धेरैमाथि
टुल्की धुरुधुरु रुन थालेकी थिइन्। उनका साथमा उनका पति पनि थिए। दुवै सत्तरी वर्ष कटेका। जाडोको मौसम। लुगलुग काम्दै अगेनाछेउमा बसेका थिए। आगाको भुम्रोबाट आउने तातोको पर्खाइमा। केही समय आराम गरेर हेरियो । घरमा अरू कोही भए जस्तो लागेन । अनि सोधनी भयो–घरमा अरू कोही छैन ?
– अहिले कोही पनि छैनन्। दुवैबाट जवाफ आयो।
– छँदै छैनन् !
– छन् त छन्। दुई छोरा छन्। दुई जना बुहारी छन् । दुवैका दुईदुई गरेर चार जना नातिनातिनी पनि छन्।
मैले बाहिर निस्किएर गोठतिर हेरेँ। एउटा भैँसी थियो । दुई वटा बाख्रा थिए। आँगनमा चार वटा कुखुरा चरिरहेका थिए। मान्छे भने देखिएनन्। यस्तो देखेपछि सोध्नै पर्ने लाग्यो।
– खोई त छोराबुहारी र नातिनातिनी ?
– नातिनातिनीहरूलाई पढाउन भनेर बुहारीहरू पोखरामा बसेका छन् । छोराहरू प्रहरीमा जागिर खान्छन्। निकै प्रगति गरेका छन्।
– खाने खर्च !
–छोराहरूले बुहारीहरूलाई पठाइदिन्छन् । हामीहरूलाई बुहारीहरूले ल्याइदिन्छन्।
–छोराहरू भेट्न आइरहन्छन् नि।
– कहाँबाट आउनु ! सत्र वर्ष भयो भेट नभएको । विद्रोही पार्टीद्वारा प्रहरी चौकीमाथि बमबारुद गरियो । छोराहरूलाई उडाइदियो धुवाँ बनाएर धेरैमाथितिर।
प्रकाशित: २८ माघ २०७७ १६:१५ बुधबार
श्रोत: नागरिक