कमलाको कमाल : समुद्रबाट होइन, सानो पोखरीबाटै मोती उत्पादन
– सम्झना घिमिरे
समुद्री कीराबाट बन्ने मोती तपाईं हामी सबैले देखेका छौँ । अझ सिनेमाहरूमा समुद्रको किनारामा फक्रिएको फूलजस्तो आकृतिको खबटाभित्र रहेको मोतीलाई निकै आकर्षक रूपमा देखाइएको हुन्छ । तर, समुद्रको गहनाको रूपमा परिचित मोती नेपाली माटोमा पनि पाइन्छ भन्ने के तपाईंलाई थाहा छ ?
समुद्री जीवबाट उत्पादन हुने हुँदा नेपालमा मोतीलाई आयातीत रत्नको रूपमा लिने गरिन्छ । तर, मोरङको सुन्दर हरैँचाकी कमला राईले विगत तीन वर्षदेखि मोती समुद्रमा मात्र पाइन्छ भन्ने भ्रमलाई चिरिदिएकी छन् । उनले समुद्रलाई कुनै छेउले नछुएको नेपालमा नै मोती उत्पादन गर्न थालेकी छन् ।
नेपालमै मोतीको सम्भावना देखेर उत्पादनमा लागिपरेकी कमला अहिले व्यावसायिक रूपमा फड्को मार्दै छन् । सुन्दर हरैँचामा रहेको आफ्नो पुर्ख्यौली घरमा रहेको उनको श्री महाकाली पर्ल फार्मिङ एण्ड ट्रेनिङ सेन्टर त्यसैको उपज हो । जहाँ हरेक दिन मोती हेर्न उत्सुक भई आउनेहरूलाई नेपालमा मोतीको सम्भावाना रहेको देखाउने गरेकी छिन् ।
फार्ममा आउने जोकोहीले सुरुमा प्रश्नसहितको नजरले हेरे पनि फर्किंदा भने नयाँ उत्साह र केही गर्ने योजनासहित फर्किने गरेको कमला बताउँछिन् । उनी भन्छिन्, ‘हरेक दिनजसो सिपीबाट मोती उत्पादन हुन्छ र ? भन्दै आउनुहुन्छ । कति त बाहिरैबाट हाँसेर हिड्न खोज्नुहुन्छ तर भित्र पसेर फार्म हेरिसकेपछि उहाँहरूमा छुट्टै उत्साह आएको महसुस गर्छु ।’
मोतीकाे उत्पादन नेपालमै सम्भव छ । र, मात्र ३ हजार रुपैयाँ भए मोतीको व्यावसायिक उत्पादन सुरु गर्न सकिन्छ भन्ने प्रमाण कमला स्वयम् हुन् । उनी तालिम लिएर सजिलै व्यवसाय सुरु गर्न आग्रह गर्छिन् ।
तीन वर्षको समयावधिमा उनले झण्डै ४ हजारभन्दा धेरै मोती उत्पादन गर्ने सिपीलाई आफ्नो पोखरीमा हुर्काइरहेकी छन् । यो सँगै सफल रूपमा मोती पनि उत्पादन गर्दै आएकी छन् ।
मोतीमोहले फुरेकोे आइडिया
आमयुवाजस्तै कमला पनि सरकारी जागिर खान लोकसेवा तयारी गर्दै थिइन् । काठमाडौँ बसेर पढ्दै गरेकी उनलाई बाल्यकालको सपनाले छोडेन । घरपरिवारमा सबै सरकारी जागिरे थिए । कान्छी छोरी पनि सरकारी जागिरे बनेको देख्ने बुबाको सपना थियाे । यिनै सपना पूरा गर्न काठमाडौँ आएकी उनी आफ्नो बाल्यकालको सपनाबारे सोच्ने फुर्सद पाउँदैनथिन् ।
‘विद्यार्थी जीवन फुर्सद नै नपाउने, क्याम्पसको १५ दिने छुट्टीमा घर फर्किएँ । बल्ल सानामा देखेको सपनालाई सम्झिने मौका जुर्यो’, उनी उत्साहित भावमा आफ्नो बालापनको सपना सुनाउँछिन्, ‘सानोमा टेलिभिजनमा राजा महाराजाले लगाएको गहनामा चम्किएको वस्तुले मेरो ध्यान खिच्थ्यो । अझै धनाढ्यले पनि लगाएको देखेपछि थाहा पाएँ– त्यो चम्किने वस्तु त मोती पो रहेछ ।’
उनले त्यतिबेलै आमालाई त्यस्तै चम्किलो मोती ल्याइदिन आग्रह गरेकी थिइन् । जब आमाले आफूहरू मध्यम वर्गीय भएकाले माेती ल्याइदिन नसक्ने बताइन्, तब कमलाको मनमा मोतीका दाना टिप्ने एउटा सपना रहिरह्याे । त्यो दिनदेखि भित्रभित्रै उनी माेतीकाे खाेजी गर्न लागिन् । कहाँ पाइन्छ ? कसरी बन्छ ? कसरी ल्याउनेजस्ता उत्सुकता उनको मनमा जाग्न थाले ।
जब कमला घर फर्किइन्, उनले मोती फार्मिङबारे गुगल र युट्युबमा खोज्न थालिन् । अनि, थाहा पाइन् समुद्रमा मात्र पाइने मोती बनाउने कीरा त हाम्रै वरिपरि पनि पो रहेछन् । मोती बनाउने कीरा सिपी हाे भन्ने थाहा पाएपछि उनी सिपी खोज्न थालिन् । नभन्दै २ हजार सिपी उनले घरगाउँमै फेला पारिन् ।तर, २ हजार सिपीबाट उनले मोती भने देख्न पाइनन्, सबै मरे ।
पछि मात्र थाहा पाइन्, सिपी पाल्न नजान्दा मरेका रहेछन् । कमला हाँस्दै भन्छिन्, ‘सिपीलाई आफैँले खाने भात दिन्थेँ । पछि पाे थाहा पाएँ, भात त नखाने रहेछ, सिपीलाई त स्वच्छ पानी पो चाहिने रहेछ ।’ तालिम लिँदा साथीहरूले आफ्नाे नामै सिपी हत्यारा राखिदिएकाे उनी बताउँछिन् ।
तालिमपछि उनी नेपाल फर्केर व्यावसायिक रूपमा सिपी पालन सुरु गरिन् । उनीसँग अहिले ४ हजारभन्दा धेरै सिपी छन् भने मोती संकलन हुन थालिसकेकाे छ ।
मोतीमा नै हुर्कन्छन् माछा
कमला मोतीले तत्काल नै नाफा नदिने हुनाले व्यवसाय चलाउन अन्य व्यवसाय गर्नुपर्ने बताउँछिन् । उनले पनि सिपीसँगै एउटै पोखरीमा माछा पनि पालेकी छिन् । सिपी र माछा दुवै सँगै हुर्कन सक्ने हुनाले पनि एउटा पोखरीबाट दुई व्यवसाय गर्न सकिने उनले बताइन् ।
योसँगै उनले आयआर्जनका लागि मौसमी खेती पनि गर्दै आएकी छन् । मोतीसँगै कृषिक्षेत्रमा समेत परिचय बनाएकी कमला अचेल मोतीकी धनी भनेर गाउँठाउँमा चिनिन्छिन् ।
तीन हजारमै सुरु गर्न सकिन्छ मोती व्यवसाय
कमला मोती फार्मिङका लागि पैसाभन्दा पनि दृढ इच्छा शक्ति हुनुपर्ने बताउँछिन् । उनका अनुसार, मोती फार्मिङ जम्मा ३ हजार रुपैयाँ लगानी गरेर पनि सुरु गर्न सकिन्छ । नेपालमा नै सस्तो मूल्यमा सिड उपलब्ध हुने हुँदा सुरुवाती लगानी धेरै नपर्ने उनको अनुभव छ ।
व्यवसायका लागि पहिले सिपीको जीवनशैली र त्यसमा कसरी मोती उत्पादन गर्ने भन्ने जानकारी हुनुपर्छ । त्यसका लागि पहिले तालिम लिन उनी सुझाउँछिन् । मोती ढिलो उत्पादन गर्नुपर्ने र बीचमा सिपीको शल्यक्रिया गर्नुपर्ने हुँदा तालिम लिएपछि मात्रै उत्पादन गर्न सकिन्छ ।
उत्पादन प्रक्रिया सुरूमा केही झन्झटिलो र ढिलो हुने भए पनि गर्दै जाँदा सहज हुने उनी बताउँछिन् ।भन्छिन,‘एक वर्ष पर्खिनुपर्छ, लगानीको प्रतिफल पाउन । त्यसैले तपाईंले मोतीसँगै अरु फार्मिङ पनि गर्नुपर्छ । यसले आम्दानी घट्दैन र सिपीपालनमा पनि सघाउ पुर्याउँछ ।’
बहुमूल्य रत्नमा गनिने मोती नेपालमा अझै पनि सर्वसाधारणको पहुँचमा पुग्न सकेको छैन । ठूला घराना र व्यवसायीहरूमा मात्रै प्रयोग हुँदै आएको मोतीको माग पछिल्लो समय नेपालमा बढ्दो छ । विशेषगरी जापान, भारतलगायत देशबाट अर्बौं मूल्यबराबरको मोती नेपालमा आयात भइरहेको छ । कमला नेपालमा सुरुवात नै आफूले गरेको बताउँदै यदि साझा रूपमा मोती उत्पादन गर्न सके नेपालीको अर्बौं रुपैयाँ विदेश पठाउनुपर्ने समस्या अन्त्य हुने बताउँछिन् ।
नेपाली बजारमा मोती त्यसको आकृति र गुणस्तरअनुसार मूल्य फरकफरक पर्न जान्छ । एउटा मोतीलाई गहना व्यवसायीहरूले ८ सयदेखि २ हजारसम्ममा किन्ने गरेका छन् । एउटा सिपीबाट ५ देखि ९ वटासम्म मोती निकाल्न सकिने र लगानी पनि धेरै नपर्ने हुँदा व्यवसायबाट राम्ररी नाफा निकाल्न सकिने कमलाको दाबी छ ।
तालिम पनि दिँदै कमला
जब कमलाले २ हजार सिपी आफ्नो बेवकुफीमा गुमाइन्, त्यतिखेर नै अब अरुलाई पनि सिपी मार्न नदिने अठोट गरिसकेकी थिइन् । त्यसका लागि तालिमकाे जरुरी थियो । नेपालमा तालिम त के, त्यसको अवसरबारे समेत कोही जानकार थिएनन् । तर, छिमेकी भारतमा भने व्यावसायिक रूपमा सिपीपालन भइरहेको थियो । उनले भारतीय सिपीपालक किसानसम्म पुगेर तालिम लिइन् । तालिम लिएपछि नेपाल फर्केर व्यावसायिक रूपमा मोती उत्पादन सुरुवात गरिसकेकी कमला अहिले व्यावसायिक प्रशिक्षण पनि दिँदै आएकी छिन् ।
अहिले महाकाली पर्ल फार्मिङ एण्ड ट्रेनिङ सेन्टरमार्फत उनले मोती उत्पादन तथा सिपीपालन गर्न चाहनेहरूलाई तालिम दिँदै आएकी छिन् । योसँगै उनले सिपीबाट कसरी सिड तयार पार्ने जानकारी दिनुका साथै सिपीको सिडसमेत उपलब्ध गराउँदै आएकी छन् ।
उनी भन्छिन्, ‘मेरो सपनालाई नेपालीको साझा सपना बनाउन पाए मोती उत्पादन गरेर लाखौँ आम्दानी गर्न सकिन्छ ।’ हराउँदै गएको सिपीको फाइदा नबुझेर सीमित समुदायले मासुका लागि मात्र सिपी प्रयोग गर्दै आएको कमला बताउँछिन् । अब सिपीलाई व्यावसायिक रूपमा अगाडि बढाउन तल्लीन छिन् ।