देश विदेश

निर्माण सम्पन्न भएको वर्ष दिनमै चर्कियो भवन

शेयर गर्नुहोस्

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–८ कुनाथरीस्थित सरस्वती आधारभूत विद्यालयको दुई कोठे भवन निर्माणका लागि २०७६ वैशाख २६ गते सम्झौता भयो । आर्थिक वर्ष सकिनै लाग्दा उक्त भवन तीन महिना अर्थात असार मसान्तमै सक्नु पर्ने स्थिति बन्यो । जिल्ला समन्वय समितिको २५ लाख अनुदानमा निर्माण हुने भवन एक महिन (जेठ २७ गते) मा सम्पन्न भयो । हेर्दा भवन चिटिक्क छ । उस्तै सुन्दर पनि । बाहिरी हेराइबाट राम्रो र बलियो देखियो तर हेराइले मात्र त्यसको गुणस्तरता मापन गर्दै भनेझैं उक्त भवन निर्माण भएको वर्ष दिनमै चर्किएको छ ।

अहिले उक्त भवन झ्यालको साइडबाट चर्किएको छ । गुणस्तरहीन सामग्री र मापदण्डअनुसार भवन निर्माण नहुँदा विद्यालयको भवन चर्किएको स्थानीय शेरबहादुर पौडेलले जनाए । ‘आर्थिक वर्षको अन्तिममा रकम आउँदा राम्रोसँग काम नहुन पाएन,’ उनले भने, ‘जसको फलस्वरुप वर्ष दिनमै भवन चर्कियो ।’ असारे विकासले गर्दा भवनको वर्षदिनै जिर्ण बनेको उनको भनाइ छ । ‘भवन निर्माण गुणस्तरीय नहुँदा चर्किएको हो,’ उनी भन्छन् । यता विद्यालयका प्रधानाध्यापक छबिलाल गौतमले हिउँदमा आएको भुमरीले विद्यालयको भवन चर्किएको बताए । ‘ठूलो हावाहुरीसहित आएको भुमरीले क्ष्यति पु¥यायो,’ उनले भने, ‘झन्डै भवन भत्काएन । चर्कियो मात्र ।’ झ्याल ढोका लगाएकाले विद्यालय भवन नभत्किएको भन्दै उनले भने, ‘झ्याल ढोका खुला भएको भए भवनै भत्काइदिन्थ्यो ।’

भवन चर्किए पनि जोखिम नभएकाले उक्त भवन प्रयोग भइरहेको छ । भवन चर्किएको मात्र छैन, भवनको छानो तलमाथिसमेत भएको छ । जग (घर बनाउँदा जमिनमुनिको गारो लगाउने ठाउँ) राम्रोसँग बनाउँदा र ढुंगा नबिछ्याउँदा भवन चर्किएको हुन सक्ने स्थानीय शेरबहादुरले बताए । प्राविधिक मापदण्डअनुसार सामान्यतया जग खन्ने, जग निर्माण भइसकेपछि ढुंगा बिछ्याउने, त्यसको माथि पीसीसी (बालुवा, सिमेन्ट, गिठ्ठीसहितको मसला हाल्ने) गर्ने गरिन्छ । त्यसपछि पर्खाल निर्माण गर्ने र झ्यालको भागमा आरसीसी गर्नुपर्छ । जसले भवन चर्काउन र ढल्नबाट जोगाउँछ । तर त्यसरी भवन निर्माण नहुँदा भवन निर्माण भएको छोटो समयमै चर्किएको कतिपयको भनाइ छ ।  

जिल्ला समन्वय समितिको २५ लाख रुपैयाँ अनुदानमा बराहताल गाउँपालिकाले उक्त भवन निर्माण गरेको थियो । भवन निर्माणको सम्झौता २०७६ वैशाख २६ गते भएको थियो । उक्त भवन सोही वर्षको जेठ २८ गते अर्थात् एक महिनामै भवन निर्माण सम्पन्न भएको थियो । असार मसान्तभित्र भवन निर्माण सकिनुपर्ने समयसीमा थियो । असारे विकासले गर्दा पनि भवन गुणस्तरहीन निर्माण भएको स्थानीयको भनाइ छ । असारमा गुणस्तरीय कामभन्दा पनि बजेट सिध्याउने परम्पराको यो एउटा गतिलो उदाहरण भएको उनीहरु बताउँछन् । यस भवनमा स्थानीयले पाँच लाख ३४ हजार पाँच सय ३२ रुपैयाँ जनश्रमदान गरेको भवन निर्माण सम्पन्न प्रतिवेदनमा उल्लेख गरिएको छ । समयमै रकम आएर योजना भए संरचना गुणस्तरीय बन्ने स्थानीय बताउँछन् ।

प्रकाशित: २७ माघ २०७७ १६:०९ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *