देश विदेश

कोभिड–१९ महामारीले सीमा नीतिलाई पुनर्विचार गर्न सुझाएको छ : गृहमन्त्री थापा

शेयर गर्नुहोस्

 माघ २६, काठमाडौँ (रासस) । गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय सीमासम्बन्धी नीतिलाई पुनर्विचार गर्न झक्झक्याएको बताउनुभएको छ ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु विषयक दुई दिवसीय गोष्ठी समापन समारोहमा उहाँले सीमालाई अझ बढी नियन्त्रित र नियमन गरिनुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा जङ्गीअड्डा र सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा आयोजित उक्त गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्नुभएको थियो । 

आन्तरिक छलफल र विज्ञबाट प्राप्त सुझावले सुरक्षासम्बन्धी नीति निर्माण र सीमा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव प्रस्तुत गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको थियो ।

सो अवसरमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले सीमा सुरक्षालाई थप प्रभावकारी तुल्याउन विभिन्न विषयमा आधारित भई गरिएको कार्यक्रमले सीमा सुरक्षासँग सम्बन्धित सैद्धान्तिक र व्यावहारिक पक्षलाई समेटेर सुझाव र निष्कर्ष प्रस्तुत भएको बताउनुभयो ।

शान्ति, द्वन्द्व र असाधारण परिस्थितिमा सीमा व्यवस्थापनका विविध पक्ष र सम्बद्ध  विभिन्न निकायको भूमिकाका  विषयमा केन्द्रित रही कार्यक्रममा बृहत्तर र गहन छलफल भएको बताइएको छ । पहिलोपटक आयोजना गरिएको उक्त गोष्ठीबाट प्राप्त निष्कर्ष सीमा व्यवस्थापनका लागि अत्यन्तै महत्वपूर्ण दस्तावेजका रुपमा रहनेछ । 

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षा र सरकारले उच्च प्राथमिकतामा राखेका विषयलाई चुस्त र थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, संशोधन, परिमार्जन एवं सुरक्षा व्यवस्थापनको व्यावहारिक पक्षलाई समेटेर समाधानका उपायका लागि सुझाव पेश गर्न आयोजित कार्यक्रम निकै फलदायी साबित भएको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसँग सम्बन्धित सबै मन्त्रालय र निकायका विशिष्ट श्रेणीका अधिकृत र उच्च  सैनिक अधिकृत सहभागी हुनुुुहुन्थ्यो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *