देश विदेश

ग्रामथानमा ‘किताबको कुना’ बन्यो, तर पालिकाले सम्हालेन

शेयर गर्नुहोस्

विद्यार्थीलाई पढाइमा रुची जगाउने उद्देश्यले रंगीचङ्गी चित्रसहितका किताब राख्न मोरङको ग्रामथान गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा ‘किताबको कुना’ कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय तहसँगको समन्वयमा किताबको कुना कार्यक्रम वल्र्डभिजन इन्टरनेशनलको प्राविधिक सहयोगमा राष्ट्रिय सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हो ।

गत वर्षदेखि मोरङको ग्रामथानमा किताबको कुना कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । सुरुवादमा सबै विद्यालयहरूका कक्षा ३ सम्मका कक्षाकोठामा किताबको कुना स्थापना गरिएको भएपनि यतिबेला अधिकांश विद्यालयमा किताबको कुना नै छैन । किताबको कुना कार्यक्रमलाई विद्यार्थीले रुचाएको भए पनि विद्यालयले पूर्वाधार निर्माण र किताब व्यवस्थापनमा चासो नदिँदा ग्रामथानका अधिकांश विद्यालयका कक्षाकोठाका कुनाका किताब यतिबेला रित्तिएका छन् ।

ग्रामथान गाउँपालिका –२ पिडारवनी स्थित वीरेन्द्र माध्यामिक विद्यालयका आधारभुत तहका कुनै पनि कक्षाकोठाका कुनामा किताब छैनन् । विगतमा राखिएका पुस्तकहरू पनि कहाँ पुगे भन्ने लेखाजोखा छैन । विद्यालयका शिक्षक कृष्णचन्द्र गच्छदारका अनुसार विद्यालयमा पूर्वाधार नभएका कारण किताबको कुना कार्यान्वयन नभएको बताए । विगतमा विद्यालयको कक्षाकोठाका डोरीमा झुण्ड्याएर राखिएका किताबहरू पनि व्यवस्थापनको अभावमा विद्यार्थीहरूले च्याती सकेको सुनाए । ‘कक्षाकोठाको कुनामा डोरीझुण्ड्याएर किता राखेका थियौं’गच्छदारले भने ‘धेरैजसो किताब विद्यार्थीले च्याते, केही दराजमा थन्क्याएका छौं ।’ किताबको कुना कार्यक्रम दिगो रुपमा सञ्चालन गर्न विद्यालयसँग कुनै योजना नरहेको गच्छदारले बताए । उनले भने, ‘पूर्वाधार, जनशक्ति र बजेटबिना किताबको कुना कार्यक्रम सञ्चालन गर्न नसकिने भएकाले विद्यालयले दिगो रुपमा कार्यक्रम संचालनका लागि कुनै योजना बनाएको छैन ।’

ग्रामथान वडा नम्बर २ मा मात्रै हैन वडा नम्बर –१ लखन्तरी स्थित वीरेन्द्र माध्यामिक विद्यालयको हालत पनि उस्तै छ । विद्यालयमा स्थापना गरिएको आधारभूत तहका कक्षा कोठाको किताबको कुना यतिबेला किताबविहीन भएको छ । कोरोनाकालमा विद्यालयमा क्वारेन्टिन संचालन गर्दा कक्षा कोठाका किताब कता पुगे भन्ने पत्तै नभएको विद्यालयका प्रधानध्यापक मनोज रम्तेलले बताए । ‘कोरोनाकालमा विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएको थियो’ उनले भने ‘किताबहरू कता पुगे पत्तै छैन ।’ किताबको कुना स्थापना गर्दा विद्यालयले ५० वटा किताब किनेको थियो । त्यसमा परियोजना संचालन गर्ने गैरसरकारी संस्थाले १ सय ५० वटा किताब अनुदानमा दिएको थियो । तर, पूर्वाधारको कमी, बजेट अभाव र स्थानीय तहले ध्यान नदिंदा किताबको कुनाकार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको प्रधानअध्यापक रम्तेलले बताए ।

यता ग्रामथान गाउँपालिकाले विद्यालयमा सञ्चालित किताबको कुना कार्यक्रमलाई बेवास्ता गरेको पाइएको छ । गाउँपालिकाले ‘किताबको कुना’ दिगोपनाका लागि कुनै योजना बनाएको छैन । केही समय पहिले कार्यक्रमको प्रभावकारिताबारे अनुगमन गर्नेबाहेक गाउँपालिकाबाट कुनै काम गर्न नसकिएको ग्रामथान गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीमप्रसाद न्यौपानेले बताए । अनुगमनका क्रममा केही विद्यालयले राम्रोसँग संचालन गरेको पाइए पनि अधिकाशं विद्यालयले सञ्चालन गर्न नसकेको न्यौपानेको भनाइ छ । उनले भने, ‘केही विद्यालयबाहेक अधिकाशंले किताबको कुना सञ्चालन गर्न सकेका छैनन् ।’

किताबको कुना कार्यक्रमको दिगोपनाका लागि गाउँपालिकाले पनि ध्यान दिन नसकेको न्यौपानेले स्वीकार गरे । उनले भने, ‘शिक्षामा बजेट नै थोरै भएकाले ‘किताबको कुना’ कार्यक्रमको दिगोपनाका लागि गाउँपालिकाले कुनै पनि योजना बनाउन सकेको छैन ।’ नेपाल सरकारले विद्यालय शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्न, शिक्षाको गुणस्तर सुधार गर्न र कक्षाकोठामै विद्यार्थीका लागि पुरक सामग्रीको व्यवस्था गर्ने उद्देश्यले ‘कितावको कुना’ को अवधारणा अघि सारेको थियो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *