देश विदेश

अब विदेशबाट दुई ओटा फोन ल्याउन पाइने तर यो सुविधामा छन् २ शर्त

शेयर गर्नुहोस्

अब विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा दुई ओटा मोबाइल ल्याउन पाउने भएका छन् ।  तर यसका लागि शर्तसमेत राखेको छ।

मंंगलबार बसेको मन्त्रिपरिषदको बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुई ओटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसका लागि श्रम मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक तयारी गरी कार्यान्वयनमा लैजाने उनले उल्लेख गरिन् ।

यसअघि वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले एउटा फोनमात्र ल्याउन पाउने व्यवस्था थियो । यही व्यवस्थाका कारण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयन हुन सकेको थिएन ।

चौतर्फी विरोध हुन थालेपछि गत पुस १५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू नगर्न निर्देशन दिएका थिए ।

कस्तो सर्त ?

यो सुविधा विदेश जाने सबै नेपालीले पाउने छैनन्। भन्सार छुटको सुविधा पाउन वैदेशिक रोजगारीमा गएको प्रमाण चाहिन्छ। त्यसका लागि श्रम स्वीकृति अनिवार्य गरिएको छ।

यो सँगै वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले मात्र यो सुविधा पाउने छन्।

२०७७ जेठ १५ गते प्रकाशित सूचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो।

मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगरीमा ६ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन पाउने सुविधा थपेको हो।

भन्सार छली तथा अवैध तवरबाट भित्रिने फोनको कारोबार रोक्न सरकारले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याएपछि वैदेशिक रोजगारबाट फर्कँदा एउटा मात्रै मोबाइल ल्याउन पाउने कानूनी प्रावधानको विरोध भएको थियो।

विरोधसँगे सरकारले तत्काल सो प्रणाली रोकेको थियो। कानून संशोधनसँगै सो प्रणाली पुन: शुरू गर्ने तयारी गरे पनि सरकारले गरेको छ। यद्यपि मिति भने तोकेको छैन।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।