देश विदेश

केटु आरोही भन्छनः घरमा हिरो थियौ, विदेशमा थिएनौ, अब विदेशमा पनि भयौं

शेयर गर्नुहोस्

‘माइनस ६५ डिग्रीको चिसोमा पाँचमिनेट मात्र चल्न नसके समस्या आउँथ्यो । खुट्टा, गालामा समस्या आयो । एकपाइला टेक्दा स्याँ–स्याँ र फ्याँ–फ्याँ हुन्थ्यो । यस्तो दुख किन गरेको होला भन्ने लाग्न सक्छ, तर, उद्देश्य, लक्ष्य पूरा गर्न यस्ता काम गर्न सकिन्छ,’ विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटु (८६११ मिटर) आरोहण गरेर हिमाल आरोहणको इतिहास रचेका निर्मल पुर्जा ‘निम्स’ सोमबार पोखरामा अनुभव सुनाउँदै थिए ।

पुर्जा सहितका १० नेपाली आरोही समूहले हालै केटु हिमाल आरोहणमा कीर्तिमान कायम गरेका थिए । विश्वमै ऐतिहासिक रेकर्ड कायम गरेको भन्दै पोखरेली पर्यटन व्यवसायीले उनै आरोही समुहलाई अभिनन्द गर्न आयोजित कार्यक्रममा पुनले भने, ‘अग्ला हिमालको देशको सबै रेकर्ड विदेशीले बनाइसके । नेपालीको नाममा रेकर्ड नरहने अवस्था आएपछि विन्टरमा यो आरोहणको योजना बनाएका हौ ।’

संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेको अवस्थामा नेपाली आरोहीले कीर्तिमानी कायम राख्नकै लागि यो साहस बटुलेको पुर्जाले बताए । ‘विश्वमा १४ वटा ८ हजार मिटर भन्दा अग्ला हिमाल छन् । ती मध्ये ८ वटा नेपालमा छन् । नेपाललाई ८ हजार मिटर अग्ला हिमालको घर भनिन्छ,’ उनले भने, ‘तर १४ मध्ये १३ वटामा विदेशीले रेकर्ड बनाएका छन् । चिसोमा विदेशीले चढे भने बाहिर गएर हाम्रो रेकर्ड केही देखिँदन । हामी जति नै सुकै खोकेपछि विदेशमा चिनिँदैनौ । खै तिमिहरुले के ग¥यौ भन्छन, त्यसैले विश्वमा केही देखाउनु थियो, त्यसका लागि तयार भयौं ।’

‘हामीसँग ८ हजार मिटर अग्ला हिमाल छन् भन्ने मात्र थियो, तर, हाम्रो नाममा रेकर्ड थिएन, उनले भने, ‘हामी घरमा हिरो थियौ, तर विदेशमा थिएनौ । विदेशीले चढेको भए १४ वटै रेकर्ड विदेशीको नाममा रहन्थ्यो, अनि हामीले गर्व गर्ने ठाउँ हुने थिएन । त्यही रेकर्ड कायम गर्न चाहेका थियौ ।’

ब्रिटिस लाहुरेको जागिर छाडेर पुर्जा आरोहणमा लागेका थिए । जागिरबाट निवृत्त हुन ६ वर्ष बाँकी छँदा २०१९ मा उनले जागिर छाडेका थिए । ‘१६ वर्ष जागिर गरेको मेरो पेन्सन पाक्न ६ वर्ष बाँकी थियो । पेन्सन मुखमा आएको बेला जागिर छाडे,’ उनले सुनाए, ‘विश्वमा १४ वटा ८ हजार मिटर माथिका हिमाल ७ महिनामा चढ्ने घोषणा गर्दा मलाई संसारले बहुलायो भन्थे । किनकी ८ वर्षको रेकर्ड ७ महिनामा कसरी तोड्न सक्छ भनेर अरुले पत्याएनन । तर, मैले त्यो लक्ष्य पुरा गर्न आँट गरिसकेको थिए ।’  

आरोहण सफल पार्न सहयोग माग्न जाँदा पनि नपत्याएपछि घर बेचेर योजनामा अघि बढेको उनले बताए । ‘जसरी भएपनि म चढ्नु थियो । सहयोग माग्न जाँदा मलाई दिएनन् । यो काम मेरा लागि थिएन । मेरो व्यक्तिगत लाभ हुने भए यो काम गर्ने थिइन्,’ उनले भने, ‘मैले विश्वलाइ देखाउनु थियो । असम्भव केही छैन भनेर देखाउनु थियो । २०१९ मा सबै सान, पैसा, मान सम्मान छाडेर म केटुको तयारी लागे ।’  

उनका अनुसार केटु आरोहण निकै नै चुनौतीपूर्ण छ । केटुको आरोहणमा जाँदा गर्मिमा पनि प्रत्येक ४ जना आरोही मध्ये १ जना मर्छन । हालै पनि त्यही हिमाल आरोहणका तीनजना बेपत्ता छन् । दुईजनाको यो चिसोमा ज्यान गइसकेको उनले बताए । ‘सजिलो थिएन, आरोहणमा सहभागि १० जना नेपालीको मनमा यो देशका लागि भन्ने भावना उब्जेको थियो,’ उनले भने ।  

विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटु (८६११ मिटर) आरोहण गरेर हिमाल आरोहणको क्षेत्रमा इतिहास रचेका उनै नेपाली आरोहीलाई सोमबार पोखरामा भव्य सम्मान गरिएको छ । आरोहीले गण्डकी प्रदेशको पहिचान बढाएको भन्दै पोखराका पर्यटन व्यवसायीले आरोहीलाई स्वागत गरेका हुन् ।  सोमबार बिहान काठमाडौंबाट जहाजमार्फत पोखरा आएका सबै आरोहीलाई सम्मानस्वरुप बजार परिक्रमा गराइएको थियो । आयोजक पोखरा पर्यटन परिषद् (पिटिसी)ले आरोहीको सम्मानमा कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित: २६ माघ २०७७ १८:४५ सोमबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *