देश विदेश

डोटीको रुपसकाँडामा प्याराग्लाइडिङको आकर्षण बढ्दै

शेयर गर्नुहोस्

डोटीको जोरायल गाउँपालिका–२ रुपसकाँडामा प्याराग्लाइडिङ सञ्चालन भएपछि पर्यटकको आर्कषण बढ्दै गएको छ । बुडर र रुपसकाँडाका डाँडामा प्याराग्लाइडिङ शुरु गरिएपछि आन्तरिक पर्यटक तथा प्याराग्लाइडिङ गर्नेको आकर्षण बढ्न थालेको छ । 

यहाँका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायतका क्षेत्रका स्थानीयवासीको रोजाइँमा प्याराग्लाइडिङ पर्न थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरतबहादुर कुँवरले बताए । उनले भने, ‘हामीले प्याराग्लाइडिङ उडान गर्न सुरु गरेपछि आन्तरिक पर्यटक बढ्दै गएका छन्, अहिले यहाँ चहलपहल बढ्नुका साथै होटेल व्यवसय पनि राम्रै चलेको छ ।’

अहिले दैनिकजसो सात÷आठजना आन्तरिक पर्यटकले दैनिक प्याराग्लाइडिङ उडान भर्ने गरेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले जनाएको छ । कम्तीमा पनि २० मिनेटको उडान अवधि रहेको उक्त प्याराग्लाइडिङ उडानमा बुडर, छतिवन, रुपसकाँडा, बाजीलेक तथा डडेल्धुरा जिल्लाका भित्री मधेशमा रहेका पर्यटकी क्षेत्रको अवलोकन पनि सहजै गर्न सकिने भएकाले प्याराग्लाइडिङ उडान भर्न आन्तरिक पर्यटक बढी आउन थालेको जोरायल गाउँपालिका–२ बुडरका स्थानीयवासी तथा होटेल व्यवसायी शङ्कर रावलले बताए ।  

उनले भने, ‘हिँडेर निकै टाढा रहेका यहाँका पर्यटकीय क्षेत्र अकाशबाट आखै अगाडि देख्न सकिने भएको पर्यटकको आर्कषण बढेको हो, प्याराग्लाइडिङ उडानले राम्रो अनुभव भएको छ ।’ समितिका अनुसार प्याराग्लाइडिङका लागि रु चार हजार टिकट तोकिएको छ भने रुपसकाँडामा अहिले दैनिक दुई वटा प्याराग्लाइडिङ टेण्डमबाट उडान सञ्चालन भइरहेको छ । छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समिति तथा स्काइलाइन प्रालि पोखराले पर्यटकलाई प्याराग्लाइडिङ गराउँदै आएका छन् । बुडर क्षेत्रमा प्याराग्लाइडिङका लागि निकै उयुक्त मौसम तथा ठाउँ भएकाले यहाँको प्याराग्लाइडिङ राम्रो फष्टाउने स्काइलाइन प्रालि पोखरा प्याराग्लाइडिङ चालक भुवन गाहाले बताए ।  

स्काइलाइन प्रालि तीन वर्ष अघिदेखि नै कम्पनी दर्ता गरी प्याराग्लाइडिङ थालेको हो । रुपसकाँडामा हावाको वेग तटस्थ हुँदा सहज प्याराग्लाइडिङ गर्न सकिने तथा यहाँको हावाको वेगले प्याराग्लाइडिङ उडान भर्न सहज हुने गरेको अर्का पाइलोट विष्णु तिमिल्सिनाले बताए ।  

जोरायल गाउँपालिका–२ का वडाध्यक्ष मानबहादुर मल्लले  यहाँको प्याराग्लाइडिङबाट हिमाल, हरियाली डाँडाकाँडा सुन्दरबस्ती, तराईका फाँट, नदी खोलाका साथै अन्य रमणीयस्थल देख्न सकिने भएकाले स्वदेशी पर्यटकको आकर्षण बढेको बताए ।  

यहाँका अग्ला डाँडामा हिउँ परेका कारण पनि हिउँ हेर्न तथा ठाउँ हेर्नका लागि प्याराग्लाइडिङ गर्न पर्यटक आउन थालेको अर्का स्थानीयवासी लोकबहादुर मल्लले जानकारी दिए । रासस 

प्रकाशित: २७ माघ २०७७ १८:०७ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *