देश विदेश

रामकुमारी पक्राउ शीर्ष नेता तर्साउन

शेयर गर्नुहोस्

सरकारले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेको पाँच घण्टापछि रिहा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि नेत्री झाँक्रीलाई राज्यविरुद्ध कसुरको आरोप लगाएर पक्राउ गरिएको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले उनलाई पाँच घण्टा प्रहरी कार्यालयमा राखी लिखित बयान लिएर छाडेको छ।

झाँक्रीको पक्राउपछि अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार अनुदार भएको टिप्पणी भइरहेको छ। झाँक्रीको पक्राउलाई लिएर सबैजसो राजनीतिक दलले सरकारी रबैया अव्यिक्ति स्वतन्त्रताप्रति कठोर देखिएको भन्दै आलोचना गरेका छन्। झाँक्रीलाई पक्राउ गरेर सरकारले शीर्ष नेताहरूलाई तर्साउन खोजेको आरोपसमेत लागेको छ। ‘झाँक्रीको पक्राउ सामान्य विषय होइन। यसले अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी अंकुश देखाएको छ भने शीर्ष नेताहरूलाई समेत तर्साउन खोजेको आभास हुन्छ तर यस्तो रबैया धेरै दिन टिक्दैन’, नेकपाका एक उच्च नेताले भने। उनको यो भनाइलाई पुष्टि गर्दै कानुनविद् भीमार्जुन आचार्यले राज्य आतंक भएको बताए। ‘यो राज्य आतंक हो। झाँक्रीलाई पक्राउ गर्न गाली बेइज्जती ऐन आकर्षित हुनुपर्नेमा राज्यविरुद्धको अपराधसम्बन्धी कानुनी दफा लगाइएको छ, जुन लगाउन मिल्दैन। यो तर्साउन प्रयोग गरिएको दफा हो। कसैको मान मर्दन भए गाली बेइज्जती ऐन अलग्गै छ’, कानुनविद् आचार्यले भने।

राष्ट्रपतिको मानमर्दन गरेको आरोपमा पक्राउ परेकी नेत्री रामकुमारी झाँक्रीले रिहा भएपछि व्यक्तिको आचरणविरुद्ध बोलिरहने दोहोर्‍याउँदै आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको र प्रतिगमनकारीहरूको झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिइन्।

नेत्री झाँक्रीले गोरखामा एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर उनलाई पक्राउ गर्न केही दिनअघिदेखि नै प्रहरीलाई दबाब परेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छामा झाँक्रीलाई पक्राउ गर्न दबाब दिइएको थियो। ‘प्रधानमन्त्रीकै निर्देशन छ भन्ने आएपछि हामीलाई पक्राउ गर्न दबाब परेको थियो’, प्रहरी प्रधान कार्यालय उच्च स्रोतले भन्यो। झाँक्रीको पक्राउपछि दिउँसोतिर बालुवाटारबाटै छाड्न निर्देशन दिइएको थियो। ‘उहाँलाई हामीले ल्याएर सोधपुछ गर्‍यौं तर बालुवाटारबाटै छाड्न निर्देशन आयो, साँझ घर लगेर छाड्यौं’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

रिहा भएपछि नेत्री झाँक्रीले व्यक्तिको आचरणविरुद्ध बोलिरहने बताएकी छन्। उनले आफूलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको बताइन्। उनले प्रतिगमनकारीहरूको झुक्ने प्रक्रया सुरु भएको दाबीसमेत गरिन्। राष्ट्रपतिको मानमर्दन गरेको आरोपमा पक्राउ परेकी झाँक्रीले संवैधानिक राष्ट्रपति संस्थाप्रति मेरो सधैं सम्मान छ र भोलि पनि रहेनछ भन्ने लिखित बयान दिएकी थिइन्। ‘सम्मानित राष्ट्रपति संस्थाप्रति मेरो हिजो पनि सम्मान थियो, आज पनि छ र भोलि पनि रहनेछ’ भन्ने लिखित बयान दिएपछि उहाँलाई घरमै लगेर छाडियो’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने।

उनलाई छाड्नुअघि प्रहरीले झाँक्रीलाई जिम्मा लिन नेताहरूलाई बोलाएको थियो। तर नेताहरूले झाँक्रीलाई निःसर्त छाड्नुपर्ने अडान राख्दै जिम्मा नलिने बताएका थिए। त्यसपछि प्रहरीले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई फोन गरेर घरमा लगेर छाडिदिने बताएको थियो। झाँक्रीको पक्राउपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई महाशाखा पुगेर भेटघाट गरेका थिए। उनीहरूले प्रहरीसँग पक्राउ गर्नुको कारणबारे जानकारीसमेत लिएका थिए। उनीहरूले झाँक्रीलाई निःसर्त रिहा गर्न प्रहरीलाई आग्रह गरेका थिए।

घटनाको विरोध गर्दै नेकपा दाहाल–नेपाल समूहले नेत्री रामकुमारी झाँक्रीको पक्राउले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको जनाएको छ। झाँक्री पक्राउ परेको केही समयपछि पार्टी प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले पार्टी आश्चार्यचकित भएको उल्लेख छ। ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैन भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनलाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन,’ विज्ञप्तिमा उल्लेख छ। सो समूहका युवा विद्यार्थी संगठनले बेलुकी ४ बजे झाँक्रीको रिहाइका लागि प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले लाठीचार्ज गरेको थियो। झाँक्रीलाई पक्राउ गर्न शंखमूलस्थित उनको निवासमा पुगेका प्रहरीसँग पनि दाहाल–नेपाल समूहका कार्यकर्ताको सामान्य झडप भएको थियो।

प्रहरीले बयान लिने क्रममा झाँक्रीले गोरखाको कार्यक्रममा बोलेको भिडियो पनि देखाएको थियो। ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु– निर्वाचनको तयारीका लागि सुख सुविधा, ऐस–आराम छाडेर, शीतलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु,’ झाँक्रीले गोरखामा भनेकी थिइन्। यसपछि नेकपा ओली समूहको अनेम संघले गृहमन्त्री रामबहादुर थापालाई भेटेर पक्राउ गर्न माग गरेको थियो। काठमाडौबाहिर रहेकाले उनलाई यसअघि पक्राउ नगरेको भए पनि बुधबार पक्राउ गर्ने तयारी थियो। तर बुधबार दाहाल–नेपाल समूहको विरोध सभा भएकाले प्रहरीले उनलाई पक्राउ गरेन। बिहीबार बिहान महाशाखाका प्रमुख थापाले फोनबाट आफैं उपस्थित हुन झाँक्रीलाई आग्रह गरेका थिए। झाँक्रीले पक्राउ पुर्जी लिएर आउन भनेपछि पक्राउ पुर्जी जारी गरेर गिरफ्तार गरी महाशाखा पु¥याइएको हो। उनलाई पक्राउ गरेपछि राष्ट्रिय मानवअधिकार आयोगको टोलीसमेत महाशाखा पुगेको थियो।

झाँक्रीलाई पक्राउ गरेपछि नेताहरूले सरकारको चर्को आलोचना गरेका थिए। नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले झाँक्रीको पक्राउपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा द्वन्द्व निम्त्याउन लागिपरेको बताएका थिए। उनले पूर्वरानी ऐश्वर्यसँग जोडिएको घटना स्मरण गर्दै त्यति बेला रानीलाई गाली गर्दा पनि कोही कसैले पक्राउ पर्नुनपरेको बताएका थिए। ‘हिजो राजा वीरेन्द्रकी श्रीमती ऐश्वर्यलाई पम्फादेवीको बैंक खाता भनेर त्यत्रो नारा लगाएका होइनन् ? बोलेका होइनन् ? कोही मान्छे गिरफ्तार भएका थिए ? आज त राष्ट्रपतिमाथि खासै बोलिएको केही पनि होइन,’ अध्यक्ष नेपालले भने, ‘बोल्न पनि नपाउने ? घुम्न पनि नपाउने ? मुखमा टेप लगाएर बस्नुपर्ने ?’

समूहका अर्का अध्यक्ष पुष्पकमल दाहालले नेत्री झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका थिए। ‘कमरेड रामकुमारी झाँक्रीलाई पुलिसले हिजोबाटै पक्राउ गर्न खोजेको थियो। तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरियो,’ उनले भने। आफूहरूले हिजोदेखि बिहानसम्म रोक्न प्रयास गरे पनि जबर्जस्ती पक्राउ गरेको उनको भनाइ थियो। ‘झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको हमला हो जसले लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचारहरू राख्ने काम गर्‍यो, विचारमाथि लोकतन्त्रमाथि ताला लगाउन उहाँलाई पक्राउ गरिएको हो’, दाहालले भने।

समूहका वरिष्ठ नेता झलनाथ खनालले झाँक्रीलाई तत्काल रिहा नगरे कडा प्रतिकार गर्ने चेतावनी दिएका थिए। ‘झाँक्रीलाई पक्राउ गर्नु लोकतन्त्रविरुद्ध अर्को सर्मनाक घटना हो’, वरिष्ठ नेता खनालले भने। उनले तूरुन्तै रिहा हुनुपर्ने नत्र बाध्य भएर आन्दोलन गर्नुपर्ने बताएका थिए।

यस्तै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले रामकुमारी झाँक्री पक्राउ परेको विषयमा ओली सकारको काल आएको टिप्पणी गरेका थिए। ‘ओली सरकारले राष्ट्रपतिबारे अभिव्यक्ति दिएकै आधारमा युवा नेत्री रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ। नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ। संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने’, उनले प्रश्न गरेका थिए।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन्। ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नांगो हस्तक्षेप गरेको छ,’ उनले भनेका छन्।

नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराइले रामकुमारीलाई पक्राउ गरेर राष्ट्रपतिलाई धुलीसात पारेको टिप्पणी गरे। ‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरूले नै राष्ट्रपतिलाई धुलिसात पार्ने भए। राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर’, उनले भनेका थिए।

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेलाई प्रश्न गर्न पाइने बताउँदै रामकुमारी झाँक्रीको पक्राउप्रति तीव्र असन्तुष्टि जनाएका थिए। उनले अभिव्यक्ति स्वतन्त्रतालाई बन्धक बनाउन खोजेको समेत बताए। ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजले, अहिले राष्ट्रपतिले। सरकार झ्यालखानाको संख्या थप किनकि सत्यको पक्षमा बोल्न मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन’, थापाले भने।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *