्ड–माधव समूहले घटनाको निन्दा गरेको छ । सचिव प्रेमप्रकाश भट्ट आदित्यले एक विज्ञप्ति जारी गर्दै सरकारले यो घटना सत्यतथ्य रुपमा बाहिर ल्याउनुपर्ने माग गर्नुभएको हो । 

नेपाली कांग्रेसले घटना दिनै सम्वेदनशील रहेकाले यथाशीघ्र दोषी पत्ता लगाइ सार्वजनिक गर्न अपिल गरेको छ ।  जिल्ला सचिव प्रेम चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले यो घटनाप्रति गम्भीर हुनुपर्ने जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष इन्द्रदेवशरण भट्टले विज्ञप्ति जारी गर्दै दोषी पत्ता लगाउन माग गर्नुभएको छ ।  


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *