साइप्रस न्युज

इजरायल आफैंले स्थापना गरेको संगठन हमास आज इजरायलकै कट्टर दुश्मन कसरी भयो ?

शेयर गर्नुहोस्

काठमाडौं। इजरायलमाथि अहिले आक्रमण गरिरहेको संगठन ३४ वर्षअघि इजरायल आफैंले बनाएको थियो । उतिबेला आफ्नो फाइदाको लागि इजरायलले यो संगठन बनाएको थियो तर अहिलेसम्म आइपुग्दा यो संगठन इजरायल आफैंको लागि घाँडो भएको छ । हमास अहिले इजरायलको कट्टरविरोधी संगठन हो र इजरायललाई धम्की दिने र आक्रमण गर्ने गरिरहन्छ । अहिले पनि प्यालेस्टाइनी जमिनबाट हमासले लगातार रकेट आक्रमण गरिरहेको छ । इजरायल र पश्चिमी देशहरु अहिले हमासलाई आतंकवादी संगठन भन्छन् ।

इजरायल र प्यालेस्टाइनको विवादसँग धेरै परिचित नभएकाहरुको लागि हमास नयाँ नाम हो । अहिले इजरायलले यो संगठनलाई अल कायदा र इस्लामिक स्टेटसँग तुलना गर्छ । तर, सत्य यो हो कि हमासलाई जन्म दिने इजरायल नै हो । इजरायलले ठिक त्यस्तै गरी हमासलाई अस्तित्वमा ल्याएको थियो जसरी अमेरिकाले तालिबानको स्थापना गरेको थियो । पछि तालिबानको सहयोगमा अल कायदा बन्यो । यी दुवै घटनामा एउटै प्रमुख समानता छ र त्यो हो यी दुवै संगठन त्यही देशको लागि संकट बने जसले यी संगठनको स्थापना गरे ।

अरब देश र इजरायलको दुश्मनी निकै पुरानो हो । १९४८ मा मात्रै इजरायल विश्वको नक्सामा नयाँ देशको रुपमा उदाएको थियो । धनी मुस्लिम देशहरुले घेरिएको इजरायलमा सबैभन्दा धेरै जनसंख्या यहुदीहरुको छ । केही षेत्रमा अरब मूलका प्यालेस्टाइनी पनि छन् । केही वर्षसम्म यी सबै समुदाय शान्तिसँग बसे तर अहिले इजरायलका यहुदीहरु र अरबी जनताहरुबीच दंगा भइरहेको छ । समयसँगै इजरायल यति बलियो भयो कि आज अरब देश बाध्यतामै सही उसको अगाडि घुँडा टेकिरहेका छन् ।

१९४८ मा इजरायलको स्थापना पछि पनि इजरायल र प्यालेस्टाइनबीच संघर्ष जारी थियो । प्यालेस्टाइनी नेता यासिर अराफातलाई विश्वका धेरै देशहरुमा सम्मान गरिन्छ । उनी अन्तर्राष्ट्रिय फोरमहरुमा शक्तिशाली थिए । यासिर अराफातको अगाडि इजरायललाई आफू कूटनैतिक तहमा प्यालेस्टाइनको अगाडि कमजोर भइरहेको महसुस भएपछि इजरायलले १९७० को दशकको अन्त्यमा उसले प्यालेस्टाइनको एक कट्टरपन्थी संगठनलाई उसले उदारवादी प्यालेस्टाइनी नेताहरुको विरोधमा उभ्यायो । यो संगठनलाई हमास नाम दिइयो । हमासको औपचारिक स्थापना १९८७ मा भएको मानिन्छ ।

courtsy al arabiya

द इन्टरसेप्टका अनुसार इजरायलका पूर्व जनरल यित्जाक सेजेभले भनेका थिए ‘विषले विष मार्ने यो नीति एक ऐतिहासिक गल्ती थियो । इजरायली सरकारले मलाई हमासको लागि बजेट पनि दिएको थियो । यसको पछुतो हामीलाई आज पनि छ ।’ सेजेभ १९८० को दशकमा गाजाका गभर्नर पनि थिए । हमासले प्यालेस्टाइनको उदारवादी नेतृत्वलाई विस्तारै विस्थापित गर्यो र आफैं प्यालेस्टाइनी आन्दोलनको अगुवा बन्यो ।

 

 यो पनि पढ्नुहोस् : सोमबार देखि कहाँ जाँदा चाहिन्छ सेफ पास ? के हो सेफ पास ? पुरा जानकारी 

 

हमासमा ९० प्रतिशत युवा प्यालेस्टाइनी छन् । एक रोचक तथ्य यो पनि हो कि हमासलाई धेरैजसो मुस्लिम देश ‘ढुंगाले युद्ध लड्ने संगठन’ भन्छन् । तर वास्तविकता के हो भन्ने अहिले जारी युद्धमा देख्न सकिन्छ । उनीसँग हजारौं रकेट छन् र लञ्चर पनि छन् । आधुनिक हतियार पनि छन् र विदेशी शक्तिले दिने पैसा पनि छ । तर यो पनि सत्य हो कि इजरायलको शक्तिको अगाडि अहिले पनि यिनीहरु निकै कमजोर छन् ।

टाइम म्यागजिनले २०१४ मा हमासका विषयमा एक विशेष रिपोर्ट प्रकाशित गरेको थियो । यो रिपोर्टमा भनिएको थियो ‘हमासलाई अहिले पनि केही अरब देशले लुकिछिपी सहयोग गरिरहेका छन् । टर्की र कतारबाट यसले पैसा पाउँछ । हमासका एक नेता खालिद मेशालले त कतारमा यसको कार्यालय पनि खोलेका थिए । कतारले तालिबानलाई पनि सहयोग गरिसकेको छ । पाकिस्तानका केही जानकारका अनुसार इरान पनि हमासलाई हतियार र पैसा दिन्छ । यद्यपि इरान शिया देश हो र अरब जगत सुन्नी हुन् । तर, हुन सक्छ इजरायल र अमेरिकामाथि आफ्नो परमाणु कार्यक्रमलाई मन्जुरी दिनको लागि इरान दबाब बनाउन चाहन्छ त्यसैले उसले हमासको काँधमा बन्दुक राखेर चलाइरहेको हुन सक्छ ।’

यो यसकारण पनि सम्भव छ किनकि इजरायल र अमेरिकाले इरानका जनरल कासिम सुलेमानी समेत केही अन्य र महत्वपूर्ण व्यक्तिहरुको हत्या गरेका थिए । इरानले यसको बदला लिने धम्की दिएको थियो । जे भए पनि यति तय हो कि हमासलाई केही देशले आर्थिक सहयोग गर्छन् । इजरायल र अमेरिकाको डरले यी देश खुलेर बोल्दैनन् ।

सोभियत संघले १९७८ मा अफगानिस्तानमाथि कब्जाको कोसिस गरेको थियो । स्थानीय नागरिकसँग संघर्ष चलिरह्यो । त्यतिबेला अमेरिकाले पाकिस्तानका तत्कालीन तानाशाह जनरल जिया उल हकसँग मिलेर अफगानिस्तानका केही लडाकुलाई जम्मा गर्यो । उनीहरुलाई ठूलो आर्थिक सहयोग दियो । १९९४ मा नयाँ संगठन तालिबान बन्यो । २००१ को सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकी सेना अफगानिस्तान प्रवेश गर्यो । २० वर्षपछि पनि अमेरिका यही तालिबानसँग लडिरहेको छ, यसैसँग वार्ता गरिरहेको छ ।

हमास र इजरायलको अवस्था पनि त्यस्तै छ । टाइम्स अफ इजरायलका अनुसार हमासमा करिब २७ हजार लडाकू छन् । यिनीहरुलाई ६ क्षेत्रीय ब्रिगेडमा बाँडिएको छ । यसका २५ बटालियन र १०६ कम्पनी छन् । यिनीहरुका कमाण्डर परिवर्तन भइरहन्छन् । हमासमा ४ विंग छन् । मिलिट्री विंगका प्रमुख इज अद दीन अल कासिम हुन् । राजनैतिक विंगका प्रमुख इस्माइल हानिया हुन् र दोस्रो स्थानमा मुसा अबु मरजुक छन् । अन्तर्राष्ट्रिय सम्बन्धको लागि यो मुस्लिम ब्रदरहुडमा निर्भर छ । यसको एउटा सामाजिक विंग पनि छ । हमासको राजनैतिक एजेण्डा इजरायलका प्यालेस्टाइनी बहुल क्षेत्रमा कब्जा गर्ने र आफूलाई एक स्वतन्त्र देशको रुपमा स्थापित गर्ने हो ।

news courtsy: DcNepal

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।