महत्वपूर्ण जानकारी

सुरु भयो नेपालमा इ–पासपोर्ट, अब हरियो हैन खैरो पासपोर्ट, (सबै जानकारी)

शेयर गर्नुहोस्
१७ नोभेम्बर २०२१/ काथमाण्डौ

राहदानी विभागले आज बुधबारदेखि ई–पासपोर्ट (विद्युतीय राहदानी) जारी गरेको छ। बुधबार दिउँसो राहदानी विभागको त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई–पासपोर्टको औपचारिक सुरुवात भएको हो। ई–पासपोर्टको उद्घाटन संस्कृतिविद् सत्यमोहन जोशीको नाममा बनेको इलेक्ट्रोनिक पासपोर्टबाट गरियो।

जोशीलाई परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट वितरण गरे। उनले राहदानी विभागको नवनिर्मित भवनको पनि उद्घाटन गरे।

आजदेखि केन्द्रीयस्तरमा जारी भएको इलेक्ट्रोनिक पासपोर्ट मंसिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुनेछ। डिजिटल चिपमा आधारित ई–पासपाेर्ट जारी भएपछि सेवाग्राहीलाई झन्झट कम हुने र आफ्नो विवरण पनि थप सुरक्षित हुने बताइएको छ। यसअघि नेपालमा ६ प्रकारका मेसिन रिडेबल पासपोर्ट जारी गरिन्थ्यो।

विद्युतीय पासपोर्ट ६ वटा रंगमा जारी हुनेछ। सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ। मंसिर २ गतेदेखि सीमित सेवाग्राहीलाई विद्युतीय चिपमा आधारित पासपोर्ट वितरण हुनेछ। त्यस्तै मंसिर १५ गतेदेखि सबै सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट बनाउन सक्नेछन्।

ई–पासपोर्ट बनाउन सेवाग्राही काठमाडौं आउन नपर्ने राहदानी विभागले जनाएको छ। विभागका निर्देशक शरदराज आरनका अनुसार देशभरमा जिल्ला प्रशासन कार्यालयबाट यो पासपोर्ट प्राप्त गर्न सकिनेछ।

तर, जिल्ला प्रशासनबाट ई–पासपोर्ट बनाउन करिब १५ दिन समय लाग्नेछ। आकस्मिक रूपमा पासपोर्ट जारी गर्नुपरे काठमाडौंमै आउनुपर्नेछ। यसरी पासपोर्ट बनाउन १२ हजार शुल्क लाग्नेछ।

जिल्लाबाट बनाउँदा पाँच हजार शुल्क तिर्नुपर्नेछ। सेवाग्राहीले जिल्ला प्रशासनमा पुगेर फारम र आवश्यक डकुमेन्ट बुझाउन सक्नेछन्।

उक्त डकुमेन्ट जिल्ला प्रशासन कार्यालयले विभागको सर्भरमा अपलोड गर्नेछ। विभागले ई–पासपोर्ट जारी गरेर हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयहरूलाई पठाउनेछ।

‘यो पासपोर्ट निकै नै व्यवस्थित र सुरक्षित छ, यसमा विद्युतीय चिप र एन्टेना जडान गरिएको छ,’ निर्देशक आरनले भने, ‘चिपमा फोटो, औँठाछाप र व्यक्तिगत विवरण राखिन्छ। कागजी पासपोर्टभन्दा यो पासपोर्ट कैयौँ गुणा सहज र सुरक्षित छ।

घन्टौँसम्म लाइनमा बस्नु नपर्ने
विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार यो पासपोर्ट जारी गर्न धेरै समय लाग्दैन। सेवाग्राहीलाई पनि कार्यालयमा धेरै समय कुर्नुपर्दैन। उनका अनुसार यो उत्तिकै विश्वसनीय छ।

विगतमा प्रदान गर्दै आएको पासपोर्टभन्दा यो पासपोर्ट बनाउन निकै कम समय लाग्छ। यस्तो पासपोर्टमा राखिएको व्यक्तिगत रेकर्ड र विवरणहरू फेरबदल गर्न झन्झट हुने भएकोले कागजात पेस गर्दा चेकजाँच गर्न आग्रह गरिएको छ।

नेपालमा योभन्दा अघि हस्तलिखित र हरियो रंगको मेसिनरी राहदानी जारी हुँदै आएको थियो। अबदेखि संसारभर प्रचलित, वैज्ञानिक र भरपर्दो मानिएको इलेक्ट्रोनिक पासपोर्ट सुरु भएको विभागले जनाएको छ।

सेवाग्राहीले पहिलेको पासपोर्टमा जस्तै बुकलेट पाउनेछन्। नयाँ इलेक्ट्रोनिक पासपोर्ट ३४ पृष्ठको छ। नयाँ पासपोर्ट राष्ट्रिय परिचयपत्रसँग पनि कनेक्ट गरिएको विभागले जनाएको छ। उक्त कार्यको लागि विभाग र गृह मन्त्रालयले समन्वय गरेका छन्।

यी सात किसिमका राहदानीमध्ये कुन, कस्ता व्यक्तिले पाउँछन् त?

कूटनीतिक-

सरकारी वा विशेष कामका लागि विदेश भ्रमणमा जाने पदाधिकारीहरूलाई विभागले कूटनीतिक राहदानी जारी गर्छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि तथा राष्ट्रिय सभाका अध्यक्षले यस्तो राहदानी पाउँछन्।

त्यस्तै उपप्रधानमन्त्री, नेपाल सरकारका राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, न्याय परिषदका सदस्य, महान्यायधिवक्ता, राष्ट्रियसभामा विपक्षी दलका नेता, प्रदेशसभाका सभामुख, मन्त्रीहरू, प्रतिनिधि तथा राष्ट्रियसभा सदस्य, महावाणिज्यदूत, परराष्ट्रमन्त्रालय र मातहतका विभाग तथा कार्यालयमा कार्यरत राजपत्रांकित अधिकृत कर्मचारी लगायतलाई यस्तो राहदानी जारी गरिन्छ।

नेपाल सरकारका सचिव, नेपाली राजदूत, प्रहरी महानिरीक्षक राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रज्ञाप्रतिष्ठानका उपकुलपति, उपमहानगरपालिका प्रमुख, काठमाडौं महानगरपालिकाका उपप्रमुखका लागि यस्तो राहदानी जारी गरिन्छ।

संवैधानिक निकाय वा सचिवालयको सिफारिससहित कूटनीतिक राहदानी माग गरेमा पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व अध्यक्ष, पूर्व प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, व्यवस्थापिका संसदका पूर्व सभामुख तथा पूर्व परराष्ट्रमन्त्रीका लागि विभागले कूटनीतिक राहदानी जारी गर्छ।

कूटनीतिक राहदानी प्राप्त गर्ने व्यक्तिको कुनै पनि कारण पदबाट अलग भएमा, पदबाट अलग भएर नेपाल फर्किएको एक महिनाभित्र पासपोर्ट विभागमा फिर्ता गर्नुपर्छ।

विशेष

नेपाल सरकार, प्रदेश सरकार वा कुनै सरकारी निकायबाट मनोनयन भई सरकारी काममा विशेष भ्रमणमा जाने पदाधिकारीहरूलाई विभागले विशेष राहदानी जारी गर्छ।

यस्तो राहदानी नगरपालिका प्रमुख, प्रदेश लोकसेवा आयोगका सदस्य, न्यायसेवा आयोगका सदस्य, प्रदेश योजना आयोगका सदस्य लगायतका लागि जारी गरिन्छ।

त्यस्तै काठमाडौं महानगरपालिका बाहेकका महानगरपालिकाका उपप्रमुख, जिल्ला समन्वय समितिका उपप्रमुख, नगरपालिकाका उपप्रमुख, नेपाल सरकारका सचिव एंव राजपत्रांकित प्रथम श्रेणी वा सो सरहका अधिकृत, जिल्ला न्यायाधीसका लागि जारी गरिन्छ।

कूटनीतिक राहदानी पाउने पदाधिकारी बाहेकका निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, तथा स्थानीय तहका अधिकृतस्तरका कर्मचारी गाउँपालिकाका उपाध्यक्ष लगायतका लागि विशेष राहदानी जारी गरिन्छ।

राष्ट्र बैंकका डेपुटी गर्भनर, प्रचलित कानुन बमोजिम गठित आयोग, समिति तथा बोर्डका पदाधिकारीहरूका लागि पनि विशेष राहदानी जारी गरिन्छ। सरकारबाट मनोनयन भइ छात्रवृत्तिमा अध्ययन गर्न वा भ्रमण तथा तालिममा सहभागी हुन जाने सरकारी कर्मचारीले समेत यस्तो राहदानी पाउँछन्।

विशेष राहदानी राहदानी प्राप्त गर्ने व्यक्तिको कुनै पनि कारण पदबाट अलग भएमा, पदबाट अलग भएर नेपाल फर्किएको एक महिनाभित्र राहदानी विभागमा फिर्ता गर्नुपर्छ।

सर्भिस

अहिले नयाँ थप्न लागिएको यो पासपोर्ट विदेशस्थित नियोगमा खट्न जाने राजदूत, स्थायी प्रतिनिधि, महावाणिज्यदूत, वा राजपत्रांकित तहका कर्मचारीका साथ जाने निजी सहयोगी र श्रेणाीबिहीन कर्मचारीले पाउँछन्।

आफ्नो कार्यकाल सकिएपछि त्यस्ता निजी सहयोगी र श्रेणीबिहीन कर्मचारीले यो राहदानी विभागमा फिर्ता गर्नुपर्छ।

अस्थायी

विदेशमा रहेकाको राहदानी बहाल अवधि सकिएमा, हराएमा वा झुत्रो भएर प्रयोग गर्न नसकिने अवस्थामा कूटनीतिक नियोगमार्फत यस्तो अस्थायी राहदानी जारी गरिन्छ। यसका लागि आवश्यक काजगतसहित सम्बन्धित नियोगमा निवेदन दिनुपर्छ। नियोगले नौ महिना बहाल रहने गरी अस्थायी राहदानी जारी गर्छ। यो नयाँ राहदानी जारी भएपछि रद्द गरिन्छ। अवस्था हेरेर यस्तो पासपोर्ट जारी गरिने विभागका निर्देशक शरदराज आरन बताउँछन्।

सिम्यान्स अभिलेख किताब (सिम्यास पासपोर्ट)-

पानीजहाजमा काम गर्न जाने नेपालीलाई विभागले यस्तो किसिमको राहदानी जारी गर्छ। साधारण राहदानीवाहकले पानीजहाजमा काम गर्न जाने प्रयोजनका लागि विभाग वा नियोगमा सिम्यान्स अभिलेख पासपोर्टका लागि आवेदन दिन सक्छन्। आवेदन आएमा तोकिएको शर्तको अधीनमा रही विभागले सिम्यान्स अभिलेख किताब जारी गर्छ। यसको बहाल अवधि निजको सेवाअवधि तथा उमेरलाई विचार गरी बढीमा दस वर्षको हुन्छ।

 

साधारण (३४ र ६६ पृष्ठ)-

विभागले नेपाली नागरिकलाई साधारण राहदानी जारी गर्छ। यो जारी भएको एक वर्षभित्र सम्बन्धित व्यक्तिले लगिसक्नुपर्छ नभएए विभागले रद्द गर्नेछ। पटक–पटक विदेशिनुपर्नेका लागि ६६ पृष्ठको र छोटो अवधिका लागि चाहिनेका लागि ३४ पृष्ठको साधारण राहदानी जारी गरिने निर्देशक आरनले जानकारी दिए।

कुन पासपोर्ट कुन रङका?

विभागले हाल कूटनीतिक राहदानी रातो रङमा, विशेषलाई आकाशे नीलो, साधारणलाई हरियो रङमा जारी गर्दै आएको छ।

अब भने कूटनीतिक राहदानी सिम्रिक रातो, विशेष राहदानी आकाशे नीलो, सर्भिस राहदानी सुन्तले, साधारण राहदानी चकलेटी खैरो र यात्रा अनुमति पत्र कालो, सिम्यान्स अभिलेख किताब स्लेट खैरो, अस्थायी राहदानी चकलेटी खैरो हुने राहदानी नियमावली २०७७ मा उल्लेख छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *