देश विदेश

चिनी उद्योगले उखु पाउनै छोडे

शेयर गर्नुहोस्

एकदशक अघिसम्म पश्चिम नवलपरासीमा ३२ लाख क्विन्टल उखु उत्पादन हुन्थ्यो । जिल्लाका तीनवटा चिनी उद्योगले तीनमहिना लगातार उखु क्रसिङ गर्थे । करिब २ लाख ८८ हजार क्विन्टल चिनी उत्पादन हुन्थ्यो । तर चिनी उद्योगीको लगातारको दादागिरी र सरकारी उदासिनताले अहिले उखु किसानलाइ मात्रै हैन चिनी उद्योगलाइ पनि धरासायी बनाएको छ । उद्योगीको दादागिरीबाट आजित भएका किसानले उखु खेती मासेका छन् । भएकाले पनि उद्योगलाइ उखु दिनै छाडेका छन् ।

जसका कारण यहाँका तीनवटा चिनी मिल संचालन हुन सकिरहेका छैनन् । सुस्तामा रहेको बाग्मती सुगर मिलले मंसिर दोश्रो साता देखि क्रसिङ सुरु गरेको थियो । तर प्रयाप्त उखु नपाएपछि एकसाता नहुँदै मिल बन्द गरियो । क्रसिङको सूचना किसानका घरघरै पु¥याउदा पनि अधिकाँश किसानले भेली उद्योगलाइ उखु बेचिदिए । उखु नै नपाएपछि उद्योग नियमित रुपमा चलाउन नपाएको बाग्मती सुगर मिलका महाप्रबन्धक टंकनाथ काफ्लेले बताए ।

दैनिक १५ हजार क्विन्टल उखु क्रसिङ क्षमताको उद्योगले तीन महिनामा जम्मा २ लाख ४५ हजार क्विन्टल क्रसिङ गरेको छ । पोहोर यो उद्योगले ७ लाख ७० हजार क्विन्टल क्रसिङ गरेको थियो । ‘यसपाली उखु प्रयाप्त नपाएपछि उद्योग बन्द गर्दै चलाउँदै गरेका छौं,’ महाप्रबन्धक काफ्लेले भने । उनका अनुसार पूर्ण क्षमतामा उद्योग चलाउन नपाउँदा उत्पादन लागत बढ्छ ।

नवलपरासीको सुनवलमा लुम्बिनी चिनी कारखाना र प्रतापपुरमा इन्दिरा सुगर मिल छ । यी दुइ उद्योग पोहोर चलेनन् । यी उद्योगले दुइवर्ष अघिकै उखुको भुक्तानी अझै पुरा दिएका छैनन् । तीन बर्ष अघिकै भुक्तानी नदिएर सताएपछि किसानले पनि भएको उखु भेली उद्योगलाइ उखु बेचिदिए । इन्दिराले बर्षौदेखि किसानलाइ प्रताडित गर्दै आएकाले प्रतापुर क्षेत्रका किसान रुष्ट भएको उखु किसान विश्वबन्धु यादवले बताए । ‘इन्दिराले किसानलाइ साह्रै रुवायो । कहिल्यै समयमा पैसा दिएन । आफ्नै पैसा माग्दा हामीलाइ नै धम्की दिइयो, धेरै सहयौं अब सहदैनौ,’ यादवले भने ।

सुनवलको लुम्बिनी चिनी मिलको उधारो कारोबारले पनि किसान बर्षौदेखि पीडित छन । सरकारले तोकेको मुल्य समेत नदिएर सताएपछि मिल गेट एरीयाका किसानले उखु मासेर अन्य बाली लगाएका छन् । सुनवलका किसान ज्ञानचन्द्र यादवले वर्षौसम्म भुक्तानी नपाएपछि सुनवलका किसानले उखु मासेर अन्य बाली लगाएको बताए । ‘धेरैले उखु मासिसके, भएकाले पनि लुम्बिनीलाइ उखु नदिने भनेर भेली उद्योगलाइ बेचिदिए,’ यादवले भने ।

२०७५ सालमा २ लाख क्विन्टल बढी उखु क्रसिङ गरेको लुम्बिनीले यो वर्ष क्रसिङ गर्छु भन्दा पनि उखु पाएको छैन । मिल गेट एरीयाको उखु मासिएपछि नवलपरासीकै प्रतापुर क्षेत्र र कपिलबस्तुबाट उखु ल्याउने तयारी छ । आफ्नो क्षेत्रमा उखु नपाएपछि उसले प्रतिक्विन्टल ५२५ रुपैयाँ नगदमा खरिद गर्ने भनेको छ । तर किसान भने अझैपनि उसलाइ उखु दिन राजी छैनन । लुम्बिनी चिनी उद्योगका महाप्रबन्धक केशव आर्चायले टाढाबाट ल्याउँदाको ढुवानी खर्च सहित प्रतिक्विन्टल ५२५ रुपैयाँ नगदमा उखु खरिदको तयारी भइरहेको बताए ।

महाप्रबन्धक आर्चायले उद्योगको स्वामित्व र व्यवस्थापन परिवर्तन भएकाले अव नयाँ योजनाका साथ गती लिने दावी गरे । ‘गुमेको विश्वासलाइ फर्काएर उखु खेती बिस्तारका लागि किसानसँग सहकार्य गर्दैछौ,ं’ आर्चायले भने । मिल गेट एरियाका किसानलाइ पुनः उखु खेतीमा फर्काउन सिड लोन अर्थात उन्नत बिउ कार्यक्रम सुरु गरेको उनले जानकारी दिए । उद्योगले प्रदान गरेको बिउले उत्पादन दिन थालेपछि बिउ बराबरको परिमाण किसानले उद्योगलाइ दिएपछि सिड लोन चुक्ता हुनेछ ।

सरकार र चिनी उद्योग दुवैबाट ठगिएपछि किसानले धमाधम उखु खेती मासेका छन । पोहोर साढे ७ हजार हेक्टरमा लगाइएको उखु यो बर्ष घटेर जम्मा ५ हजार हेक्टरमा सिमित भएको छ । उखु लगाएकाहरुले पनि भेली बनाउने उद्योगलाइ उखु बेचेका छन । भेली उद्योगले प्रतिक्विन्टल ५२० रुपैयाँ नगदमा उखु खरिद गरिदिए पछि किसानहरु त्यतातिर आकर्षित भएका हुन ।

उखु उत्पादन घट्दै जाँदा त्यसको असर चिनी उत्पादनमा पर्ने निश्चित छ । यस्तै अवस्था रहिरहे ३÷४ बर्षमा चिनी उद्योगहरु धरशायी हुने निश्चित छ । जसले २०७२ सालमै आत्मनिर्भर भएको भनिएको चिनी उत्पादनलाइ फेरि परनिर्भता तर्फ धकेल्नेछ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *