देश विदेश

मकै र भटमासको संवाद

शेयर गर्नुहोस्

एउटा गाउँमा रामलाल भन्ने साहै मिहिनेती किसान थियो । उसको एउटा छोटेलाल नाम गरेको छोरा थियो । रामलालको बारीमा मकै र भटमासको बोटहरू निकै ठुला भइसकेका थिए । गाउँमा निकै लामो समय खडेरी परेको कारण मकै र भटमासको बोटहरू मर्न लागेका थिए।

गर्मी यति धेरै बढेको थियो कि मकै र भटमास दुवैलाई गर्मीले भतभत पोल्न थाल्यो । भटमासलाई भने मकैको लामो –लामो पातले छेकेर अलिअलि छहारी मिलेको थियो । तैपनि पानी नपाएर मकैका पातहरू बटारिन थालेपछि भटमासलाई निकै गर्मी महसुस हुन थालेको थियो । त्यसपछि भने मकै र भटमास दुवै सुक्दै जान थाले । एक दिन खडेरीले पाएको दुखबाट मन भुलाउन मकै र भटमास कुराकानी गर्न थाले । मकै र भटमासको गफ छोटेलालले बारीमा बसेर सुन्न थाल्यो ।

मकै – लौन निकै खडेरी परयो। अब त हामी पानी खान नपाएर मर्ने भयौ भटमास मकैले आत्तिदै भन्यो ?

भटमास – सारै निराशा भरिएको आवाजमा जवाफ दिदैँ भटमासले भन्यो । हो भनेको मकै अब के गर्ने होला? बाँच्ने आश पनि मर्न थालिसक्यो।

मकै– अलि आफूलाई समाल्दै भन्यो– लौ छाड भटमास चिन्ता लिन, हुने कुरा भइहाल्छ क्यारे । चिन्ता लिए पनि नलिए पनि । बरु मरिने हो कि बाँचिने हो थाहा छैन बरु हामीहरूसँगै भए पनि एक अर्काको धेरै कुरा थाहा छैन । त्यसैको बारेमा धित मर्ने गरी कुरा गरौँ न हुन्न?

भटमास– अहो तपाईले त साहै राम्रो कुरा गर्नुभयो मकै । हो त एकैठाउँमा छौँ तैपनि हामीहरूलाई एक अर्काको बारेमा पत्तो छैन । तपाई त मभन्दा निकै अग्लो हुनुहुन्छ । म तपाईलाई घाँटी तन्काएर हेर्दा पनि पूरै देख्न सक्दिन । बरु तपाई कति अग्लो हुनुहुन्छ ? तपाईको जीउडाल कस्तो छ ? तपाई केके काममा प्रयोग हुनुहुन्छ ?बताउनुस् न तपाईको बारेम मकैभटमासले निकै उत्सुक हुँदै सोध्यो ?मकै–खुसी हुदै मकैले भन्यो । लौ सुन भटमास आज म तिमीलाई मेरो सबै कुरा भन्छु । म नेपालको मुख्य खाद्यान्न बाली हुँ । म नेपालको हिमाल , पहाड सबैतिर फल्ने गर्छु । मलाई मानिसहरूले भुटेर , पोलेर खान, पिठो बनाएर रोटी, ढिंडो बनाएर खाने गर्छन् । मेरो तेल निकाल्न पनि प्रयोग गर्छन् । मेरो तेलचाहिँ सुनौलो, पहेंलो र बाक्लो हुन्छ । जुन खान निकै उपयुक्त मानिन्छ । अनि मेरो बोटलाई हरियोमा गाईवस्तुलाई खुवाउन र सुकेपछि आगो बाल्न पनि प्रयोग गर्छन् ।

भटमास – मकैको बारेमा यतिका धेरै कुराहरू थाहा पाएपछि अझ जिज्ञासु हुँदै सोध्न थाल्यो । मकै अनि तपाई कतिसम्म अग्ला हुनुहुन्छ त? तपाईका जातीहरू पनि त होला नि ? अनि तपाईका फल कसरी फुल्नेछन्, सुनाउनुस् न ?

मकै– भटमासको जिज्ञासा सुनेर खुसी हुँदै मकैले फेरि बताउँदै गयो । भटमास मैले अघि पनि भनिसके म एक खाद्यान्न बाली हँु । म एक मिटरदेखि आठ मिटरसम्म अग्लो हुने गर्छु । मेरो जरा जाली जस्तो रेशा बनेर जमिनमुनि हुन्छ । म एउटै बोटमा भाले पनि हुन्छु र पोथी पनि हुन्छु ।

भटमास– भटमासले बिचमै मकैको कुरा रोक्दै अहो कसरी एउटै बोटमा भाले र पोथी भनेको अचम्म मान्दै सोध्यो ।

मकै– हतार नगरी सुन न भटमास म बताउँछु के ? मेरो बोटको टुप्पोमा निश्चित समय पुगेपछि धानचमरा आउने गर्दछ । योचाहिँ मेरो शरीरको भाले भाग भन्छन् । अनि मेरो जुँगा भएको मकैको घोगा लागेको भागचाहिँ मेरो पोथी भाग हो । म घोगामा लाइन मिलेर फलेको हुन्छु । निश्चित समयपछि जब म सुक्न थाल्छु तब मानिसहरू मलाई भाँचेर केलाएर प्रयोग गर्न थाल्छन् । अनि कसैले त मलाई हरियोमा भाँचेर आगोमा पोलेर पनि मिठो मानेर खान्छन् ।

भटमास– अनि तपाईका केके जातहरू हुन्छन् नि?

मकै– अहो मैले त मेरो जातहरूको बारेमा भन्नै बिर्सेछु । मेरो निकै जातहरू छन् जुन स्थान अनुसार भिन्नाभिन्नै जातको प्रयोग गरिन्छ । त्यसमध्ये प्रमुख जातको रूपमा देउती, शितला, पोषिलो मकै १, मनकामना, अरुण एक र दुई, गणेश एक, रामपुर कम्पोजिट आदि हुन् ।

मकै– मकैले हाँस्दै सोध्यो – लौ भटमास तिमी त खुबै बाठो रहेछौँ । मेरो बारेमा मात्र सोध्छौँ कि आफ्नो बारेमा पनि मलाई बताउँछौ ?

भटमास–भटमासले पनि हाँस्दै भन्यो । बताउँछ नि किन नबताउनु मेरो बारेमा तपाईलाई । तपाईबाहेक मेरो चाहिँको छ र ? लौ सुन्नुस् मेरो बारेमा पनि ।

भटमास– मकै म पनि तपाईजस्तै महत्वपूर्ण बाली हुँ । म प्रोटिनको लागि राम्रो खाद्य बाली हुँ । मबाट प्रोटिन मात्र होइन आइरन, क्याल्सियमहरू पनि पाइन्छ । म तपाई जति अग्लो पनि हुँदिन र म घोगामा पनि फल्दिन । म कोसा लागेर फल्छु । मेरो उचाइ तिसदेखि एक सय असी सेन्टिमिटरसम्म हुन्छ । मेरो त बोटबाट चारपाँचवटा हाँगाहरू निस्केपछि फूल फुल्न थाल्छ र त्यसपछि कोसा लाग्छ र म त्यही कोसामा दाना भएर फल्ने गर्छु । मेरा दाना अण्डाकार, गोलो र चेप्टो हुन्छ । म कालो, खैरो, सेतो, पहेँलो, हरियो जस्ता रङ्गहरूमा पाइने गर्छु ।

मकै– मकैले छक्क पर्दै सोध्यो । अहो तिमी त धेरै रङ्गहरूका पो हुँदो रहेछौ । अनि तिमीलाई चाहिँ केके कामका लागि प्रयोग गर्छन् नि ।

भटमास– मलाई मानिसहरू भुटेर खान , हरियोमा कोसा उसिनेर खान र गेडा पानीमा भिजाएर टुसा उमारेर खान प्रयोग गर्छन् । त्यसबाहेक मानिसहरू मलाई तेल, रङ, सावुन, सर्वोत्तम पीठो, पशुपन्छीको दाना , औषधि , तोफु आदि बनाउन प्रयोग गर्छन् । कतै – कतै मानिसहरू मलाई प्रयोग गरेर कृत्रिम मासु बनाउन पनि प्रयोग गर्छन् । तर, नेपालमा भने त्यस्तो उद्योग छैन । तर तोफु बनाएर बेच्न भने साना उद्योग भने सञ्चालनमा छन् ।

भटमास– मलाई धेरैजसो मानिसहरूले तपाईसँगै रोप्ने गर्छन् भने कतै धान खेतमा आलीमा माससँग पनि रोप्ने गर्छन् । थाहा पाउनुभयो त अब तपाईले मेरो बारेमा मकै?

मकै – अहो भटमास तिमी त मभन्दा सानो भएर पनि निकै लाभदायक पो रैछौ त? बरु तिम्रा जातीहरू र तिमीलाई दुख दिने रोगहरूको बारेमा पनि बताउन त । जानिहालौँ त्यो पनि ।

भटमास– तपाईजस्तै मेरा पनि स्थानअनुसार विभिन्न जातहरू मानिसहरूले लगाउने गर्छन् तैपनि प्रमुख जातिहरूमा भने हिल, हाँडे, पुजा, लुम्ले एक, रेन्सम, सेती,कब आदि हुन् ।

भटमास– मलाई पनि बेलाबेलामा सिन्दूरे, जरा, डाँठ कुहिने रोग , पहेँलो मोजाक रोग, कोसा डढुवा जस्ता रोगहरू र झुसिलकिरा, गवारो, कालो खपटो किरा, हरियो लाभ्रे जस्ता किराहरूले दुख दिने काम गर्दछन् ।

भटमास– अनि मकै तपाईलाई पनि मलाई जस्तै कुनै रोग र किराहरूले दुख दिने गरेका छन् त ?

मकै –. निकै दुखित स्वरमा मकैले भन्यो किन नहुनु नि ! मलाई पनि तिमीजस्तै निकै रोग र किराहरूले बेलाबेलामा दुख दिने गरेका छन् । मलाई पनि घोगा कुहिने, डाँठ कुहिने, कालो पोकोेजस्ता रोगहरूले दुख दिने र सताउने गरेका छन् । आजभोलि त धेरै ठाउँहरूमा मेरो साथीहरूलाई अमेरिकन फौजी किरा र सलहले दुख दिन थालेको छ । कुन बेला तिनीहरूले मलाई पनि दुख दिने हुन् थाहा छैन । भटमास मलाई त साहै चिन्ता पो लागिरहेको छ त ?

भटमास र मकै दवैले एक अर्काे बारेमा कुराकानी गर्दा समय बितेको र गर्मी भएको समेत ख्याल गरेनन् । तर, अहिले भने दुवैलाई निकै गर्मी भएको महसुस भइरहेको थियो । उता बारीमा बसेर उनीहरूको गफ सुनिरहेको छोटेलाललाई पनि गर्मीले पसिनाको धारो बगेको थियो । तर पनि ऊ मकै र भटमासको गफ सुनेर निकै उत्सुक देखिन्थ्यो।

सधैं एकै ठाउँमा रहन्छौ हामी तर कस्तो अचम्म म अग्लो छु तिमीलाई निहुरेर हेर्दा पनि पूरै देख्न सक्दिन । तिमी होचो छौ मुन्टो तन्काएर हेर्दा पनि मलाई पूरै देख्न सक्दैनौ । हामी सधैं सँगै हुन्छौ तर पनि एक अर्काको गुण र उपयोगिताको बारेमा हामीलाई थाहा छैन । बल्ल आज थाहा पायाँै मकैले भन्यो।

हो नि त बल्ल एक अर्कालाई चिन्ने मौका पायौँ ।अब त मरे पनि साथीको बारेमा बुझेर त मर्न पाइने भयौ मकैले भन्यो । धत् त्यस्तो मर्ने कुरा नगर न । भटमास बल्ल त एकअर्कालाई बुझ्दै छौ । बरु म तिमीलाई कुप्रिएर हेर्छु तिमी मलाई मुन्टो तन्काएर हेर दुवै एक अर्कालाई हेराहेर गर्दै हाँसेर बाचौँ मकैले भन्यो।

मकैको कुरा सुनेर भटमास पनि हाँस्न थाल्यो । गर्मीले भतभती पोल्दा पनि मकै र भटमास दुवै एक अर्कासँग खुसी हुँदै हाँस्न थाले । साझँ पर्न लागेको थियो छोटेलाललाई मकै र भटमासको गफ मात्र रमाइलो लागेको होइन । उसले उनीहरूको कुरा सुनेर निकै कुरा पनि जानेको थियो ।

ऊ मकै र भटमासको एकदुईवटा जातको नाम र मकैमा लाग्ने अमेरीकन फौजी किरा, सलह किरा भन्दै ठुलो स्वरमा भन्दै आफ्नो बुबा भएको ठाउँमा गयो । यति सानो आफ्नो छोरालाई यस्तो कुरा कसरी थाहा भयो भन्दै बुबा रामलाल भने छक्क पर्नुभयो।

आज साँझमा पहिलेको भन्दा आकाश निकै गड्याङगुडुङ गरेर थर्कदै थियो । आकाश थर्किने गरी गर्जिएको यो आवाजले बर्षात हुने निकै सम्भावना थियो । नभन्दै केही समयपछि आकाशबाट बेजोडले बर्षात हुनथाल्यो । छोटेलालले घरको झ्यालबाट बारीका मकै र भटमास हेर्न थाल्यो । पानी खान नपाएर सुक्न थालेका मकै र भटमास पनि पानी खान पाएर राम्रो हुन थाल्यो । पानी खान पाएर मकै र भटमास पनि निकै खुसी देखिन्थे । मकै र भटमास खुसी भएको देखेर छोटेलाल पनि खुसी भयो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *