देश विदेश

अन्तरिक्षबाट हैजाको महामारीबारे भविष्यवाणी गर्न सकिने!

शेयर गर्नुहोस्

बीबीसी । वैज्ञानिकहरूले मौसम सम्बन्धी भूउपग्रह र आर्टिफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता)को सहायताले अन्तरिक्षबाट हैजाको भविष्यवाणी गर्न सकिने विधि पत्ता लगाएका छन्।

अनुसन्धानकर्ताहरूले पछिल्लो अध्ययनले प्रकोप प्रभावित क्षेत्रमा अन्तत: जीवन रक्षाका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन्। “यो वास्तवमै महत्त्वपूर्ण छ किनभने यसबाट हामीले पृथ्वीको नाडी छाम्न सक्छौँ,” युरोपियन स्पेस एजेन्सीका डाक्टर पाओलो सिपोलीनीले भने।

“तपाईँले अन्तिरक्ष र उपग्रहले स्वास्थ्यका सवालहरूलाई हल गर्न सघाउने सोच्नुहुन्न तर यो प्रस्ताव अझ व्यापक रुपमा स्वीकार गर्न थालिएको छ।” उक्त अध्ययनले भारतको तटीय क्षेत्रमा हैजाको प्रकोप रहेको नयाँ विधिबाट ८९ प्रतिशत सफलताको दर सहित भविष्यवाणी गर्न सकिन्छ।

युरोपियन स्पेस एजेन्सी र प्लीमथ मरिन ल्याबरेटरीका समूहहरूले आठ वर्षको उपलब्ध वातावरणीय भूउपग्रहको तथ्याङ्क जम्मा पारेर त्यसलाई आर्टिफिशियल इन्टेलिजेन्सको माध्यमबाट विश्लेषण गर्दै प्रकोप फैलनसक्ने ठाउँबारे भविष्यवाणी गर्ने विधि पत्ता लगाएका हुन्।

हैजा प्रदूषित पानीबाट सर्ने रोग हो र यो भिब्रिओ कोलेरा ब्याक्टेरियाबाट सङक्रमित खाना र पानीको माध्यमबाट सर्नेगर्छ। विश्वका तटीय क्षेत्रहरू त्यसमा पनि बढी जनसङ्ख्या भएका गर्मी हुने क्षेत्रहरूमा हैजाको सङ्क्रमण बढी देखा पर्नेगर्छ। हैजाका आधा भन्दा बढी घटनाहरू भारतसहित उत्तरी हिन्द महासागरसँग सिमाना जोडिएका देशमा देखिनेगर्छ।

मौसम अनुसार हुने परिवर्तनको निगरानी

उनीहरूले एकभन्दा बढी अन्तरिक्ष केन्द्रका सात फरक फरक मापनलाई आधार बनाएर आफ्नो भविष्यवाणी गरेका हुन्। वैज्ञानिकहरूले ब्याक्टेरिया बढ्ने समुद्रको न्यानो नुनिलो पानीमा आएको परिवर्तन र ब्याक्टेरियाहरू टाँसिने सुक्ष्म समुद्री जीवहरूको सङ्ख्या वृद्धिलाई हेरका थिए।

उनीहरूले मानिसहरूले फुर्सद वा बर्खा मन पराउने तातो हावा चल्दाको समयमा प्रदूषित र अप्रदूषित पानी मिसिनसक्नेबारे पनि मापन गरेका थिए। “हाम्रो अध्ययन विशेष छ किनभने हामीले धेरैवटा मापकहरूलाई हेरेका छौँ,” भविष्यवाणी ढाँचा निर्धारण गर्न काम गरेकी अनुसन्धानकर्ता एमी क्याम्पबेल भन्छिन्।

उनले थपिन्, “जस्तो पानीको नुनिलोपन सम्पूर्ण रूपमा नयाँ हो र यसले हैजाको भविष्यवाणी गर्न एकदमै सहयोग गरेको छ। साँच्चै हामीले यसलाई कहिल्यै हैजाको महामारी देखा पर्नसक्छ भनेर बुझ्न प्रयोग गर्‍यौँ भने हामीले हाम्रो सेवाहरू तम्तयार राख्न सक्छौँ र खोप कार्यक्रमहरूका मद्दतले निश्चित क्षेत्रहरूलाई पूर्व रूपमा तयार बनाउन सक्छौँ।”

थप सङ्क्रमण

वैज्ञानिकहरूले जलवायु परिवर्तन र एकदमै खराब मौसम गतिविधिहरूले बढी हैजा सङ्क्रमण गराइरहेको बताएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार विश्वभर प्रत्येक वर्ष झण्डै ४० लाख हैजा सङ्क्रमणका घटना देखा पर्छन् जसमा करिव १ लाख ४३ हजारले ज्यान गुमाउने गर्छन्।

धेरै मानिसहरूमा मध्यम खालको लक्षणहरू भएपनि यसले नराम्रो प्रकृतिको झाडापखाला पनि चलाउनसक्छ र उपचार नपाए केही घण्टाभित्रै मानिसको ज्यान समेत जान सक्छ। पाँच वर्ष भन्दा मुनिका बालबालिका सबैभन्दा बढी जोखिममा रहेको बताइन्छ।

वैज्ञानिकहरूले गर्मीयाममा वर्षा हुनु ठिक अघि गरिएको भविष्यवाणी सबैभन्दा विश्वासिलो देखिएको भन्दै त्यसमा ९३ दशमलब ३ प्रतिशत सफलता दर भएको उल्लेख गरेका छन्।

उनीहरूले विश्वशनियता बढाउन अझै सुधारहरू हुनुपर्ने र सेवाहरू अनावश्यक रूपमा बन्द गरिननहुनेमा जोड दिएका छन्। अनुसन्धानकर्ता एमी क्याम्पबेलका अनुसार अरू सामाजिक र आर्थिक विषयहरूलाई पनि हेरिनुपर्छ। “पर्याप्त ढल प्रणाली नभएका ठाउँमा जलवायु परिवर्तनको जस्तो प्रभाव भएपनि हैजाका बढी घटना देखिनसक्छन्,” उनले भनिन्।

अन्तरिक्षमा आधारित हैजा भविष्यवाणी कार्यक्रमको भारतबाहेक अन्यत्र परीक्षण गरिएको छैन। तर वैज्ञानिकहरूले यो राम्रो सुरुवात भएको भन्दै यसले भविष्यमा जीवन रक्षा गर्न सक्ने बताएका छन्।

डाक्टर पाओलो सिपोलीनी भन्छन्, “हामीले पृथ्वीको अध्ययनका क्रममा प्राप्त जानकारीलाई रोगको विस्तार र जलवायु परिवर्तनले रोगहरूमा पारेका प्रभावसहित समाजको हितमा अझ बढी प्रयोग गर्दै जानेछौँ।”

“यो महत्त्वपूर्ण छ किनभने यसले संसारको सबैभन्दा गरिव जनसङ्ख्यालाई रक्षा गर्न कदम चाल्न हामीलाई अवसर दिनेछ।”


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *