देश विदेश

प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन गरौं, यसको लागि वार्ता गरौं: देवेन्द्र पौडेल

शेयर गर्नुहोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो आवश्यकत्ता औंल्याएका हुन् । वर्तमान प्रधानमन्त्री ओलीलाई अहिले ‘काशी जाने, कुटीको बाटो’ भन्ने उखान चरितार्थ भएको पनि उनले टिप्पणी गरेका छन् ।

उनले भने,‘आँफैले प्राप्त गरेको दुई तिहाईको मतको व्यवस्थापन गर्न नसक्ने, अनि आफू अध्यक्ष भएर पनि आफ्नो दलपनि व्यवस्थापन गर्न नसक्ने प्रधानमन्त्री, हुँदाहुँदा अब उहाँले हठात् प्रतिनिधिसभा भंग गर्ने काम गर्नुभयो । र, हठात् निर्वाचनको घोषणा गर्ने जुन घोषणा भएको छ । हामी सबैले बुझेकै हौं । यो घोर निन्दनीय छ । यो अलोकतान्त्रिक कदम हो । असंवैधानिक कदम हो । यो कदमको हामीले डटेर सामना र प्रतिकार गर्नुपर्छ । प्रधानमन्त्रीलाई कतैपनि संविधानमा त्यो अधिकार दिईएको छैन् । पूर्व प्रधानन्यायाधीशहरुले समेत प्रधानमन्त्रीले बलजफ्ती अधिकार प्रयोग गरेको भनेर विरोध गर्नुभएको छ । पूर्व सभामुखहरुले पनि विरोध गरेका छन् । कानूनका विज्ञहरुले विरोध गरेका छन् । नागरिक समाजलगायत सबैले विरोध गरेका छन् ।’

साक्षात्कारमा बोल्दै उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधिन रहेको बताए । ‘यो विषयमा बहस चलिरहेको छ । निर्वाचन आयोगलाई जबरजस्त चुनावमा जानको लागि सरकारले ताकेता गरेको सुनेका छौं ।’उनले भने,‘यो कदम असंवैधानिक छ । निर्वाचन आयोगले आँफैले कुन कुन दलले भाग लिने भनेर टुँगो लगाएको छैन् । निर्वाचन हुनसक्ने सम्भावना छैन् । निर्वाचन हुँदैन् ।’

नेता पौडेलले प्रधानमन्त्री ओलीले निर्वाचन गर्नको लागि यो स्टेप नचालेको पनि दाबी गरे । उनले भने,‘निर्वाचन गर्नको लागि यो स्टेप चालिएको होईन् । मिति नतोकिकन प्रतिनिधिसभा भंग गर्न पाईँदैन् । उहाँले सरकार लम्ब्याउने र निरंकुश प्रणाली लागु गर्नको लागि यो कदम चाल्नुभएको हो ।’

उनले चुनाव भयो भने कसले जित्छ वा कसले हार्छ ? भनेर अहिले हिसाबकिताब गर्न नहुने पनि सुनाए । उनले भने,‘कुन पार्टी वैधानिक हो ? कुन होईन ? त्यसको निक्र्यौल निर्वाचन आयोगले पछि गर्ला । तर, अहिले ओलीको कदमको विरुद्धमा संयुक्त आन्दोलनमा जाऔं । संसद विघटन गर्ने ओलीको यो कदम वैधानिक छैन् । हामीले दशकौं लामो समयदेखि लडेर ल्याएको र प्राप्त गरेको उपलब्धि, संविधान र प्रणालीलाई हाम्रो तर्फबाट संयुक्त आन्दोलनको लागि पहल गरौं । यसको लागि वार्ता गरौं । यो कदमले संकटकालतर्फ लैजान्छ । अब देशलाई संयुक्त आन्दोलनले निकास दिन्छ । अहिले चुनाव भयो भने जितिन्छ कि भन्ने बेला होईन् । यो कदमको विरोध गर्ने पक्षहरु एक ठाउँमा सडकमा आएर प्रतिवाद गरौं ।’

उनले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको तीन वर्ष उपलब्धिविहीन भएको सुनाए । यद्धपी प्रधानमन्त्री ओलीले धेरै राम्रा काम भएको भनेर फेहरिस्त सुनाउने गरेको उनको आरोप छ । उनले भने,‘तर, अहिले प्रधानमन्त्री एक्लैले सरकारले धेरै काम गरेको छ भनेर प्रशंसा गर्दै हुनुहुन्छ । आँफैले प्राप्त गरेको दुई तिहाईलाई किन विघटन गर्नुभयो रु हो, ८३ जनाले सांसदले विशेष अधिवेशन बोलाउनको लागि राष्ट्रपतिसमक्ष समावेदन गर्न गएको कुरा साँचो थियो । तर, कहीँ कतै अविश्वासको प्रस्ताव थिएन । ओलीको कदम बेठिक थियो । नियमित कामहरु भएका छन् । कतिपय काम हामीले सरकारलाई घेराबदी गरेर गरायौं । छाती ठोकेर यो सरकारले यो राम्रो काम गर्यो भनेर भन्न सक्ने स्थिति छैन् ।’

उनले आफूहरुले सरकारलाई निरन्तर सहयोग गरेको पनि सुनाए । उनले भने,‘हामीले निरन्तर सहयोग गरेका थियौं । तर, सरकार आँफैले एक्लै प्रशंसा गर्दै हिँडेको छ । अनुकुल स्थितिमा पनि प्रधानमन्त्रीले प्राप्त अवसर गुमाए । सरकारको काम कुनै प्रभावकारी छैन् । भ्रष्टाचार बढेको छ । तथ्य, तथ्यांक हेर्दा भ्रष्टाचार निकै मौलाएर गएको छ । अनियमितता मौलाएको छ। युवती बलात्कारपछि हत्या भएको छ, तर अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेन । सरकारको सफलता पटक्कै छैन् ।’


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *