देश विदेश

ह्याप्पी बर्थडे क्वीन ! ७ दशकमा १४ प्रधानमन्त्रीसँग शासन गर्ने महारानी एलिजाबेथको जीवनगाथा

शेयर गर्नुहोस्

काठमाडौं। बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आज आफ्नो ९५ औं जन्मदिन मनाउँदैछिन् । हालै महारानी एलिजाबेथका पति राजकुमार फिलिपको निधन भएको थियो त्यसैले यस पटक कुनै ठूलो उत्सव हुने छैन। अर्थात् यस पटक महारानी परिवारका नजिकका व्यक्तिहरूसँग मात्र जन्मदिन मनाउनेछिन् ।

महारानी एलिजावेथले सानै उमेरदेखि बेलायतको राजपरिवारको नेतृत्व गरेकी छिन् । रानी एलिजाबेथले बेलायतको राजकीय परम्परा र शाही परिवारलाई सम्हाल्दै आएको झण्डै ७ दशक बितिसक्यो। सबै कठिनाइहरूको बावजुद एक महिलाले बेलायतमा यति लामो समयसम्म शासन गर्नुलाई बेलायतको इतिहासमा महत्वपूर्ण रुपमा हेरिनेछ ।

रानी एलिजाबेथको जन्म सन् १९२६ अप्रिल २१ मा भएको थियो जतिबेला राजा जर्ज पाँचौंले बेलायतमा शासन गरेका थिए। जर्ज पाँचौं एलिजाबेथका हजुरबुवा हुन् । १९३६ मा जर्ज पाँचौंको निधन भएपछि एलिजाबेथका ठूलो बुवा एडवार्ड आठौं राजा भए । तर, एडवार्डले सम्बन्धविच्छेद गरिसकेकी अमेरिकी महिलासँग विवाह गर्न खोजेपछि उनले १ वर्षमै राजाको पदबाट राजीनामा दिनुपर्यो । एडवार्ड आठौंका कुनै सन्तान नभएकोले उनका भाइ जर्ज छैटौं राजा बने । एलिजाबेथ यिनै जर्ज छैटौंकी छोरी हुन् । आफ्ना पिता राजा हुँदा एलिजाबेथ १० वर्षकी थिइन् ।

महारानी एलिजाबेथको पूरा नाम एलिजाबेथ अलेक्जेन्ड्रा मेरी विन्डसर हो। महारानी एलिजाबेथकी एक बहिनी राजकुमारी मार्गरेट पनि थिइन् । महारानी एलिजाबेथले आफ्नो पढाइ घरैमा पूरा गरिन्। उनको एक बायोग्राफीमा उल्लेख भएअनुसार सानैदेखि महारानी एलिजाबेथ घोडा र कुकुरलाई माया गर्थिन् र यी जनावरप्रतिको माया उनको जीवनभर रह्यो । महारानीले पछि घोडा दौडमा बाजी पनि लगाउने गर्थिन् ।

एलिजाबेथ र राजकुमार फिलिपले सन् १९४७ मा विवाह गरे । त्यतिबेला एलिजाबेथ २१ वर्षकी थियन् । बेलायतको शाही परिवारले यस विवाहलाई ठूलो सम्मानका साथ मनायो। विवाहको केही समयपछि एलिजाबेथका पनि राजकुमार फिलिप शाही परिवारको कर्तव्यमा लागे । विवाह भएको करिब पाँच वर्षपछि सन् १९५२ मा राजकुमार फिलिप र राजकुमारी एलिजावेथ केन्या भ्रमणमा गएका थिए ।

त्यतिबेला राजा जर्ज छैटौंको स्वास्थ्य बिग्रेको थियो र उनको अस्ट्रेलिया भ्रमणलाई बारम्बार स्थगित गरिएको थियो। त्यसैले केन्यामा बिदा मनाउन गएका एलिजाबेथ र फिलिप अस्ट्रेलिया जाने निर्णय गरिएको थियो। तर त्यही केन्या भ्रमणको बेला फेब्रुअरी ६, १९५२ मा सबै कुरा बदलियो । लामो समयसम्म थला परेका एलिजाबेथका पिता राजा जर्ज छैटौंको निधन भयो। एलिजाबेथ केन्याको ग्रामीण भेगमा थिइन् त्यसैले यो खबर उनीसम्म पुग्न समय लाग्यो । यो खबर पाएपछि एलिजावेथ र राजकुमार फिलिपले बिदा रद्द गरेर तत्कालै बेलायत फर्किएका थिए ।

यो घटना हुँदा एलिजाबेथ २५ वर्षकी मात्र थिइन् र सबै कुरा एकैचोटि परिवर्तन भयो। राजा जर्ज छैटौंको निधनपछि बेलायतले नयाँ महारानी पाउन लागेको स्पष्ट भयो। बेलायतबाट केन्या जाँदा एलिजाबेथ राजकुमारी थिइन् तर फर्कंदा उनी महारानीको रूपमा फर्किन्। फेब्रुअरी ६, १९५२ मा एलिजाबेथ द्वितीय बेलायतकी महारानी नियुक्त भइन् र जून २, १९५३ मा उनको औपचारिक राज्याभिषेक भयो ।

बेलायतले दोस्रो विश्वयुद्ध जितेको भएपनि त्यसबेलादेखि यो देश कमजोर हुन थालेको थियो । त्यसैकारण बेलायतले शासन गरेका ठाउँहरुमा स्थानीय सरकारहरूलाई सत्ता सुम्पन थालेको थियो । यस्तो कमजोर समयमा एलिजाबेथको काँधमा बेलायतको शासनको जिम्मेवारी आएको थियो । जब एक २५ वर्षीया युवती शाही परिवारको प्रमुख भइन् र आफ्नो अधीनमा रहेका दर्जनौं देशहरूमा गइन् त्यतिबेला विश्वको आँखा केवल रानी एलिजाबेथमा मात्र थियो। सन् १९५३ मा राज्याभिषेकपछि रानी एलिजाबेथले आधिकारिक रूपमा आफ्नो पदभार ग्रहण गरिन्। तर, सन् १९६१ मा सबै कुरा एकैचोटी बदलियो ।

सन् १९६१ मा रानी एलिजाबेथ घाना जाँदा घानाले थुप्रै कठिनाइहरूको सामना गरिरहेको थियो र त्यहाँ एक तानाशाहको खतरा समेत थियो । तर कठिन परिस्थितिका बीच महारानी एलिजावेथले घानाको भ्रमण गरिन् र यहाँका विवादलाई आफ्नै क्षमतामा समाधान गरिन् । यो भ्रमणले विश्वको नजरमा एक युवा महारानीको हैसियत बढायो । घाना सन् १९५७ मा मात्र स्वतन्त्र भएदेखि नै त्यहाँ हिंसा भइरहेको थियो ।

सन् १९६१ मा रानी त्यहाँ जानुपर्ने थियो तर तत्कालीन सरकारले उनलाई नजाने सल्लाह दिएको थियो। यो सल्लाहलाई बेवास्ता गर्दै रानी घाना गइन्। रानी आउनुभन्दा पाँच दिनअघि घानाको राजधानी बम विस्फोट भयो। तैपनि, रानीले आफ्नो भ्रमण पूरा गरिन्, घानाका शासक, आम जनतासँग समय बिताइन् र अन्ततः यो एउटा सफल भ्रमण भयो। यहाँका शासकले बेलायतसित घनिष्ठ भएर काम गर्ने निर्णय गरे। यो भ्रमणले राष्ट्रमण्डलका सबै देशहरूमा गहिरो प्रभाव पार्यो।

रानी एलिजाबेथ सन् १९५२ देखि शाही परिवारको प्रमुख रहेकी छिन् । हरेक हप्ता मंगलबार संयुक्त अधिराज्यका प्रधानमन्त्रीले बेलायतको राजपरिवार प्रमुखसँग भेटेर देशको अवस्थाबारे जानकारी दिने नियम छ । संरक्षकको हैसियतले राजपरिवारका प्रमुखले मुलुकसँग सम्बन्धित काममा प्रत्यक्ष हस्तक्षेप गर्न सक्दैनन् । रानी एलिजाबेथले सुरुदेखि अहिलेसम्म १४ जना प्रधानमन्त्रीसँग काम गरेकी छिन्।

एलिजाबेथले आफ्नो राजपाठ ग्रहण गर्दा बेलायतमा प्रधानमन्त्री विन्स्टन चर्चिल थिए । चर्चिल सधैं आफ्नो जिद्दी व्यवहारको लागि चिनिन्थे तर चर्चिलले २५ वर्षीया रानीको लागि अभिभावकको रूपमा काम गरे। सुरु–सुरुमा चर्चिलले नै रानी एलिजाबेथलाई राजनीति, विरोध र अन्य कठिनाइहरूबारे जानकारी दिए।

बेलायतकी प्रधानमन्त्री मार्गरेट थ्याचर आफ्नो कार्यकालमा निकै चर्चामा रहिन् । थ्याचर र रानी एलिजाबेथबीच थुप्रै विषयमा कुरा नमिल्ने गरेको पनि विभिन्न समाचारहरुमा दावी गरिएको थियो । दुवै महिला थिए र उनीहरूले सबै कठिनाइहरूको बीचमा शक्ति प्रयोग गर्नुपर्थ्यो। बेलायतको शाही परिवारको विषयमा बनेको वेब सिरिज द क्राउनमा पनि यो कुरा देखाइएको छ । वर्तमान प्रधानमन्त्री बोरिस जोन्सन रानीको अधीनमा काम गर्ने १४ औं प्रधानमन्त्री हुन्।

शाही परिवारको बारेमा भन्ने गरिन्छ – उनीहरुको सबैभन्दा कठिन काम भनेको केही नगर्नु हो। किनभने राजपरिवारका प्रमुखले सरकारको कामकाजमा प्रत्यक्ष हस्तक्षेप गर्न सक्दैनन् न त कुनै प्रत्यक्ष आदेश नै दिन सक्छन्। रानी एलिजाबेथले २५ वर्षको उमेरमा शाही परिवारको सिंहासन ग्रहण गर्दा सुरुमा विन्स्टन चर्चिलले उक्त मन्त्र उनलाई बताएका थिए । त्यसपछि महारानीले बेलायतको शासन गरेको ७ दशक भयो र यस बीचमा आएका कैयौं कठिनाइको उनले एक्लै सामना गरिन् । यस बीचमा पारिवारिक कठिनाइका साथै देशलाई प्रभावित पार्ने थुप्रै प्रमुख समस्याहरू आए ।

सन् १९६६ मा साउथ वेल्सको एबरफानस्थित कोइला खानीमा पहिरो खसेर सयभन्दा बढी बालबालिकाको ज्यान गएको थियो । घटनाको भोलिपल्ट नै राजकुमार फिलिप त्यहाँ गए तर रानी गइनन् । रानीलाई आफ्नो भ्रमणले उद्धार कार्यमा असर गर्नेछ भन्ने डर थियो तर यसले बेलायतका जनतामा गलत सन्देश गयो। त्यसको केही दिनपछि रानी त्यहाँ गइन् र पीडितहरूको परिवारलाई भेटिन्। महारानीले घटना लगत्तै त्यहाँ नपुग्नु आफ्नो लागि पश्चात्तापको कुरा भएको धेरै पटक उल्लेख गरेकी छिन् ।

शासनसँगै पारिवारिक कठिनाइले गर्दा राजपरिवारको चिन्ता समय समयमा बढ्दै गयो। एलिजाबेथकी बहिनी राजकुमारी मार्गरेट एकदमै खुला विचारधारा भएकी थिइन् र उनले सम्बन्धविच्छेद गरेका व्यक्तिसित विवाह गर्ने निर्णय गरिन्। यसका लागि महारानीको अनुमति आवश्यक थियो तरर रानीले झन्डै एक वर्षसम्म कुनै फैसला सुनाइनन्। किनकि यो चर्चको नियम विपरीत भएकोले त्यसले देशमा नराम्रो सन्देश जान्थ्यो । रानीको जीवनी लेख्ने धेरै लेखकहरूले हरेक पटक रानीले परिवारभन्दा अगाडि राजपरिवारका नियमहरू राखेको उल्लेख गरेका छन्।

राजकुमार चार्ल्सले राजकुमारी डायनासित विवाह गर्दा एउटा ठूलो पारिवारिक कठिनाइ देखापर्यो। डायना एक खुला स्वभावकी महिला थिइन् र उनको यही स्वभावका कारण बेलायतमा मात्र नभइ विश्वभरी नै उनका ठूलो संख्यामा प्रशंशकहरु बढिरहेका थिए । अर्कोतर्फ डायना राजपरिवारको नियम पालना गर्दिनथिन् त्यसैले महारानीलाई धेरै कठिनाइ भयो ।

राजकुमार चार्ल्स र राजकुमारी डायनाको सम्बन्ध लामो समयसम्म विवादित रह्यो र यो विवादका कुराहरु पटक पटक बाहिर आइरहन्थे । यी दुई सन् १९९२ मा छुट्टिए र पाँच वर्षपछि राजकुमारी डायनाको मृत्यु भयो। त्यतिबेला बेलायतमा राजपरिवारविरुद्ध लहर चलेको थियो किनभने सबैले राजकुमारी डायनाको मृत्युको आरोप राजपरिवारमाथि लगाइरहेका थिए । ठूलो विवादका बीच महारानीले देशलाई सम्बोधन गरिन् र आफ्नो दुःख व्यक्त गरिन्।

हालै, राजकुमार ह्यारी र मेगन मर्केलले पनि शाही परिवारमाथि प्रश्न उठाउँदै सबै शाही कर्तव्यहरू त्याग्ने निर्णय गर्दा पनि शाही परिवारले कठोर अडान लियो। महारानीले कुनै ढिलासुस्ती नगरी उनीहरुलाई राजकीय कर्तव्य हटाउने निर्णय गरिन् र उनीहरुलाई दिइएको पद तथा सम्मान पनि खोसियो । यसले फेरि एक चोटि प्रमाणित गर्यो कि सात दशकको शासनमा रानीले सबै कठिनाइहरू सहेकी थिइन् र शाही परिवारका नियमहरू मात्र पालन गर्ने कोसिस गरिन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244425/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *