देश विदेश

अनलाइनमा चिठ्ठा परेको भन्दै भयो साढे २९ लाख ठगी

शेयर गर्नुहोस्

पछिल्लो समय विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गर्ने क्रियाकलाप बढिरहेको छ । फेसबुक, भाइबर, ह्वाट्सएप, इमोजस्ता सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाउँदै सोझा मानिसलाई ठगी गर्ने प्रवृत्ति बढेको हो ।

प्रहरी कार्यालयमा दिनहुँ यस्ता घटनाको उजरी टिपाउनेकाे संख्याले पनि यस्ता फ्रड बढिरहेकाे देखाउँछ । विभिन्न सामाजिक सञ्जालमार्फत् अनधिकृत व्यक्तिले भिडिओ, अडियो तथा टेक्स्ट म्यासेज गरी चिठ्ठा परेको भन्दै प्रलोभनमा पार्ने र प्रयोगकर्ताबाट पैसा असुल्ने काम भइरहेको छ ।
हालै अनलाइनमार्फत भएकाे यस्तै ठगीजन्य घटना बाहिरिएकाे छ । अनलाइनमार्फत चिठ्ठा परेको भन्दै करिब साढे २९ लाख ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मन्डनदेउपर घर भई हाल भक्तपुर ठिमी बस्ने ३८ वर्षीय गान्दिप गौतम रहेका छन् । आफूलाई विदेशी नागरिक डा. जोहन लरेन्स बताउँदै ती व्यक्तिले ह्वाट्सएप नम्बर +४४७४३३८१३८०० बाट पीडितलाई म्यासेज गरेका थिए ।

प्रहरीका अनुसार ९० लाखको चिठ्ठा परेको छ, साथै पार्सलका रूपमा सुनको सिक्री र दुई लाख पाउन्ड भएको सुटकेश समेत पठाएको भन्दै पीडितलाई यो रकम र पार्सल पाउन विभिन्न बैंक खाता र रेमिट्यान्समा कूल २९ लाख ४० हजार पैसा जम्मा गर्न लगाइएको थियो ।

यति ठूलो रकम र उपहार पाउने भएपछि पीडितले पनि दंग हुँदै धमाधम ताेकिएकाे बैंक खाता र रेमिट्यान्समा पैसा जम्मा गर्दै गए ।

पटक पटक गरी पीडितले २९ लाख ४० हजार रूपैयाँ पठाए । उनलाई आफू त्यतिबेला मात्र ठगिएको महसुस भयो, जब चिठ्ठा परेको खबर गर्नेसँग उनको सम्पर्क विच्छेद भयो ।

अहिले अनलाइनमार्फत विभिन्न प्रलोभन देखाई ठगी गर्ने यस्ता गतिविधि बढिरहेको छ ।

‘चिठ्ठाको नाममा ट्याक्स क्लियरेन्स गर्नुपर्ने भएकाले बैंक तथा अनलाइन पेमेन्ट गेटवेमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेको छ,’ साइबर ब्यूरोले जारी गरेको एक सूचनामा भनिएको छ, ‘त्यसैले त्यस्ता भ्रामक कुरामा विश्वास नगरी प्रविधिको दुरुपयोगबाट बच्न तथा ठगी हुनबाट सतर्कता अपनाउनु हुने अनुरोध छ ।’ टेकपानामा प्रकाशित

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।