देश विदेश

किन आयो उत्तराखण्डमा भयानक बाढी ?

शेयर गर्नुहोस्

बीबीसी । घटना निकै दुर्गमस्थानमा भएकोले गर्दा यसको यकीन कारण अहिलेसम्म थाहा भएको छैन। हिमालयको यो भूखण्डमा करिब एक हजार हिमनदीहरू रहेको हिमनदी विज्ञहरूले बताएका छन्।

विज्ञहरूका अनुसार आइतवारको घटनाको कारणमध्ये सबभन्दा प्रबल सम्भावना चाहिँ तापक्रममा आएको वृद्धिले कुनै विशाल बरफको चट्टान फुट्न पुग्यो र त्यसबाट विशाल परिमाणमा पानी निस्कियो।जसले गर्दा पहिरोहरू आए अनि तिनले चट्टान तथा हिलोमाटो बगाए।

‘हामी खुम्चँदै गरेका हिमनदीबाट छुट्टिएका त्यस्ता बरफका चट्टानलाई ’डेड आइस’ भन्नेगर्छौँ। त्यस्ता बरफका चट्टानमा ठूल्ठूला ढुङ्गापनि रहेका हुन्छन्,’ हालै देहरादूनस्थित भारतीय सरकारी वादिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीका वरिष्ठ भूगर्भविद् डीपी धोबलले बताए।

‘यो एउटा बलियो सम्भावित कारण हो किनभने पानीसँगै धेरै हिलो तथा ढुङ्गापनि बहेर आएको पाइएको छ।’ कतिपय विज्ञहरूले चाहिँ कुनै हिमतालमा पहिरो आएको हुनसक्ने र त्यसकारण हिमताल विस्फोट भइ तेज गतिमा तल्लो तटीय क्षेत्रमा बाढी निम्तिएको हुनसक्ने बताएका छन्।

तर अरूहरूले चाहिँ त्यस्ता कुनै हिमतालबारे जानकारी नभएको उल्लेख गरेका छन्। ‘अचेल कति चाँडो हिमताल बनिसक्छन् भने तपाइँ हामीलाई थाहा पनि नहुन सक्छ,’ डा धोबलले भने।

विश्वव्यापी तापक्रम वृद्धिका कारण हिन्दुकुश हिमालय क्षेत्रमा तीव्र गतिमा हिमनदी पग्लने हुँदा खतरनाक स्तरमा हिमतालहरू विस्तार भइरहेको अनि नयाँ हिमताल निर्माण भइरहेको बताइन्छ।

जब तिनका जलस्तर खतरनाक तहमा पुग्छन् ती ताल फुट्छन् र त्यसबाट तीव्र वेगमा निस्कने पानीले तल्लो तटमा रहेका मानव वस्ती वा भौतिक संरचना ध्वस्त पारिदिन्छन्। सो क्षेत्रमा विगतमा थुप्रैपटक त्यस्ता घटना भएका छन्।

अर्को सम्भावना चाहिँ कुनै हिमपहिरो वा पहिरोले कुनै नदीलाई केही समय थुनेको र पछि जलस्तर बढ्दै गइ अकस्मात खुलेपछि त्यसको पानी तल्लो तटमा ओइरिएको पनि हुनसक्छ। हिमाली क्षेत्रमा त्यसरी पहिरोले नदी थुन्ने अनि अस्थायी ताल बन्ने र पछि त्यो फुट्दा मानववस्ती, अनि पुल र जलविद्युतजस्ता संरचना ध्वस्त हुने घटना भएका छन्।

सन् २०१३ मा केदारनाथ तथा उत्तराखण्डका कतिपय ठाउँमा ठूलो बाढी आएपछि पनि त्यस्ता निकै सम्भावनाको चर्चा भए। ‘केही समयपश्चात् मात्र हामीले त्यसको खास कारण छौराबारी हिमताल विस्फोट हुनु रहेको ठम्याउन सकेका थियौँ,’ डा धोबलले भने।

उत्तराखण्डका अधिकारीहरूका अनुसार आइतवार धौलीगङ्गा नदीमा अकस्मात् आएको बाढीको कारण जान्न उनीहरूले विज्ञहरू खटाउँदैछन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *