Uncategorizedदेश विदेश

व्यापारमा चीनको असहयाेगः दैनिक दुई सय ट्रक आउने नाकाबाट अहिले मुस्किलले २० वटा मात्र

शेयर गर्नुहोस्

लामो समयदेखि चीनसँगका दुई नाका सहज रुपमा सञ्चालनमा नआएपछि व्यवसायी र स्थानीयले नाका पूर्णरुपमा सुचारु गर्न माग गरेका छन्।

चीनले अघोषित नाकाबन्दी गरेको आरोप लगाउँदै उनीहरुले नाका सुचारु गर्न दबाब दिन बुधबार राजधानीमा प्रदर्शन गरे। कोभिड सुरु भएपछि बन्द भएका केरुङ र तातोपानी नाका केही खुले पनि पूर्ण रुपमा खुलेका छैनन्। दैनिक दुई सयदेखि साढे दुई सय ट्रक सामान आयात हुने यी नाकाबाट अहिले मुस्किलले दैनिक २० वटा गाडीमात्रै भित्रिन पाएका छन्।

चीनसँगको केरुङबाट दैनिक नौ ट्रक र तातोपानी नाकाबाट ११ ट्रक सामान आयात भैरहेको भन्सार कार्यालयले जनाएका छन्। आयात हुने सामानमा पनि जलविद्युत्का सामान, तरकारी, फलफूल, स्याउ, लसुनलगायतका सामग्रीले प्राथमिकता पाउँछन्। जाडोका लागि ल्याएका सामान अझै आइनपुगेको व्यवसायीको गुनासो छ।

चिनियाँ पक्षले कडाइ गर्दै थोरै ट्रक छाडेकाले सामान लोड भएका सयौं ट्रक चीनतर्फ अड्किएको हिमालयन सीमापार वाणिज्य संघले जनाएको छ। ‘चीनले एक प्रकारको अघोषित नाकाबन्दी नै गरेको छ,’ संघका महासचिव भरत कार्कीले भने, ‘पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन।’ संघका अनुसार तातोपानी र केरुङतर्फ करिब पाँच सय गाडी रोकिएका छन्। सुरुमा चिनियाँ पक्षले कोभिडको कारण कडाइ गरेको बताए पनि कोभिड कम हुँदा पनि गाडीको संख्या बढाएन।

केरुङ हुँदै आउने सामान चिनियाँ पक्षले केरुङ र रसुवागढीको बीचमा रहेको पुलमा झार्ने गरेको छ। त्यहाँबाट नेपाली कामदारले लोड गरी ल्याउँछन्। कोभिडको कारण चिनियाँ पक्षले सामान पुलमा झार्दा लोड गर्न पनि नेपाली व्यापारीलाई झन्झट छ। तातोपानी नाकामा भने चिनियाँ कन्टेनरले नै भन्सारसम्म सामान ल्याएर छाड्ने गरेकाले केही सजिलो छ।

नेपालीका समस्यामा चिनियाँ पक्ष गैरजिम्मेवार बनेको व्यापारीको आरोप छ। परराष्ट्र मन्त्रालयमा तीनचारपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको व्यवसायीले गुनासो गरे।

कूटनीतिक पहल नपुगेको हिमालयन सीमापार वाणिज्य संघका पूर्वमहासचिव नवराज तिमल्सिनाले बताए। ‘तीनचार महिनादेखि सामान रोकिएका छन्,’ उनले भने, ‘सरकारले कूटनीतिक पहल गर्न सकेन।’

नेपाली बजारमा चिनियाँ सामानको वर्चस्व छ। तातोपानी र केरुङबाट सामान आयात गर्दा १८–२० दिनमै आइपुग्छ। भारतको कोलकाताबाट कन्टेनरमा नेपालसम्म सामान आइपुग्न करिब ४०–४२ दिन लाग्छ। तातोपानी र केरुङ हुँदै सामान आयात गर्न आधा समय कम लाग्ने भएकाले व्यापारीले यतैबाट ल्याउन चाहान्छन्। तर चिनियाँ पक्षले नेपाली व्यवसायीको मागलाई बेवास्ता गरेको छ।

नेपालमा चीनबाट वार्षिक खर्बौं रुपैयाँको सामान आयात हुन्छ। भन्सार विभागको आर्थिक वर्ष ०७७/७८ को तथ्यांकअनुसार दुई खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँको सामान चीनबाट आयात भएको छ। भारत हुँदै ल्याउँदा पानीजहाजको भाडा केही महंगिएको कारण केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्न चाहन्छन्।

कोभिड सुरु भएदेखि कडाइ भएको केरुङ र तातोपानी नाकाको अवस्था अहिले पनि उस्तै छ। नेपाली व्यवसायी र सरकारले नाकाबाट आयात हुने गाडीको संख्या बढाउन पटकपटक आग्रह गरे पनि चिनियाँ पक्षले सुनुवाइ नगर्दा नेपाली व्यवसायी मर्कामा परेका हुन्। निकै थोरै कोटा तोकेर सामान पठाएकाले महिनौंदेखि नेपाली व्यवसायीका सामान सीमा क्षेत्रमा रोकिएको व्यवसायीको गुनासो छ।

व्यवसायीले गाडीको कोटा बढाउन माग गरे पनि सरकारले ठोस पहल गर्न सकेको छैन। व्यवसायीका गुनासोबारे उपल्लो निकायमा जानकारी गराएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनाली बताउँछन्। ‘उपल्लो निकायबाट पहल भएको सुन्छौं,’ मैनालीले भने, ‘तर परिणाम आएको छैन।’ विगतमा भन्सार प्रमुखहरूले चिनियाँ समकक्षीसँग छलफल गर्ने गरेकोमा अहिले त्यो पनि रोकिएको छ। ‘अहिले चिनियाँ समकक्षीसँग छलफल पनि हुँदैन,’ उनले भने।

कोभिड सुरु भएपछि रोकिएको आयात बीचमा कोभिड संक्रमण घट्दा पनि बढेन। दैनिक सय बढी गाडी आउने नाकाबाट १०/११ वटा मात्र गाडी आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्री कूटनीतिक पहल बढाउनुपर्ने बताउँछन्। ‘व्यवसायी गुनासा लिएर आउँछन्,’ खत्रीले भने, ‘हामीले गर्न सक्ने केही छैन। सरकारले कूटनीतिक पहल बढाउनुपर्छ।’

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले व्यवसायीका गुनासालाई सम्बन्धित निकायमा पुर्‍याउने काम भैरहेको बताइन्। ‘धेरै गाडी छुटाउनका लागि कूटनीतिक पहल गर्दै आएका छौं,’ लम्सालले भनिन्, ‘राजदूतलाई पनि यो विषय जानकारी गराएका छौं।’ चीनमा रहेका नेपाली दूतावास, महावाणिज्य दूतमार्फत पनि समस्याबारे जानकारी गराएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कूटनीतिक पहल भएको बताउँदै आए पनि ढुवानी भने सहज बनेको छैन।

शेयर गर्नुहोस्