देश विदेश

अहिलेकै अवस्था कायम रहे अगस्ट २४ पछि पुर्ण लकडाउन हुने

शेयर गर्नुहोस्

काठमाडौं । पछिल्लो समय कोरोनाका संक्रमितको संख्या बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार दिन प्रतिदिन कोरोनाका संक्रमितहरुको संख्यामा वृद्धि भइरहेको छ।

कोरोनाको तेस्रो लहरको आएको भन्ने विश्लेषण पनि हुने गरे पनि सरकारी तर्फबाट तेस्रो लहरको घोषणा भने भएको छैन। काठमाडौं उपत्यकाका अस्पतालहरुमा विरामीको चाप बढ्दो क्रममा छ। उपत्यका भित्रका विभिन्न अस्पतालको आकस्मिक सेवामा बिरामीहरुलाई एउटै बेडमा २/३ जना राखेर उपचार गर्नु पर्ने अवस्थाको सृजना भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पनि पछिल्ला दिन विरामीको चाप बढ्दो क्रममा छ। निर्देशक डा. अनुप बास्तोलाले दैनिक आकस्मिक कक्षमा पनि १० देखि १५ जना कोभिडका विरामीहरु आउने गरेको जानकारी दिए।

उनका अनुसार ६२ जना कोरोनाका विरामीहरुको उपचार भइरहेको छ। पछिल्लो एक हप्तामा भने आकस्मीक सेवामा आउने विरामीको चाप घटेको डा. बास्तोलाको भनाइ छ।

उनले भने, ‘हाम्रोमा पछिल्लो एक हप्ता चाप कम भएको छ। गएको हप्तासम्म पनि विरामीहरु अलि बढी आउने गरेका थिए।

अहिले कम छन्। करिव ६२ जना कोभिडका विरामीहरुको उपचार गरिरहेका छौं। जसमध्ये १७ जना आइसीयूमा, आकस्मिकमा ४ जना, सोसल क्याभिनमा ७ जना र कोरोना वार्डमा ३५ जना बिरामी छन्।’

यस्तै, भक्तपुर अस्पतामा भने कोरोनाको पोजेटिभीटी दर नै ५० प्रतिशत बढी रहेको छ। अस्पतालका डा. सुनिल डङ्गोलका अनुसार दैनिक परीक्षण गरिएका मध्येबाट करिव ५० जना कोरोना पोजेटिभ देखिने गरेका छन्।

‘आउन त लक्षणसहितका धेरै बिरामीहरु आउने गर्नुहुन्छ। तर, परीक्षणमा करिव ५०/६० प्रतिशत पोजेटिभ देखिन्छ। ४० प्रतिशतमा पनि लक्षण मिल्न गएको छ।

लक्षण मौसमी फ्यू र कोरोनाको उस्तै हुने भएका कारण परीक्षणमा आएकालाई मात्र कोरोना पोजेटिभ भएका सूचिमा राख्ने गरेका छौं,’ डा. डङ्गोलले भने।

पछिल्ला समय अस्पतालमा विरामीको संख्यामा वृद्धि हुनुलाई तेस्रो लहरको सुरुवाति भन्न मिल्ने डा. डङ्गोलको भनाइ छ। उनले भने, ‘हुन त दोस्रो लहर सकिएको पनि औपचारिक घोषणा छैन।

तर, विचमा केही कमी आएका कारण अहिले विरामीको फ्लो बढ्नुलाई तेस्रो लहरको सुरुवाति भएको मान्ने कि दोस्रो लहरको निरन्तरता भन्ने विषयमा दोधार भएको छ।’

अवस्था यही रह्यो भने पूर्ण निषेधाज्ञा हुनसक्छ : प्रजिअ

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) काली प्रसाद पराजुलीले अवस्था यही रहे पूर्ण निषेधाज्ञा हुनसक्ने संकेत गरेको छन्। डिसी नेपालसँगको कुराकानीमा पराजुलीले भने, ‘भदौ ८ गते सम्म पुरानै निषेधाज्ञालाई निरन्तरता दिएका छौं। दैनिक अस्पतामालमा भर्ना हुने कोरोनका विरामीहरुको अध्ययन पनि गरिरहेका छौं। लाग्छ यही अवस्था रह्यो भने पूर्ण निषेधाज्ञा हुन सक्छ।’

अहिले उपत्यकामा बेलुकी ८ बजेसम्म सबैलाई घर पुगिसक्नु पर्ने नियम लागु गरेको छ। प्रजिअ पराजुलीले भने, ‘हाल कोभिडको दर उच्च रहेको छ। जनै पूर्णिमा र गाइजात्रा जस्तो ठूला पर्व पनि नजिकै आएका छन्। यसलाई मध्यनजर गरेर पनि सूचना जारी गरेका छौं। यस्तो अवस्थामा स्वास्थ्यका मापदण्डहरु अपनाउन सबैमा अनुरोध गरेका छौं।’

उनले पर्वहरुलाई परम्परागत रुपमा सांकेतिक तवरले मनाउन र भीडभाड नगर्न पनि सबैमा अनुरोध गरेका छन्। उनले भने, ‘हामीले मास्क अनिवार्य गराएका छौं। यस्तो पाइएन भने कारवाही पनि गर्ने गरेका छौं। त्यस्तै भौतिक दूरीको पनि कुरा छ। स्वास्थ्यका मापदण्डहरु नअपनाएको अवस्थामा कोभिड बढ्छ। हामीले एनालाइसिस गरिरहेका छौं। ८ गते पुनः छलफल हुन्छ। त्यो बेलामा पूर्ण लकडाउनको अवस्था पनि आउन सक्छ।’

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय रहेको छ। पछिल्लो २४ घण्टामा थपिएका सँगै नेपालमा संक्रमितको संख्या सात लाख ४२ हजार २ सय २८ रहेको छ भने १० हजार चार सय २९ जनाले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म छ लाख ९१ हजार दुई सय ९९ जना निको भएका छन् भने ३७ लाख आठ हजार छ सय ८८ जनालाई पूर्ण खोप लगाइएको छ।

(डिसी नेपाल बाट )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।