देश विदेश

मलेसियाबाट एकैदिन १२ शव | देश परदेश

शेयर गर्नुहोस्

आईतवार मलेसियाबाट एकैदिन १२ वटा शव नेपाल ल्याइएको छ । ति शवहरु नेपाल एयरलाइन्स मार्फत ल्याइएको हो । आइतवार युएई, साउदी अरेविया लगायतबाट पनि थप शव नेपाल ल्याईंदैछ ।

वैदेशिक रोजगार बोर्डका अनुसार आइतवार ल्याइएका शव मध्ये महोत्तरीका देवेन्द्र कुमार यादव, नवलपरासीका नुम बहादुर लुङ्गेली मगर, सर्लाहीका चन्द्र कुमार साह, गोर्खाका मेघ बहादुर कुँवर तथा सूर्य विकको रहेको छ । यसैगरी भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्य बहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्र प्रसाद मेहता, बाग्लुङका चन्द्र बहादुर विक, बाँकेका विनय कहर तथा झापाका उज्वल भुजेलको शव आइतवार मलेसियाबाट आउने गरी क्वालालम्पुर स्थित नेपाली दूतावासबाट सूचि प्राप्त भएको बोर्डले जनाएको छ ।

यसैबीच जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई मलेसियाबाट आउने शव बुझ्न गएका व्यक्तिलाई भेट्न त्रिभुवन विमानस्थल पुगेका छन् । यसरी नेपाल ल्याइएका शव मध्ये गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको पनि रहेको थियो । उनीहरु भट्टराईको निर्वाचन क्षेत्रका बासिन्दा रहेका कारण परिवारलाई सान्त्वना दिन तथा मृतकलाई श्रद्दाञ्जली दिन भट्टराई विमान स्थल पुगेका थिए ।

भट्टराईले ट्विटरमा लेखेका छन्: कस्तो दु:खद अवस्था । वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो । ती मध्ये गोरखा सिरानचोक ५ का सूर्य विक (२८बर्ष) र गोरखा नपा १२ का मेघबहादुर कुॅवर (२७ बर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र । सँगै उनले दुईवटा तस्वीर पनि पोष्ट गरेका छन् ।

वैदेशिक रोजगारमा गएर ज्यान गुमाउने मध्ये ठूलो संख्या मलेसियामा नै देखिएको छ । खानपानको असन्तुलन, कामको चाप र आवश्यक आराम नपुग्दा नेपाली श्रमिकहरूमा मुटु, मिर्गौला र फोक्सोको समस्या भएको पाइएको छ । मृत्यको संख्या मलेसिया, साउदी अरब र कतारमा सबैभन्दा उच्च छ ।

मलेसियामा मृत्यु हुने मध्ये आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियामा ज्यान गुमाउने मध्ये सुतेको अवस्थामा नै ज्यान गुमाउने नेपालीको संख्या धेरै देखिएको छ ।

मलेसिया, खाडीका मुलुकहरु तथा दक्षिण कोरियामा मृत्युको कारण लगभग उस्तै देखिएको छ । पछिल्लो समयमा दक्षिण कोरियामा नेपाली श्रमिकको आत्महत्याको दर बढी देखिनु अर्को चिन्ताको विषय भएको यस क्षेत्रमा कार्यरतहरु बताउँछन् ।

२२ चैत्र २०७७, आईतवार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/04/11911/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *