देश विदेश

धरहरा फागुनसम्म सक्न निर्देशन

शेयर गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र सिंहदरबारको पुनर्निर्माण आगामी महिनाभित्रै सक्न गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको पुनर्निर्माण कार्यको निरीक्षण गर्दै आगामी महिनाभित्रै सम्पन्न गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले सिंहदरबार पुनर्निर्माणका क्रममा पुरातात्विक महत्वका वस्तुलाई यथास्वरूपमै कायम राख्न निर्देशन दिएका छन्।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री कार्यालयलाई भूकम्पपश्चात गरिएको सबलीकरण, कार्यालय प्रयोजनका लागि व्यवस्था गरिएका बैठक कक्ष, प्रतीक्षा कक्षलगायत संरचना, आपतकालीन तथा अग्नि नियन्त्रक संयन्त्र एवं कार्यालयमा २४सै घन्टा उपलब्ध हुने ताजा हावा सहितको वातानुकुलन प्रणालीबारे जानकारी गराएका थिए।

सिंहदरबारको निरीक्षणपछि प्रधानमन्त्रीले पुनर्निर्माणको अन्तिम चरणमा रहेको धरहरा क्षेत्रको निरीक्षण गरेका थिए। कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधीन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहीँबाट १०/१० जना अट्ने क्षमताको लिफ्ट रहने जानकारी दिए। उनका अनुसार १८औं तलामा घरहरासम्बन्धी डिजिटल प्रस्तुतीकरण कक्ष रहनेछ। हाल जारी २१औं तलाको ढलान सकिएपछि २२औं तला समेतको काम गरी त्यहाँ पहिले रहेको महादेवको प्रतिमा पुनस्र्थापना तथा गजुर जडानको काम गरिने उनले जानकारी गराए।

यसबाहेक अहिले पानी सुकेको र निकास समेत बन्द भएको अवस्थामा रहेको ऐतिहासिक सुन्धारालाई निरन्तर पानी आउने अवस्थामा ल्याई संरक्षण गरिने छ। यसैगरी यसअघि टक्सारको भवन रहेको स्थानमा मुद्रा तथा सिंक्कासम्बन्धी विविध सामग्रीसहितको संग्रहालय बनाउने र भूकम्पले भत्काएको धरहरालाई यथावत स्वरुमा शिशाले छोपेर एक सजीव भूकम्प संग्रहालयका रूपमा संरक्षण गरिने ज्ञवालीले जानकारी दिए। यसअघि करिब साढे चार रोपनीमा रहेको धरहरा परिसर अब ४२ रोपनीमा विस्तार हुँदा राजधानीले एक ऐतिहासिक खुल्ला स्थान पाउने उनले बताए। धरहरा परिसरको भूमिगत पार्किङस्थलमा चार सयवटा चारपांग्रे र सात सयवटा मोटरसाइकल अट्ने भएकोले राजधानीको पार्किङ समस्या धेरै हदसम्म सम्बोधन हुनेछ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *