देश विदेश

‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई विघटनको अधिकार छ’

शेयर गर्नुहोस्

काठमाण्डौ – प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आइतवार सर्वोच्च अदालतमा बहस गर्नुभएका सरकारी वकिलले नागरिकबाट निर्वाचित प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्न पाउने संवैधानिक अधिकार भएको तर्क राख्नुभएको छ । 

उन्नाइसौँ दिनको सुनुवाइमा सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता डाक्टर टेकनारायण घिमिरे, सहन्यायाधिवक्ता श्याम भट्टराई र उद्धव पुडासैनी, उपन्यायाधिवक्ता दशरथ पङ्गेनी र प्रधानमन्त्रीका तर्फबाट अधिवक्ता रमेश बडालले बहस गर्दै संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीमा यस्तो अधिकार निहित हुने बताउनुभयो ।

नायब महान्यायाधिवक्ता डा घिमिरेले प्रतिनिधि सभा संसदीय अभ्यासअनुसार राजनीतिक कारणबाट भएको तर्क राख्नुभयो । ‘प्रधानमन्त्रीको निर्णयलाई सदर गर्दा उपयुक्त हुन्छ, त्यो राजनीतिक निर्णय हो’, उहाँले संविधानको धारा ७६ (७) अनुसार विघटन गर्ने अधिकारअनुरूप विघटन भएको जिकिर गर्नुभयो ।  

सहन्यायाधिवक्ता भट्टराईले कसलाई मन्त्री बनाउने वा हटाउने, प्रतिनिधि सभा विघटन गर्ने कि राख्ने भन्ने प्रधानमन्त्रीको अधिकारको कुरा भएको र संविधानले दिएको सीमाभित्र रहेर प्रधानमन्त्रीले आफ्नो शक्ति प्रयोग गर्न पाउने धारणा राख्नुभयो ।  

सहन्यायाधिवक्ता पुडासैनीले प्रतिनिधि सभा विघटनको विषय राजनीतिक भएको र यसमा प्रधानमन्त्रीको अधिकार भएको तर्क राख्नुभयो । ‘यो राजनीतिक प्रश्न हो, यो विघटन राजनीतिक रूपमै भएको हो’, उहाँले थप्नुभयो, ‘अदालत अहिलेसम्म राजनीतिक विवादमा परेको छैन, पाँच वर्षअघि नै प्रतिनिधि सभा विघटन गरेर चुनावमा जाने संवैधानिक व्यवस्था छ ।’ उहाँले नागरिकबाट निर्वाचित भएर सबैभन्दा ठूलो दलको हैसियतले आफूले काम गर्न नपाएपछि प्रधानमन्त्रीले नागरिकमा फेरि जनमत लिन पाउने कुरा कानुनसम्मत रहेको तर्क राख्नुभयो ।  

उपन्यायाधिवक्ता पङ्गेनीले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार भएको जनाउँदै यसलाई बदनियतको दृष्टिले हेर्न नमिल्ने तर्क राख्नुभयो । ‘प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’, उहाँले भन्नुभयो, ‘बदनियतको आरोप लगाउनका लागि कानुन चाहिन्छ, विघटनको निर्णयमा कुनै पनि खालको दुराशय छैन ।’ उहाँले नेपालको संविधानको धारा ७६ (७) मा रहेर प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार स्पष्ट भएको तर्क राख्नुभयो ।

प्रधानमन्त्रीका तर्फबाट अधिवक्ता बडालले संसदीय शासन प्रणालीअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु जायज भएको तर्क राख्नुभयो । ‘जनमतबाट आएको प्रधानमन्त्रीलाई काम गर्न बाधा अवरोध भएमा संसद् विघटन गरी चुनावमा जान सक्ने संवैधानिक व्यवस्था छ’, उहाँले भन्नुभयोे । अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । सोमबार प्रधानमन्त्रीका तर्फबाट बहस हुनेछ । 

शुक्रवार सरकारी पक्षबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी, लोकनाथ पराजुली र खेमराज ज्ञवालीले बहस गर्नुभएको थियो । उहाँहरूले प्रतिनिधि सभा विघटन गर्ने अन्तनिर्हित अधिकार प्रधानमन्त्रीलाई भएको तर्क राख्नुभएको थियो । सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, प्रधानमन्त्रीका तर्फबाट सुशील पन्त, नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डे र नारायण पौडेलले बहस गरिसक्नुभएको छ ।  


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *