देश विदेश

सङ्खुवासभा सामूहिक हत्यामा नयाँ मोड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

शेयर गर्नुहोस्

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा ट्विस्ट आएको छ ।अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ ।

लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए ।

‘नरेशलाई सोधपुछ गर्दै छौँ’ डिएसपी सुवेदीले भने–‘अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ ।’भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।

हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।

तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

‘लोकबहादुरले हत्या गर्दै गए, नरेश पछि–पछि थियो’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्–‘अन्तिममा ८४ वर्षीया पार्वती कार्कीलाई हत्या गरेर लोकबहादुर फर्केपछि पछिपछि लुक्दै गएका नरेश रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको देखिन्छ ।’

के भएको थियो  दिन ?

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोला गाउँमा भएको सामूहिक हत्याको आरोपमा एक जना युवकलाई प्रहरीले सार्वजनिक गरेको छ।

संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुरमा आइतबार पत्रकार सम्मेलन गर्दै मादी हत्याकाण्डका आरोपीलाई सार्वजनिक गरेको हो। भदौ २१ गते सोमबार एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संलग्न भएको आरोपमा मृतक परिवारका नाति नाता पर्ने साही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ।

लोकबहादुर एक भाइका सन्तान हुन् भने मृतक अर्काका सन्तान भएकोसमेत खुलेको छ। छिमेकी तथा नातामा नाति भतिज पर्ने लोकबहादुरले ८४ वर्षीया पार्वती भन्ने पार्वता कार्की, ५५ वर्षीय तेजबहादुर, तेजबहादुरकी श्रीमती कमला भन्ने मनमाया, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षका विपिन भनिने दीपेन र ५ वर्षीया गोमा कार्कीको हत्या गरेको प्रहरीले जनाएको छ।

उक्त हत्याकाण्डमा घरमा मुख्य व्यक्ति ९० वर्षीय बौद्धबहादुर भने जीवित रहेका छन्। उनी कान कम सुन्ने भएको र घटना हुँदा घरभित्र रहेकाले कोही बोलेको सुन्न सकेनन्।

प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले घटनामा संलग्न भएका कार्कीलाई छैटौं दिनमा पक्राउ गर्न सफल भएको हो। ‘पक्राउ परेका कार्की वैदेशिक रोजगारीको सिलसिलामा पटकपटक विदेश गए पनि स्वास्थ्यमा समस्या आएपछि फर्केर घरमा बसेका रहेछन्,’

डिआइजी बिसीले भने, ‘विदेश गए पनि केही कमाउन नसकेकोप्रति हिनताबोध भई समयसमयमा विक्षिप्त हुने गरेको र आफै आवेश तथा आक्रोशमा आई परिवारकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

पक्राउ परेका कार्कीलाई काकासमेत रहेका मृतक तेजबहादुरले समयसमयमा सम्झाउने बुझाउने गर्ने गरेको प्रहरीले जनाएको छ। घटना भएको दिन बिहान मृतक तेजबहादुर आरोपीको घरमा खेताला भन्न गएका थिए।

त्यहाँबाट फर्कंदा आरोपीले विगतमा आफूलाई तेजबहादुरले सम्झाउँदा भनेका शब्दलाई गाली–गलौजको रूपमा लिई आवेशमा आएर नजिकै रहेको दाउराको चिर्पटले टाउको पछाडि प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलको डिआइजी बिसीले भने।

मृतक तेजबहादुरलाई चिर्पटले प्रहार गर्न थालेपछि हारगुहार गर्दा श्रीमती र बुहारीसमेत घटनास्थलमा पुगेका थिए। दुईजना त्यहाँ पुगेपछि आरोपीले उनीहरुलाई समेत चिर्पट प्रहार गरी हत्या गरेका थिए।

त्यसपछि घर नजिक बाटोको डिलमा रहेका दुईजना नाबालकलाई समेत चिर्पटले प्रहार गरी हत्या गरेपछि उसले घरमा रहेकी वृद्धा पार्वताको कपाल समातेर भित्तामा टाउको ठोकाएर हत्या गरेका प्रहरीले जनाएको छ।

‘घटनामा प्रयोग भएको दाउरा घरमा लगेर आगो बालेको अनुसन्धानको क्रममा खुलेको छ,’ डिआइजी बिसीले भने, ‘लोकबहादुरले तेजबहादुरको हत्या गरेको घर–परिवारका अन्य सदस्यले देखेको हुँदा घटनालाई ढाकछोप गर्न परिवारका सबैको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको छ।’ पक्राउ परेका कार्कीविरुद्ध कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस् : साइप्रसमा कुक को डिमाण्ड, तलब एक लाख ४२ हजार (१०१८ युरो)

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *