देश विदेश

पोखरा–सिक्लेस खण्डको बिजयपुरमा नयाँ पक्किपुल

शेयर गर्नुहोस्

पोखरा–सिक्लेस सडक खण्ड अन्तर्गतको बिजयपुर खोलामा पुल बनेको छ । पोखरादेखि पर्यटकीय र ऐतिहासिक गाउँ सिक्लेस जोड्ने सडक अन्तर्गत पोखरा महानगरपालिका–१३ र  मादी गाउँपालिका–५ को सिढिंकोमुख गारकाटेस्थित बिजयपुर खोलामा मोटरेबल पुल बनेको हो ।  

दुईवर्ष अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलान्यास गरेको पुलको सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गरे । २५–२५ मिटरको दुईवटा स्पान राखेर बनाइएको यो पुलको लम्बाई ५४.१७ मिटर छ । ११ मिटरको चौडाई रहेको पुलको दायाँ–बायाँ १.५ मिटरको फुटपाथ रहेको छ ।  

८ करोड  १५ लाख १९ हजार रुपैयाँ लागत अनुमान गरिएपनि ५ करोड ७५ लाख २९ हजारमा ठेक्का सम्झौता भएर निर्माण सम्पन्न भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । रायमाझी द क्याराभान जेड.भीले २०७५ असार २१ गते सम्झौता गरेर २०७७ साल असोज १८ गते पुल निर्माण सकेको हो ।  

पुल निर्माण भएसँगै मादीबासी हर्षित भएका छन् । पुल निर्माण भएपछि मादी गाउँपालिकाको पर्यटकीय गाउँ सिक्लेस, ताङतिङ, याङ्जाकोट, खिलाङ, भाचोकबासी मात्र नभई पोखरा महानगरपालिका–२० को मौजालगायतका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने स्थानिय जनप्रतिनिधि हुमनाथ अधिकारीले जानकारी दिए ।  

बिजयपुर खोलामा पुल नबन्दा त्यस क्षेत्रका बासिन्दालाई वर्षामा आवतजावतमा समस्या हुने गरेको थियो । बिजयपुर खोलामा बाढी आएको समयमा कैयौं दिनसम्म पोखरा–सिक्लेस सडकमा गाडी नचल्ने र स्थानियपनि आवतजावत गर्न सक्दैनथे । अब पुल बनेपछि भने  सहज हुने जनप्रतिनिधि अधिकारीको भनाई छ ।

पुल उद्घाटनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले विकास निर्माणको काम तिव्र गतिमा गरिरहेको बताए । उनले ओलीकै नेतृत्वमा देश सुरुङ मार्गमा प्रवेश गरेको भन्दै अबको केही समयपछि रेलको युग पनि शुरु हुने बताए । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम शुरु भइसकेको र त्यसको परिणाम केहि महिनाभित्र देखिने उनको भनाई थियो ।

विकासको काम भइरहँदापनि आफ्नै पार्टीका केहि नेताहरुले नदेखेको भन्दै मन्त्री नेम्वाङले भने, ‘आँखा फुटे झैं विकास नदेख्नेहरुले संसद, सभा र विदेशमा पनि केपी ओलीले काम गरेन भनेर बोल्ने गरेका छन् ।’ विकास, समृद्धि र राष्ट्रियताको पक्षमा अडान राख्दा प्रधानमन्त्री ओलीबिरुद्ध षडयन्त्र गरेर हटाउने प्रयास भएपछि संसद विघटन गर्नुपरेको उनले बताए ।  विघटित प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले चुनाव गर्नु प्रतिगमन नभएको बताए । चुनाव गर्ने व्यक्ति तानाशाही नभएको बताउँदै बरु संसद पुर्नस्थापना गर्नुचाहिं प्रतिगमन भएको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बिजयपुर खोलामा बनेको पुलले मादीमा उत्पादित वस्तु पोखरा बजारसम्म ल्याउन सहज हुने विश्वास व्यक्त गरे । उनले पुल विकास र समृद्धिको बाहक बन्नुपर्ने समेत बताए । महानगर प्रमुख जिसीले कैयौं ठेकेदारहरुले सम्झौता अनुसार पुल नबनाएको भन्दै तिनिहरुलाई विकासका धमिरा भएकोले उनीहरुलाई कारवाहि गर्न मन्त्रीको ध्यानाकर्षण गराए । मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङले बिजयपुर खोलामा पुल बनाउने मादीबासीको सयौं वर्षदेखिको सपना अहिले पुरा भएको बताए । 

प्रकाशित: २६ माघ २०७७ १७:३५ सोमबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *