देश विदेश

कोरोनाका कारण टीकापुर नगरपालिकामा वैशाखमा मात्रै १८ जनाको मृत्यु

शेयर गर्नुहोस्

टीकापुर । कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट समुदायस्तरमा फैलिएपछि ज्यान गुमाउनेको सङ्ख्या समेत बढेको छ । टीकापुर नगरपालिकामा मात्रै यही वैशाख महिनामा सङ्क्रमणबाट १८ को मृत्यु भएको छ । नगर जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलका अनुसार दुई दिनमा मात्र सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या नौजना पुगेको छ ।

जानकी गाउँपालिकामा पनि सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा टीकापुर अस्पतालमा उपचाररत आठ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो जोशीपुर गाउँपालिका वडा नं १ का ५० वर्षका पुरुष र वडा नं ५ का ६० वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं १ की ४५ र ५१ वर्षीया दुई र वडा नं ७ का ६० वर्षीया महिला र सोही वडाका ६७ वर्षका पुरुष, बर्दगोरिया गाउँपालिका वडा नं ४ का ४५ वर्षका पुरुष, जानकी गाउँपालिका वडा नं १ का ५८ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । टीकापुर अस्पतालमा आइतबारमात्रै छ जनाको ज्यान गएको थियो । टीकापुर अस्पतालमा मात्र दुई दिनमा मृतकको संख्या १४ पुगेको छ । टीकापुर अस्पतालमा उपचारमा आएका १६ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राईका अनुसार मृतक सबैमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको र अक्सिजनको मात्रा पनि कम हुँदै गएको थियो । सो अस्पतालमा सोमबार ४१ जना उपचाररत छन् । यी सबैलाई अक्सिजनमा राखिएको छ । अस्पतालको कोभिड एचडीयु वार्डमा १४ र शंकास्पद २७ भर्ना भएका र आवश्यक मात्रामा अक्सिजन नपुगेको अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिए। ‘‘टीकापुर अस्पतालसँग जम्मा १२४ अक्सीजन सिलिण्डर छन्, यी अस्पतालमा आउने सबै विरामीका लागि प्रयोग हुन्छन्’’, उनले भने, ‘‘अहिले सबैभन्दा अक्सिजन नपाएर बिरामीको ज्यान जाने जोखिम बढेको छ । बेड नभएर बिरामीहरु बरण्डा, ग्यालरीमा राखेर उपचार भइरहेको छ ।’’

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा पनि सोमबार चार जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउपालिका वडा नं ४ का ५२ वर्षका पुरुष, धनगढी उपमहानगरपालिका वडा नं ३ का ८७ वर्षका महिला, वडा नं १८ का ४२ वर्षका पुरुष र घोडाघोडी नगरपालिका वडा नं १० का ३७ वर्षका पुरुषकोे मृत्यु भएको छ सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । प्रादेशिक अस्पतालमा ५८ सङक्रमित र ३० जना संकास्पद बिरामीको उपचार भैरहेको उनले बताए ।

अक्सिजन प्लान्ट स्थापनाका लागि स्थानीय पालिकाको सहयोग

टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि यहाँका दुई पालिकाले बजेट विनियोजन गरेका छन् । अक्सिजन नपाएर बिरामी मर्न थालेपछि टीकापुर नगरपालिकाले रु २० लाख र जानकी गाउँपालिकाले रु १५ लाख विनियोजन गरेका छन् । अस्पताल परिसरमा अक्सिजन प्लान्ट स्थापनाका सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले रु ८० लाख विनियोजन गरेको छ ।

प्लान्ट स्थापना गर्न इ–टेण्डर भइसकेको छ । अस्पतालले अक्सिजन प्लान्टका लागि टेण्डर भइसकेकाले फिलर कम्प्रेसर उपलब्ध गराइ सहयोग गरिदिन दातालाई गुहारेको थियो । स्थानीय पालिकाले मात्र होइन अक्सिजन जोहोका लागि नागरिक स्तरबाट समेत रकम संकलन शुरु भएको अस्पताल विकास समितिका अध्यक्ष दीपबहादुर रावलले बताए । ‘‘टीकापुर सरोकार समूहले पहल थालेको छ । देश विदेशमा रहेका नेपालीले लाखौँ रकम सहयोग गरिरहुन भएको छ’’, उनले भने, ‘‘अस्पताललाई दाताले दिएका ७ वटा भेण्टिलेटर सेट छ । जडान गरिसकेको अवस्था छ । आइसियु सेवा सञ्चालनका लागि लामो समयदेखि एनेस्थेसिया डाक्टर माग गरे पनि पाएका छैनौँ । डाक्टर भएको भए नागरिक बचाउन सकिन्थ्यो ।’’ रासस


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/05/249950/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *