देश विदेश

पाँचथरको सदरमुकाम फिदिममा एकैसाथ तीन आयोजनाको शिलान्यास

शेयर गर्नुहोस्

फागुन १, पाँचथर (रासस) । पाँचथरको सदरमुकाम फिदिममा आज एकैसाथ तीनवटा आयोजनाको शिलान्यास गरिएको छ । फिदिम बजारभित्र निर्माण हुन लागेको फिदिम रङ्गशाला, बजारभित्रका सडकको कालोपत्र तथा फिदिम माध्यमिक विद्यालयको १२ कोठे भवनको आज आयोजित कार्यक्रममा शिलान्यास गरिएको हो ।

सङ्घीय सरकारबाट स्वीकृत कार्यक्रमअनुसार निर्माण शुरु भएका आयोजनाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गर्नुभयो । फिदिम बजारभित्र रहेको फिदिम खेल मैदानलाई रङ्गशालाका रूपमा विकास गर्ने कार्यको मन्त्री नेम्वाङले शिलान्यास गर्नुभयो ।

राष्ट्रिय खेलकूद परिषद्का इञ्जिनीयर राजेश श्रेष्ठका अनुसार रु १५ लाख ६६ हजार कूल लागत रहेको रङ्गशाला निर्माणको ठेक्का पिएस–किरातेश्वर–मैनाचुली जेभीले रु. १० करोड ६३ लाख ७५ हजारमा लिएको हो । गत माघ २५ गते भएको सम्झौताअनुसार रङ्गशाला आगामी १७ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

रङ्गशालामा प्यारापिट ब्लक, प्रशासकीय भवन, ९३ मिटरमा व्यावसायिक सटर र शौचालयसमेत निर्माण हुनेछ । रङ्गशाला शिलान्यास कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकूद परिषद् सदस्य एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काले नेपाली झण्डा विश्वमा फहराउने कार्यका लागि यो शिलान्यास उद्गम कार्य भएको बताउनुभयो । उहाँले खेलकूद क्षेत्रमा सरकारी लगानी अझै बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै फिदिममा नयाँ शहर आयोजना कार्यालयबाट बजारभित्रका मुख्य सडकको कालोपत्र गर्ने कार्यको शिलान्यास गरिएको हो । सो कार्यालयबाट सञ्चालन हुने योजनाअनुसार रु चार करोड १८ लाख कूल लागतमा फिदिम बजारभित्रका मुख्य सडकहरुको कालोपत्र तथा स्तरोन्नति हुन लागेको हो । आगामी छ महिनाभित्र बजारभित्रका मुख्य सडकको कालोपत्रको ठेक्का रु तीन करोड पाँच लाख ८६ हजारमा भइसकेको नयाँ शहर आयोजना कार्यालयका प्रमुख विश्वराम प्रजापतिले जानकारी दिनुभयो ।

यस्तै झण्डै दुई हजार २०० विद्यार्थी अध्ययनरत फिदिम माध्यमिक विद्यालयमा अत्याधुनिक १२ कोठे भवन निर्माण कार्यको शिलान्यास गरिएको हो । रु ती करोड पाँच लाख कूल लागत रहेको भवन निर्माणको ठेक्का अधिकारी–खनाल जेभीले रु दुई करोड तीन लाखमा प्राप्त गरेको हो ।

नमूना विद्यालय निर्माण कार्यक्रमअन्तर्गत यस विद्यालयमा सूचना सञ्चार–प्रविधि प्रयोगशालासहितका संरचना निर्माण भइरहेको विद्यालयका प्रधानाध्यापक विनोदकुमार ठाकुरले जानकारी दिनुभयो । सो भवन एक वर्षभित्र निर्माण पूरा गर्ने सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि दिननाथ अघिकारीले बताउनुभयो ।

तीनवटै आयोजनाको शिलान्यास समारोहमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले पूर्वाधार विकास र जनतालाई सहज सेवा दिने कार्य कुनै पनि बाहनामा रोकिन नहुने बताउनुभयो । फिदिम खेल मैदानलाई रङ्गशालाका रूपमा विकास गर्ने कार्य आफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको बताउँदै मन्त्री नेम्वाङले आफैँले रङ्गशालाको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले पूर्वाधार निर्माण कार्यलाई घोषित निर्वाचनले कुनै असर नगर्ने बताउनुभयो ।

सबै आयोजना समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्दै मन्त्री नेम्वाङले विकास निर्माणको अभियानबाट कोही बिचलित हुन वा आत्तिन नहुने बताउनुभयो । “पूर्वाधार विकासको गति अगाडि बढ्दा केही मान्छेलाई छटपटी भएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “जनता खुशी भएपछि नेता कार्यकर्ता पनि दलीय सोचबाट माथि उठेर खुशी हुनुपर्छ ।”

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *