देश विदेश

आजै टोकन, आजै श्रम स्वीकृति

शेयर गर्नुहोस्

सविता खड्का

वैदेशिक रोजगार कार्यालयले आधा घण्टामै श्रम स्वीकृति दिएपछि सिन्धुपाल्चोकबाट आएका एक युवा आश्चर्यमा परे। ‘यही कार्यालय हो,’ उनी भन्छन्, ‘५-६ दिनमा पनि नहुने काम आधा घन्टामै भएको छ। गरे हुने रहेछ।’

युवा फेरि वैदेशिक रोजगारीमा जान लागेका हुन्। उनको अनुभव यसअघि श्रम स्वीकृति लिँदाभन्दा सुखद् रहेको छ। ‘युएईका लागि पुनः श्रम स्वीकृति लिन यहाँ आएको हुँ,’ उनले भने, ‘घरबाटै सबै कागजात बोकेर आएको थिएँ। फारम भरेर चाहिने मेरो कागजात पनि सबै बुझाएँ। धेरै समय नै लागेन, आधा घण्टामै श्रम स्वीकृति लिएँ।’

उनले भने, ‘अहिले विदेश जाने सबैले घरै बसेर अनलाइनमार्फत श्रम स्वीकृति लिने भएर होला, वैदेशिक रोजगार कार्यालय पूरै खाली छ। म भने अनलाइनबाट श्रम स्वीकृति लिन अप्ठेरो लाग्ने भएर यहाँ आएको। एकैछिनमा काम भयो। यहाँ फारम भर्न नसक्दा कर्मचारी पनि खटाइदिएको रहेछ। उहाँले सबै गरिदिनुभयो।’

‘आजै टोकन लियो, आजै श्रम स्वीकृति पनि। अहिले त भर्खरै टोकन लिएर श्रम स्वीकृति लिन मिल्छ। श्रममन्त्रीले गरेका निर्णयमा कार्यालयका कर्मचारीहरू आज्ञाकारी भएर काम गरिरहेका छन्। यसरी श्रम स्वीकृतिको काम सहजै भएसँगै वैदेशिक रोजगारीको क्रममा ठगीको कार्य पनि ठप्प भए हुन्थ्यो,’ उनले भने।

पूर्वघोषणाअनुसार वैदेशिक रोजगार तथा श्रम कार्यालयहरूले घन्टाभरमै श्रम स्वीकृति दिइरहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घन्टाभित्र श्रम स्वीकृति दिनेगरी निर्देशन गरेअनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सुधार आएको छ।

वैदेशिक रोजगार कार्यालयले कागजात मिलेको अवस्थामा घण्टाभरमै श्रम स्वीकृति दिँदै आएको वैदेशिक रोजगार कार्यालयका कार्यालय प्रमुख दिपकराज नेपालले बताए। ‘एक घण्टाभित्र श्रम स्वीकृति दिने हाम्रो प्रयास सफल भएको छ,’ उनले भने, ‘कागजात मिलेको खण्डमा पाँचै मिनेटमा श्रम स्वीकृत भएको छ। घरमै बसेर अनलाइनमार्फत श्रम स्वीकृति लिने र कार्यालय धाउने युवाले उक्त सुविधा प्राप्त गरेका छन्। वैदेशिक रोजगारीका लागि अधिकाशं युवाले अनलाइनबाटै श्रम स्वीकृति लिने गरेका छन्, भने कार्यालयलमा धाउने युवा फाट्टफुट्ट हुन्छन्।’

वैदेशिक रोजगारीसम्बन्धी कामकारवाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार कार्यालयले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो। ‘प्रणालीमा आउने समस्याका कारण पहिले श्रमिकले घण्टाभरमै श्रम स्वीकृति पाएका थिएनन्। तर, प्रणालीमा आएको उक्त समस्या सल्टिएपछि घण्टाभरमै श्रम स्वीकृति पाएका छन्,’ उनले भने।

सबै कागजात मिलेको अवस्थामा पाँचसात मिनेटमै विदेसिने युवाले श्रम स्वीकृति लिन सफल भएको वैदेशिक रोजगार कार्यालयका सूचना अधिकारी कल्पना मास्केले बताइन्। ‘पुनः श्रम स्वीकृति दैनिक करिब १५ सय र नयाँ तीन सय श्रम स्वीकृतिको टोकन सुविधा छ,’ उनले भनिन्, ‘लगभग सबैले श्रम स्वीकृति लिएका छन्। कागजात नमिलेको खण्डमा त्यस्ता युवाले मात्रै स्वीकृति पाउँदैनन्।

‘पहिला एक श्रमिकको श्रम स्वीकृति दिन एक कर्मचारीले प्रमाणीकरण गर्ने र अर्को कर्मचारीले स्वीकृति गर्ने प्रक्रिया थियो। त्यतिखेर श्रमिकका लागि श्रम स्वीकृति दिने ५-७ जना मात्रै कर्मचारी थिए। तर, अहिले कार्यालयका सबै कर्मचारीले श्रम स्वीकृति दिने गरेका छन्। यसले, उसले गर्ने भन्ने छैन्, सबैले श्रम स्वीकृति दिने गरेका छन्।’

सबै कमैचारी मिलेर श्रम स्वीकृति दिनुका साथै कर्मचारी तीन सिफ्टमा रहेर जिम्मेवार लिएकोले यो सम्भव भएको उनले बताइन्। यो संवाददाता श्रम कार्यालय ताहाचलमा बुधबार १२ बजेसम्ममा पाँचसय जनाले स्वीकृति पाइसकेका थिए।

विभागअन्तर्गतका वैदेशिक रोजगार कार्यालय काठमाडौंसहित श्रम तथा रोजगार कार्यालय पोखरा, श्रम तथा रोजगार कार्यालय बुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ।

वैदेशिक रोजगारीका लागि युवाले लिने श्रम स्वीकृति सातवटै प्रदेशबाट लिने व्यवस्था छ। काठमाडौं, ताहाचलबाटमात्रै सातामा १० हजारभन्दा बढीले श्रम स्वीकृति लिने गरेको कार्यालयका कर्मचारीले बताए।

‘चाहेको खण्डमा काम हुने रहेछ,’ उनले भनिन्, ‘पहिले यहि काम गर्न कति भार थियो। अहिले त्यहिभार सहजै भइरहेको छ। यसरी काम हुदाँ हामीलाई पनि आनन्द हुने रहेछ। श्रम स्वीकृति दिन एक घण्टा पनि लागेको छैन। दैनिक वितरण गरिएको टोकन सकिएको खन्डमा सोही दिन आवश्यक परे थप पनि दिने गरेका छौं। अहिले केहीमा रोकावट छैन।’ श्रमिकको सबै कागजात नपुगेको खन्डमा धेरै दिनसम्म पनि श्रम स्वीकृति दिन गारो हुने उनले बताइन्।

‘श्रम स्वीकृतिका लागि आजको आजै मात्रै काम नभएर घण्टाभरमा काम भइरहेको छ। मन्त्रीज्यूले भनेको कुरालाई हामीले दृष्टिगत गरेर काम गरिरहेका छौं। उहाँले भन्नुभएको जस्तै एकै घण्टामा श्रम स्वीकृति दिन सम्भव छ,’ उनले भने।

वैदेशिक रोजगार कार्यालयबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति घण्टाभरमै दिन सकिरहेको निर्देशक मास्केले बताइन्। यसलाई अझै सहजीकरण गर्न खोजिरहेको उनले बताइन्। सबै किसिमका श्रम स्वीकृति घण्टाभरमै गर्न नसक्ने भए र प्रमाणित गरेर लिखित रूपमा दिन कर्मचारीलाई मन्त्री अर्यालले आदेश दिएका थिए। उनले कार्यालय भ्रमण गर्दा कर्मचारीहरूसँग छलफलमा बोल्दै मन्त्री अर्यालले भनेका थिए, ‘तपाईहरू सक्दिनँ भनेर प्रमाणित गर्नुस्। अहिले जुन सिस्टम छ त्यही सिस्टमबाट एक घण्टामा श्रम स्वीकृतिको काम सक्ने सिस्टम म एक महिनामा बनाउँछु, यो मेरो तपाईहरूसँग चुनौती भयो।’

करिब दुई साता अघि मन्त्री अर्यालको निर्देशनअनुसार कार्यालयका कर्मचारीहरूले काम गर्न अहिलेकै व्यवस्थाबाट असम्भव रहेको जवाफ दिए पनि हाल भने दैनिक घण्टाभरमै काम भइरहेको छ।

पछिल्लो समय सफ्टवेयरमा समस्या आउँदा दुई÷चार दिनसम्म पनि श्रम स्वीकृति दिन नसकिएको कर्मचारीहरूले बताउँदै आएका थिए। जसकारण श्रमिकहरूले दुःख पाइरहेका थिए। समयमा श्रम स्वीकृति नहुँदा कतिपय युवाको उडानसमेत छुट्ने गरेको कार्यालयमा धाउँदै गरेका पीडितहरूको गुनासो हुन्थ्यो। तर, कार्यालयका कर्मचारीले चाहेको खन्डमा एकै घण्टामा पनि श्रम स्वीकृति दिन सकिने यो एक प्रमाण हो।

यसअघि तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले फेमिस प्रणाली सुधारका लागि भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेका थिए। तर, नियमविपरीत कोषको पैसा दुरूपयोग गर्न लागेको भन्दै चौतर्फी विरोध भएपछि अख्तियारले रोकिदिएको थियो।

नागरिक अनलाइन मा प्रकाशित सामाग्री 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *