साइप्रस न्युज

इ–पासपोर्ट नोभेम्बर १५ बाट वितरण हुने : फारम बुझाउन र लाइन बस्नु नपर्ने

शेयर गर्नुहोस्


२५ सेप्टेम्बर २०२१/ काठमाडौं

राहदानी विभागले इलेक्ट्रोनिक पासपोर्ट वितरणको तयारी थालेको छ ।

व्यक्तिगत डाटाको उच्च सुरक्षासहित वितरण गरिने इ–पासपोर्टले राहदानीका लागि घण्टौ लाइनमा बस्नुपर्ने सेवाग्रहीको बाध्यताको अन्त्य हुनेछ ।

हाल वितरण गरिएको एम आरपी पासपोर्ट भन्दा सुरक्षित हुने भएकाले विभागले अत्यावश्यक बाहेक अन्यलाई इ–पासपोर्टका लागि कुर्न पनि आग्रह गरेको छ ।

राहादानी विभागले कात्तिक अन्तिम साताबाट इलेक्ट्रोनिक पासपोर्ट वितरणको तयारी थालेको छ ।

व्यक्तिगत डाटाको सुरक्षासहित वितरण हुने इ–पासपोर्टमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिने तथा अन्य बायोमेट्रिक विवरण समावेश गरिने विभागको भनाइ छ ।

यी विवरण राखेर चिप लक गरिसकेपछि सूचना कसैले थपघट वा फेरबदल गर्न नसक्ने भएकाले यो सुरक्षित र भरपर्दो हुने राहदानी विभागले जनाएको छ ।

यस प्रकारको पासपोर्टबाट व्यक्तिको जानकारी सम्बन्धित निकायबाट अधिकार प्राप्त अधिकारी बाहेक कसैले हेर्न नसक्ने र व्यक्तिगत विवरणको दुरुपयोग नहुने राहदानी विभागका प्रवक्ता राजेन्द्र पाण्डे बताउनुहुन्छ । अध्यागमनका कर्मचारीले छिटो र सहज रूपमा सेवा दिन तथा सर्वसाधारणको विवरण गोप्य र सुरक्षित राख्न सकिने उहाँको भनाइ छ ।

इ–पासपोर्टका लागि अनलाइनबाटै फारम भर्न सकिने हुँदा फारम बुझाउनकै लागि लाइन बस्नुपर्ने झन्झट पनि हट्नेछ । अनलाइबाट भरेको फारम र डकुमेन्ट प्राप्त भएपछि आफूहरूले छापेर पठाइदिने भएकाले भीडभाड र लाइनको झन्झट नहुने प्रवक्ता पाण्डेको तर्क छ ।

विभागले हाल वितरण गरिरहेको एमआरपी पासपोर्ट पनि तत्काल नरोकिने जनाएको छ । इ–पासपोर्टका लागि सम्पूर्ण तयारी पूरा भएपछि मात्र यसलाई प्रतिस्थापन गर्ने विभागको तयारी छ । आफूहरूको योजनाअनुसार सबै काम भएमा कात्तिकमा सर्वसाधारणको हातमा इ–पासपोर्ट पुर्याउने विभागको लक्ष्य छ ।

राहदानी विभागले आइडिमिया आइडेन्टीटी नामक फ्रेन्च कम्पनीलाई २ अर्ब ४७ करोड ६७ लाखमा गत कात्र्तिकमा इ–पासपोर्ट छाप्ने जिम्मेवारी दिएको थियो । कम्पनीले जिम्मेवारी पाएको ३ वर्ष भित्र २० लाख इ–पासपोर्ट छाप्नेछ । हाल विभागबाट दैनिक २ सय बढी एमआरपी पासपोर्ट वितरण हुँदै आएको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *