देश विदेश

बलिउडमा परवीन बाबीको ‘टाइम’

शेयर गर्नुहोस्

नेपाली चलचित्र ‘सन्तान’को मुहूर्त हुँदाको तस्बिर चलचित्र पत्रकार विजयरत्न तुलाधरले मलाई पठाए। त्यतिबेला म बम्बईमा थिएँ। उनले तस्बिरसहितको पत्रमा लेखेका थिए, ‘नेपाली चलचित्रमा पनि एक नायिका आइन्, परवीन बाबी भन्न सुहाउने।’  

प्रकाश थापाको सो फिल्मका दुई नयाँ नायिका थिए– गौरी मल्ल र करिश्मा केसी, (पछि मानन्धर भइन्)।  

परवीन बाबी भनेर मलाई चिनाइएकी नायिका थिइन्, करिश्मा केसी। ‘सन्तान’ फिल्म एल दराडो थियो, एल दराडो अर्थात् शासकको गुमेको राज्य, जुन राज्य फर्काउन राजाकी छोरीले एउटा सपना देख्छे।  

सिन्दुर, जीवनरेखाजस्ता सफल फिल्म बनाइसकेका प्रकाश थापालाई शाही नेपाल चलचित्र संस्थानबाहिर अर्थात् निजी क्षेत्रबाट फिल्म बनाउने पहिलो मौका मिलेको थियो।  

सन्तानलाई पछि हामीले मुम्बईको अँधेरीस्थित फिल्मालय प्रिभ्यु थिएटरमा हे¥यौँ, फिल्म राम्रो थियो र करिश्माको रोल पनि परवीन बाबीको जस्तै थियो।  

परवीन बाबी भनिएकी नायिका करिश्मा ‘सन्तान’बाट अचानक हिट भइन्, ‘कान्ता यु ब्लडी बिच’ भन्ने संवादपछि।  

नेपाली फिल्ममा परवीन बाबीजस्तो नायिका आउँदा बम्बईमा परवीन बाबीको समय लगभग सकिइसकेको थियो। यो सन् १९८५ को कुरा हो।  

दृश्य : १ 

सन् १९८३ मा आफू शिखरमा रहेको समयमा सारा कुरा छाडेर परवीन बाबी बलिउड इन्डस्ट्रिजबाट लन्डन भागिसकेकी थिइन्। बलिउडमा त्यतिवेला नम्बर एकमा परवीन बाबी थिइन्, उनको छेउछेउ कुनै नायिका थिएनन्। उनी त्यति वेलाका नम्बर एक सुपरस्टार अमिताभ बच्चनका साथ असंख्य फिल्म गरिरहेकी थिइन्।  

उनी लन्डन भाग्नुअघि त्यही वर्ष उनले सातवटा फिल्म पूरा गरिसकेकी थिइन्– चोरपुलिस, जानी दोस्त, रंगीविरंगी, अर्पण, गहरी चोट, दूर देश, मंगल पाण्डे, महान र रजिया सुल्तान।

कैँयौ दिनसम्म सनाखत नभएको टोकन नम्बर–६२ को झोलाको लास त्यहीँ रह्यो, केही दिन। यो एउटा कथा हो, बलिउडको। बलिउडको फिल्म नगरीको अनि टाइम गर्ल परवीनको। आज पनि टेलिभिजनका ठुल्ठूला सोमा एउटा प्रश्न सोधिन्छ, ‘टाइम पत्रिकामा छापिने एसियाको पहिलो नायिका को हुन् ? धेरैलाई जवाफ थाह छ– परवीन बाबी।  

‘रजिया सुल्तान’मा हेमा मालिनीसितको समलैंगिक सम्बन्ध झल्किने गीतका कारण यी दुवै नायिका विवादमा परेका थिए। एस रामनाथन निर्देशित ‘महान’को सुटिङ गर्न उनी अमिताभ बच्चन, अमजद खान, जिनत अमानसित काठमाडौं पनि आएकी थिइन्।  

यसपछि अचानक बलिउडबाट परवीन बाबी हराइन्, तर उनको रूप, नाम र कामको प्रशंसा चलिरह्यो, चली नै रह्यो।

बलिउडमा परवीन बाबीको समय भनेको घडीको एउटा महत्वपूर्ण समयजस्तै थियो, उनलाई सिनेमाको पहिलो ‘सेक्स सिम्बोल’ मानियो। भारतमा ‘इमर्जेन्सी’ लागू भएपछि रिलिज भएको फिल्म ‘दीवार’ हिट भएपछि उनलाई सेक्स सिम्बोल भनियो। उनले यसको प्रतिवाद गर्दै भनिन्, ‘सिक्स, नट सेक्स।’ अर्थात् ६ हो, यौन होइन।  

दीवार उनको छैँटौ फिल्म थियो, यही फिल्मबाट अमिताभ बच्चनलाई एंग्री योङ म्यान् अर्थात् क्रुद्ध युवा नायकको खिताब मिल्यो। दुवैको जयजयकार भयो।  

दीवार यश चोपडाको व्यावसायिक रूपले पहिलो अपार सफल फिल्म थियो, दीवारअघि परवीन बाबीले अमिताभ बच्चनसित अर्को एउटा हिट फिल्म ‘मजबूर’ दिइसकेकी थिइन्।  

सन् १९७३ देखि सन् १९८३ सम्मको दशवर्षे करिअर ग्राफमा परवीनले भारतका ११ मल्टिकरोर फिल्ममध्ये चारवटामा आफ्नो नाम दर्ज गराइसकेकी थिइन्– क्रान्ति (सन् १९८१), शान (१९८०), अमर अकबर एन्थोनी (सन् १९७७), दीवार (सन् १९७५)। 

 

यसबाहेक जितेन्द्रसितको ‘मेरी आवाज सुनो’ (सन् १९८१) र अमिताभसितको नमक हलाल, खुद्दार, कालिया (सन् १९८२) पनि प्रसिद्ध थिए।  

दृश्य २ : टाइम गर्ल  

परवीनले खेलेका फिल्मले पैसा मात्र कमाएका थिएनन्, उनको शारीरिक सौष्ठव र भारतीय जनजीवनमा देखिने अदालाई उनले बदलिदिएकी थिइन्।  

उनी राम्री थिइन् भन्नेले उनलाई अपार राम्री पनि भनेका छन्। भारतका प्रसिद्ध चित्रकार एमएफ हुसेन उनीसित पहिलो भेटमा परिचित भएपछि चकित भएका थिए, वा उनको भाषामा उनी फिदा भएका थिए, यो कुरा उनको आत्मकथामा सहर्ष पंक्तिबद्ध भएको छ।  

परवीन बलिउडकी मात्र होइनन्, एसियाकै पहिलो सिने नायिका हुन्, जसको फोटो विश्वप्रसिद्ध खबरपत्रिका ‘टाइम’को आवरणमा छापियो। उनलाई यसपछि टाइमको कभर गर्ल भनियो। सन् १९७६ जुलाई १९ युरोप संस्करणको ‘टाइम’मा ‘एसियाज् फ्रेन्टिक फिल्म सिन’ शीर्षकमा ‘इन्डियाज् परवीन बाबी’ भनेर उनको फोटो आएको थियो।  

‘एसियाज् फ्रेन्टिक फिल्म सिन’मा जापानी चलचित्र उद्योगदेखि फिलिपिन्स फिल्म उद्योगसम्मको कथा समेटिएको थियो भने हङकङको कुङ फु फिल्मको पनि विशेष चर्चा थियो। तर आवरणमा परवीनको फोटोको तिलस्मी छाप थियो, यो फोटो बलिउडकै फोटोग्राफर जहाँगिर गजदारले खिचेका थिए। त्यस्तै परवीनसित भारतका संवाददाता जेम्स् सेफर्डले अन्तर्वार्ता गरेका थिए।  

सधैँ विश्व राजनीति, सामरिक महत्वका मात्र खबर छापिने टाइमले सिनेमाको त्यो पनि एसियाको कभरेज गरेको यो पहिलो घटना थियो, त्यसमाथि बलिउड समेटिएको यो घटना ऐतिहासिक नै थियो।

टाइम गर्ल परवीन बाबी (करिब तीन दशक)पछि मात्र बलिउडकी अर्की सिने नायिका ऐश्वर्य राय कभरमा आइन्। राय विश्व सुन्दरी हुँदा आउन सकेकी थिइन्, तर सिने नायिकापछि बल्ल आएकी थिइन्।  

परवीनलाई यो सौभाग्य बलिउडमा ११ वटा फिल्म खेलेपछि मिलेको थियो, यस्तो सौभाग्य बिरलैलाई मिल्छ वा धेरैलाई मिल्दैन पनि।  

परवीनले यो आफैँले आर्जन गरेको ख्याति हो, तर उनी यही ख्यातिका निम्ति पनि टाँसिएर वा आत्मरतिमा अल्झेर बसिनन्।  

दृश्य ३ : बलिउडबाट विदेश  

सन् १९८३ मा परवीन बलिउड छाडेर भाग्नुअघि सन् १९७६ मा पनि उनले एकपटक बलिउडबाट बिदा लिएर गइसकेकी थिइन्। मध्य युरोपको स्पेनसहित अन्य धेरै मुलुकमा प्रदर्शन हुने ‘रेडियो टेलिभिजनी इटालिया’को पप कल्चरमा आधारित ‘सान्दोकान’को ६ भागमा अभिनय गर्न र अंग्रेजी फिल्ममा स्थापित हुन उनी सन् १९७६ को एक हिउँदमा लियोनार्दो दा भिन्ची फ्युमिचिनो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी थिइन्, आफ्ना पुरुष मित्रका साथ।  

यति बेला मुम्बई छाड्नुअघि उनले आफूले बैनापट्टा गरेका सबै फिल्मका निर्माता निर्देशकलाई बोलाएर सबै पारिश्रमिक रकम फिर्ता गरेकी थिइन्, आफ्ना पूर्वप्रेमी डैनी डेन्जोङ्पा र आफ्ना सेक्रेटरी वेद शर्माले लाख बिन्ती गर्दा पनि उनले मानेकी थिइनन्।  

आफ्नी एक्ली आमा जमाललाई छाडेर उनी विदेश जाँदा धेरैले उनी फर्किन्छन् भनेर आशा गरेका थिएनन्। तर, उनी ६ महिनापछि बलिउड फर्किइन्, आफूसँग गएका पुरुष मित्र कवीर वेदी (जसलाई मिडियाले उनका प्रेमी पनि भनेर व्याख्या गरेका छन्) गर्भवती भइसकेपछि गर्भपतन गर्नु भनेर दबाब दिएपछि फर्केकी हुँ भनेर आफ्ना पूर्वप्रेमी डैनीलाई उनले गोप्य रूपले बताइन्। यो कुरा आजसम्म कतैबाट कुनै पुष्टि हुन नपाई परवीनले सान्दोकानको मलेसियामा हुने दोस्रो शृंखलाको सुटिङ पनि त्यागिन्। यसरी हलिउड वा विदेशी फिल्मको अफर ठुक्र्याउने उनी पहिलो बलिउड कलाकार भइन्।  

बिआर इसाराको सानो बजेटको फिल्म ‘चरित्र’बाट सन् १९७३ मा आफ्नो फिल्मी करिअर सुरु गर्ने परवीनलाई उनीभन्दा दुई वर्षअघि ‘हरे रामा हरे कृष्णा’बाट फिल्मी पर्दामा आउने जीनत अमानसित तुलना गरिन्थ्यो, तर कतिपय फिल्म समीक्षकले त उनलाई पुअरम्यान् अफ जीनत अमानसम्म पनि भन्थे।  

दृश्य ४ : भ्याम्प अवतार  

जीनत अमान र परवीनमा के समानता थियो भने यी दुवै एक समयका दुई ‘पप आइकन’ थिए। र, दुवैले सिनेमामा नायिका भएर पनि भ्याम्प (खलनायिका शैली) को अवतार प्रस्तुत गरे। यसअघि बलिउडमा सुरैया, नरगिस, मधुबाला, मीनाकुमारी, वहिदा रहमान वा मुमताज कसैले यस्तो आँट गरेका थिएनन्। ती सबै मुस्लिम परिवारबाट थिए भने जीनत र परवीन पनि मुस्लिम परिवारबाटै थिए।  

जीनत र परवीनले पप कल्चरको जीवनशैलीमा आफूलाई भित्र्याएपछि बम्बैया भाषामा बिन्दास शैलीमा अनायिका भएर पर्दामा आए। जीनत र परवीनमा फरक के थियो भने जीनतका पिता अमान बलिउडकै फिल्म उद्योगमा आबद्ध थिए, परवीनको त्यहाँ कोही थिएन।  

जीनतले त्यति वेलाका ठूला सो म्यान देव आनन्दबाट लन्च हुने मौका पाइन् भने परवीनलाई एक स्मल टाइम फिल्ममेकर इसाराले मौका दिए, जसको इन्डस्ट्रीमा कुनै पहिचान वा त्यसअघिको कुनै सफलताको रेकर्ड थिएन। जीनत विदेशमा पढेर आएकी थिइन् भने परवीनले अहमदाबादको गुजराती स्कुलमा पढेकी थिइन्। जीनत मोडलिङ र ग्ल्यामर दुनियासित सानैदेखि पूर्व परिचित थिइन्, परवीनले आफ्नो जीवनकालमा अहमदाबादमा एकपटक बादल सरकार लिखित नाटक ‘एवं इन्द्रजित’मा सानो भूमिका निर्वाह गरेकी थिइन्। तर रूप, सौन्दर्य, प्रतिभा अनि स्वभावका कारण बम्बईमा हुर्के–बढेकी जीनतलाई जुनागढकी परवीनले धेरै पछाडि छाडिदिइन्। परवीन यस मामिलामा प्रवीण नै भइन्।  

फिल्म निर्माता निर्देशक सञ्जय खानकी पत्नी जरिन खानका अनुसार, बलिउड फिल्म उद्योगमा ज्याँ पाल सात्र्रको किताब पढ्ने पहिलो अभिनेत्री परवीन नै थिइन्।  

दृश्य ५ : जुनागढदेखि ज्याँ पाल सात्र्रसम्म 

जुनागढकी परवीनको कथाभन्दा फरक कथा छ, जुनागढको। सन् १९४७ अगस्ट १५ का दिन भारत–पाकिस्तान विभाजन हुँदा जुनागढका नबाबले आफ्ना दीवान सर शाह नवाज भुट्टोको परामर्शमा त्यस राज्यलाई पाकिस्तानमा गाभ्न खोजे, तर हिन्दू बाहुल्य जुनागढ गाभिन मानेन। सन् १९४८ फेब्रुअरीमा भएको जनमत संग्रहमा ९९.९५ प्रतिशत जनताले नबाबको विरोधमा मतदान गरेपछि यो राज्य भारतमै रह्यो।  

सर शाह नवाज भुट्टोका छोरा जुल्फिरक अलि भुट्टो पछि पाकिस्तानका प्रधानमन्त्री भए। यही परिवारसित आबद्ध वाली मोहम्मद खान्जी आफ्नो ३६ बिघा जमिन र हवेली लिएर जुनागढमै बसे। शाही परिवारसित आबद्ध वाली मोहम्मदले ढिलो उमेरमा जमाल भक्तेसित विवाह गरे। जमाल ४० मोहम्मद ६० को उमेर कटिसकेका वेला आसै मारेको अवस्थामा १९५४ अप्रिल ४ मा परवीना सुल्ताना वाली मोहम्मद खान्जी बाबीको जन्म भयो।  

परवीन सानै छँदा घाँटीको क्यान्सरका कारण मुम्बईको टाटा मेमोरियलमा उनको पिताको निधन भयो। एक्ली आमा जमालले उनलाई निकै त्रास र डरमा हुर्काइन्।  

गुजराती माध्यमको हिन्दी स्कुलमा पढेर सन् १९६८ मा जब यिनी अहमदाबादको सेन्ट जेभिअर्स कलेज पढ्न गइन्, आमाले पूरै कडा निगरानीमा यिनलाई हुर्काइन्। मुस्लिम पारिवारिक पृष्ठभूमिको डरले हिन्दू परिवारको अभिभावकत्वमा उनले छोरीलाई अहमदाबादमा पढाएकी थिइन्।  

परवीनको बाल्यकाल सम्पन्न परिवारमा जन्मे पनि त्यति सुखद रहेन– पिताको असामयिक निधन, आमाबाट टाढिएर एक्लै होस्टलको जीवन, सन् १९६१ देखि सन् १९७१ सम्म लामो साम्प्रदायिक दंगा। अझ भयावह क्षण त्यो वेला आयो, जब पाकिस्तान–बंगलादेश विभाजन भएपछिको आततायी दृश्य परवीनकै आँखाअगाडि गुज्रियो, एक मुस्लिम किशोरीमाथि त्यो वेला अहमदाबादमा जे पनि हुन सक्थ्यो, त्यो भयबाट उनी सधैँ त्रसित रहिन्।  

अहमदाबादमा हुँदै उनकी आमाले परवीनको मगनी पाकिस्तानका एक विमानचालक जमिल खानसित तय गरिसकेकी थिइन्, भारतका कारण पाकिस्तान विभाजन भएको कारण देखाएर जमिलले मगनी तोडेपछि परवीनलाई ठूलो धक्का पर्‍यो।  

सन् १९७१ डिसेम्बर १६ मा विधिवत रूपमा परवीनको जिन्दगीमा एउटा सम्बन्ध अघोषित रूपमा टुट्यो, यो क्षतिलाई उनले जीवनभर एक त्रासको रूपमा भोगिरहिन्। यसपछि उनी आफ्नी साथी मल्लिका साराभाइको संगतबाट एउटा सांगीतिक समूहका गायक नेभिली डामानियाको सम्पर्कमा आइन्, जो उनका निम्ति पहिलो प्रेम साबित भयो।  

नेभिल्लीका पिता अहमदाबादमा थिएटर गर्थे, उनकै सल्लाहले परवीनले एउटा फिल्म खेल्ने सर्तमा सन् १९७२ मा बलिउड प्रवेश गरिन्। बलिउडले उनलाई हार्दिकतापूर्वक स्वागत गर्‍यो, बलिउडले उनलाई नाम, दाम र ऐश्वर्य सबै दियो। परवीन अब अहमदाबादकी होइन, बलिउडकी भइन्। बलिउडमार्फत संसारकी भइन्, जब उनलाई टाइमले संसारप्रसिद्ध बनाइदियो।  

जुन सपना र सफलताका निम्ति एक दिन उनले अहमदाबाद छाडेकी थिइन्। एक दिन थाहै नपाई तिनले बलिउड पनि छाडिन्, सन् १९८३ मा। परवीनका लागि जीवनमा कुनै कुरा महत्वपूर्ण थिएन र आवश्यक पनि। उनले बिस्तारै अनावश्यक आवश्यकतामाथि चिन्ता गर्न छोडी र ज्याँ पाल सात्र्र, रजनीश, जे कृष्णमूर्ति अनि युजी कृष्णमूर्तिको शरणमा पुगिन्।  

दृश्य ६ : परवीनका अन्तिम दिन  

सन् १९८३ मा बलिउड छाडेर परवीन लन्डन भागेपछि उनको जिन्दगीमा जुन–जुन उतारचढाव आए, त्यसका लागि कोही पनि मान्छेले सहन सक्दैन, तर उनी त बलिउडकी एक नम्बरकी स्टार थिइन्, विश्वप्रसिद्ध अभिनेत्री थिइन्।  

आफ्नापछाडिको अथाह सम्पत्ति अनि सफलता छाडेर भागेकी थिइन्।  

अहमदाबाद छाडेर मुम्बई आएपछि उनका जीवनमा तीन पुरुष आए– अभिनेता डेनी डेन्जोङ्पा, अभिनेता कबीर वेदी, अनि फिल्म निर्देशक महेश भट्ट। यी तीनै जनासित उनले कहिले असाध्यै प्रेम गरिन्, कहिले असाध्यै घृणा। यसबारे करिश्मा उपाध्यायको पुस्तक ‘परवीन बाबी : अ लाइफ’मा उल्लेख छ।  

यी तीनमध्ये महेश र कबीर पहिल्यै विवाहित थिए भने डैनीले उनलाई छाडेपछि किम यशपालसित प्रेमसम्बन्ध राखे र पछि आफ्नै परम्परा अनुसार सिक्किमी युवती गावासित विवाह गरे। दुई बच्चाका पिता कबीरले पनि परवीनसित छुटेपछि अर्की युवतीसित विवाह गरे। भट्टले पहिलो पत्नी किरणलाई छाडेर सोनी राजदानसित विवाह गरे, तर परवीनको जीवनमा कुनै खुसी फर्किन सकेन।  

उनी गुरुहरूका शरणमा हराइरहिन्। फेरि उनी सन् १९९५ मा बम्बई फर्केर आइन्, बम्बई त्यही साल मुम्बईमा परिणत भयो। परवीनमा सन् १९८३ देखि देखिएको ‘पजेसन सिन्ड्रोम’को बिमारी निकै बढ्दै गएको थियो, तिनी हरेकसित डराउँथिन्, सशंकित हुन्थिन्, उनी प्रायः लुकेर बस्थिन्, यो रोगको कारणबारे कसैले यकिनसँग भन्न सकेन– न उनका चारजना प्रेमी पुरुषले न उनकी आमाले।  

यो रोग बढ्दै गएपछि उनमा असुरक्षाको भाव बढ्दै गयो, एक्ली, असहाय भएर उनी मुम्बईको रिबेरियाको अपार्टमेन्टको ७०२ नम्बरको फ्ल्याट्मा खुम्चिएर बस्न थालिन्। १९९७ मा उनले धर्म परिवर्तन गरेर मुस्लिमबाट क्रिस्चियन भइन्, उनलाई अरूण थोमसले बाप्टाइज्ड् गरे। रूप, सौन्दर्य, सम्पत्ति गुम्दै गएपछि उनलाई बलिउडले बिस्तारै चिन्न छाड्यो, उनको रोगलाई मान्छेले विभिन्न नाम दिए– डाइपोलार, स्पिल्ट पर्सन्यालिटी, पस्र्युक्युसन कम्प्लेक्स।  

२२ जनवरी २००५ मा मुम्बईको जुहु पुलिस स्टेसनका पुलिस इन्सपेक्टर शाम चौहानलाई परवीन बाबीको फोन आयो, ‘मलाई कसैले मार्न खोज्दैछ, मलाई बचाउनुस्।’  

अन्डरवल्र्ड, माफिया, डन, बम ब्लास्टको चपेटामा फसिरहने मुम्बईको पुलिसको चौकीमा यस्ता फोन आइरहन्थे, चौहानले परवीनलाई एक पगली सम्झेर रिपोर्टसम्म अभिलेखीकरण गरेनन्।  

दुई दिनपछि मृत अवस्थामा परवीन बाबीको लास त्यो फ्ल्याटबाट निकालियो, प्रहरीले रिपोर्टमा यति लेख्यो, ‘त्यहाँ बचावका निम्ति कुनै संघर्ष गरिएको प्रमाण फेला परेन।’  

हत्या, आत्महत्या वा आक्रमण केही कुराको स्पष्टता नभईकन प्रहरीले उनको लासलाई कुपर अस्पतालको फरेन्सिक शाखामा बुझायो, टोकन नम्बर–६२ को लास त्यहीँ रह्यो। दाबी गर्न कोही आएनन्।  

कैँयौ दिनसम्म सनाखत नभएको टोकन नम्बर–६२ को झोलाको लास त्यहीँ रह्यो, केही दिन। यो एउटा कथा हो, बलिउडको। बलिउडको फिल्म नगरीको अनि टाइम गर्ल परवीनको। आज पनि टेलिभिजनका ठुल्ठूला सोमा एउटा प्रश्न सोधिन्छ, ‘टाइम पत्रिकामा छापिने एसियाको पहिलो नायिका को हुन् ? धेरैलाई जवाफ थाह छ– परवीन बाबी।

प्रकाशित: १५ फाल्गुन २०७७ ०८:२४ शनिबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/arts/467161-1614393561.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *