देश विदेश

माओवाद भुलेका माओवादी

शेयर गर्नुहोस्

२०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूमिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्तीहरु अहिले रोल्पाबाट निर्वाचित जनप्रतिनिधि छन्। प्रतिनिधि सभामा जितेका बर्षमन पुन, प्रदेशसभा ‘क’ बाट निर्वाचित कुलप्रशाद केसि सोनाम र ‘ख’ बाट निर्वाचित दिपेन्द्र पुन सिजल ‘होलेरी’ आक्रमणमा सहभागी पात्र हुन्। त्यसो त आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन वर्तमान उपराष्ट्रपति छन्।

सोहि १० वर्षे सशस्त्र द्वन्द्वका अर्का रोल्पाली हस्ती नेत्रबिक्रम चन्द ‘विप्लव’ यतिबेला एकीकृत जनक्रान्तिका नारा बोकेर भूमिगत छन्। हिजो संगै युद्ध लडेका विप्लवका धेरै सकृय कार्यकर्ता जेल वा हिरासतमा छन्। एकले अर्कोलाई सिध्याउने लक्ष्य बोके जस्ता देखिने हिजोका उग्र माओवादीहरुले माओवाद भने बिधिवत भुलिसकेका छन्।

चार वर्ष अगाडि रोल्पाको थवाङमा भएको अधिबेशनमा माओवादलाई उतै छाडेर आएको विप्लव नेतृत्वको बिद्रोही नेकपा र एमालेसंग पिरति गास्दा माओवादलाई छेउतिर पन्छाएको सरकारी नेकपाका गतिबिधिले पूर्व लडाकु र कार्यकर्ता भने यतिबेला असन्तुट र अन्यौलमा देखिन्छन्। होलेरी आक्रमणसंगै भूमिगत भएको तत्कालीन माओवादी र उसका नेतृत्वले पछिल्लो राजनीतिक परिवर्तनमा आफ्नो अमूल्य भूमिका रहेको दाबी गर्दै देश समृद्धिको बाटोमा अगाडि बढेको बताइरहँदा आम जनमासमा असन्तुष्टि बढ्दै गएको हो।

अहिले सम्म राजनीतिक परिवर्तन बाहेक समय क्रमले भएको वा हुन सक्ने विकास बाहेक केही भएन भन्ने गुनासो युद्धमा लागेकैहरु बताउँछन्। परिवर्तनको मिठो सपना बोकेर २५ वर्ष अगाडि बन्दुक समाएका लडाकुहरु समेत यतिबेला अलमलमा देखिन्छन्। पछिल्लो समय तत्कालीन माओवादी कार्यकर्तामा आएको बिचलन देखेर माओवादी कार्यकर्तासंगै पूर्व लडाकु समेत दिक्क छन्।

बिगतमा १० वर्ष बन्दुक समाएर परिवर्तनका लागि लडेका पूर्वलडाकुको अवस्थाका बारेमा दुबै नेकपाका नेतृत्वलाई कुनै जानकारी छैन। कति विदेशीय, कति अपाङ्ग छन् वा अन्य कति लडाकु बिजोग अवस्थामा छन् भन्ने कुनै तथ्याङ्ग नराखेका दुबै दलहरुले भाषणमा समेत सम्झिन छाडेका छन्। राज्य ब्यवस्था परिवर्तन गर्न पहल गरेका तत्कालीन माओवादीहरु सत्तामा पुगेपछि बिचलन भएको जिल्ला स्तरीय कार्यकर्ताको ठम्याई छ।

माओवादलाई औपचारिक रुपमै कार्यदिशाबाटै फालेर सत्ता लोलुपतामा नेतृत्व झुमेको जिल्लास्तरीय एक माओवादी कार्यकर्ता बताउँछन्। ‘हिजो कुरा फरक थियो। आज सत्तामा पुगेपछि उनिहरुको रहनसहन नै फेरिएको छ। हिजो रक्सीका ड्रम फुटाउनेहरु, परस्त्री गमन गर्नेहरुलाई सफाया गर्नेहरु अर्थात सप्रिएका भन्नेहरु नै बिग्रीए।’ उनि भन्छन्, ‘जनयुद्ध जनताका लागि नै थियो या धोका थियो समिक्षा गर्ने बेला आएको छ।’

सहिद परिवार, बेपत्ता परिवारसंगै घाइते अपाङग, अपहरण, लुटपाट, टुहुरा अनि एकल महिलाको अवस्थाका बारेमा केन्द्र, प्रदेश र स्थानीय सरकारहरु मौन बसेपछि द्वन्द्व पीडितहरुको बिचल्ली भएको हो। सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले पनि गतिलो काम नगरेका कारण संक्रमणकालिन न्याय कुहिरोको काग जस्तै अन्यौलमा छ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *